१६ चैत्र २०८० शुक्रबार
खेल

लिभरपुलको चार उपाधि उचाल्ने सम्भावना कायम

चेल्सीलाई पेनाल्टी सुटआउटमा स्तब्ध बनाउँदै लिभरपुलले शनिबार एफए कपको उपाधि उचाल्दा युरोपियन फुटबलका शीर्ष चार उपाधि उचाल्ने सम्भावना कायमै राखेको छ। इङ्लिस प्रिमियर लिग प्रतिद्वन्द्वी चेल्सीलाई पेनाल्टी सुटआउटमा ६–५ ले स्तब्ध बनाउँदै लिभरपुलले आठौं पटका एफए कपको उपाधि उचालेको हो।

जितसँगै योर्गान क्लोपको टोलीलाई संघारमा रहेका दुई उपाधिका लागि आत्मबल मिलेको छ। यससँगै प्रशिक्षक योर्गान क्लोपलाई सिजनको दोस्रो उपाधि मिलेको हो। क्लोपको टोलीले मे २८ मा रियाल मड्रिडविरुद्ध च्याम्पियन्स लिगको फाइनलमा प्रतिस्पर्धा गर्नेछ।

इङ्लिस प्रिमियर लिगमा क्लोपको टोली अन्तिम दुई चरणका खेल बाँकी रहँदा शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा मात्र तीन अंकले पछि छ। दुई उपाधि पक्का गरिसकेको लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले बलियो चेल्सीविरुद्ध सम्हालिएको प्रदर्शन गर्दा उपाधि पोल्टामा परेको बताए।

‘निकै प्रतिस्पर्धात्मक र स्तरीय खेल आज भयो, जुन उदाहरणीय छ। चेल्सी पनि उपाधिका लागि उत्तिकै दाबेदार थियो। सामान्य अन्तरले नतिजा हाम्रो पक्षमा पर्‍यो,’ लिभरपुल प्रशिक्षक क्लोपले भने, ‘चेल्सीविरुद्ध हामीले सम्हालिएको प्रदर्शन गर्‍यौं। सालाहको चोटले केही तालमेल बिग्रिए पनि टोलीले स्तरीय खेल देखायो। टोलीको प्रदर्शनमा म सन्तुष्ट छु। रणनीतिक हिसाबमा टोलीको प्रदर्शन नै स्तरीय खेलको उदाहरण बन्यो।’

उता यसअघिका दुई सिजन पनि फाइनलमा पुग्दा उपविजेता बनेको चेल्सीका प्रशिक्षक थोमस टुचेलले लगातार तेस्रो पटक पराजित हुनु दुखद भएको प्रतिक्रिया दिए। चेल्सी यसअघि पहिलो पटक लेस्टर र दोस्रो पटक आर्सनलसँग पराजित भएको थियो।

‘टोली पराजित भए पनि मलाई व्यक्तिगत हिसाबमा कुनै पछुतो छैन। टोलीको प्रदर्शनमा म सन्तुष्ट छु। मानसिक हिसाबमा पहिलो १५ मिनेट हामीले निकै संघर्ष गर्‍यौं,’ चेल्सी प्रशिक्षक थोमस टुचेलले भने, ‘केही राम्रा प्रहार विफल भए। दुबै टोलीबाट स्तरीय खेल प्रदर्शन भयो। नतिजाको हिसाबमा हामी निकै दुखी भएका छौं। सबैलाई पीडाबोध भएको छ। हारजित खेलको अनुशासन हो। सामना गर्दै अगाडि बढ्नुको विकल्प छैन।’

यता पराजित भएको चेल्सी भने लगातार तेस्रो पटक फाइनल प्रवेश गरे पनि उपविजेतामा खुम्चिएको छ। सिजनका शीर्ष चार उपाधिलाई जीवन्त राखेको लिभरपुलले यसअघि फेब्रुअरीमा सम्पन्न लिग कपको फाइनलमा चेल्सीलाई नै हराएको थियो। चेल्सी इङ्लिस लिग कपको फाइनलमा लिभरपुलसँग पेनाल्टी सुटआउटमा ११–१० ले पराजित भएको थियो।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले निर्धारित ९० मिनेट र अतिरिक्त समयमा गोलरहित बराबरी खेलेपछि एफए कपको विजेताको टुङ्गो पेनाल्टी सुटआउटमार्फत लगाइएको थियो। लिभरपुलका गोलकिपर एलिसनले चेल्सीबाट सातौं पेनाल्टी प्रहार गर्न आएका मेसन माउन्टको प्रहार विफल पारेका थिए।

अतिरिक्त समयमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका टिसिमिकासले निर्णायक पेनाल्टीलाई सहजै जाली चुमाउँदा उपाधि लिभरपुलको पक्षमा पल्टिएको थियो। यसअघि चेल्सीका लागि मार्काे अलोन्सो, रिस जेम्स, रोस बार्कले, हाकिम जोयाच र जर्जिन्होले गोल गरेका थिए भने दोस्रो पेनाल्टी प्रहारका लागि आएका सेसार एज्पिक्वेटाको प्रहार विफल भएको थियो।

लिभरपुलका जेम्स मिल्नर, थियागो अलकान्ट्रा, रोबर्टो फिर्मिनो, ट्रेन्ड एलेक्सान्डर आर्नोल्ड, डिएगो जोटा र टिसिमिकासले गोल गरे भने साडियो माने विफल भएका थिए। पहिलो हाफमा स्ट्राइकर मोहम्मद सालाह चोटका कारण मैदानबाट बाहिरिनुपरेको थियो। यसँगै लिभरपुललाई चिन्ताको विषय बनेको छ।

यद्यपि सालाहले च्याम्पियन्स लिगसम्म आफू चोटमुक्त हुँदै फर्किने अभिव्यक्ति दिएका छन्। सालाहले च्याम्पियन्स लिग फाइनलसम्म पूर्ण फिट भई मैदान फर्किनेमा आफू विश्वस्त रहेको बताएका हुन्। सालाह खेलको ३० मिनेटमै मैदानबाट बाहिरिएका थिए।

खेलपछि च्याम्पियन्स लिग फाइनलका लागि फिट हुने नहुनेबारे सोधिएको प्रश्नमा सालाहले आफू पूर्ण फिट हुने बताएका हुन्। ‘पक्कै पनि म च्याम्पियन्स लिग फाइनलसम्म पूर्ण फिट भइसक्नेछु,’ सालाहले भने, ‘स्वर्णिम दिन अहिले लिभरपुलका लागि छ। महत्त्वपूर्ण समयमा छौं। फिट हुँदै खेलमा फर्किनेमा आशावादी छु।’

लिभरपुलले सन् २००६ पछि पहिलो पटक एफए कपको उपाधि जितेको हो। क्लोपको टोलीले सन् २०००–२००१ पछि पहिलो पटक एकै सिजन लिग कप र एफए कपको उपाधि जितेको हो। लिभरपुलले मंगलबार प्रिमियर लिगमा साउथह्याम्पटनको सामना गर्नेछ। चेल्सीले भने बिहीबार लेस्टर सिटीलाई आतिथ्यता गर्नेछ।

प्रकाशित: २ जेष्ठ २०७९ ०७:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App