१६ चैत्र २०८० शुक्रबार
खेल

रोनाल्डको चोटले बार्सिलोनाको जित छायामा

पिएरे इमेरिक औबामेयाङको दुई गोलको सहयोगमा मंगलबार स्पेनिस ला लिगामा बार्सिलोनाले पाहुना टोली सेल्टा भिगोमाथि ३–१ को जित निकाले पनि रोनाल्ड अरूजोको चोटका कारण छायामा पर्‍यो।

स्पष्ट जित निकाल्दै तीन अंक जोडे पनि डिफेन्डर रोनाल्ड अरूजोको चोटले जित छायामा परेको हो। ६४औं मिनेटमा आफ्नै टोलीका गाभीसँग हेडिङ गर्ने क्रममा टाउको जुध्दा रोनाल्ड बेहोस भएर मैदानमा ढलेका थिए। मैदानमा प्राथमिक उपचारपछि उनलाई अस्पताल लगिएको थियो। उनको अवस्था खतरामुक्त भएको जनाइएको छ। खेलपछि बार्सिलोनाका प्रशिक्षक हाभी हर्नान्डेजले पत्रकार सम्मेलनमा रोनाल्ड खतरामुक्त भएको जनाएका थिए।

‘डाक्टरले रोनाल्डको चोट कनकसन भएको जानकारी आएको छ। त्यसबारे थप उपचार भइरहेको छ,’ हाभीले पत्रकार सम्मेलनमा भने, ‘चोट बोकेका रोनाल्डको अहिले हस्पिटलमा छन्। अहिले उनी खतरामुक्त भएको डाक्टरले जानकारी दिएका छन्।’

मंगलबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सीमित सेल्टा भिगोलाई ३–१ गोल अन्तरले हराएको हो। घरेलु मैदानमा मेम्फिस डिपेले ३०औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए। खेलको ४१औं मिनेटमा औबामेयाङले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाएका थिए।

खेलको ४८औं मिनेटमा औबामेयाङले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३–० को अग्रता दिलाएका थिए। ५०औं मिनेटमा सेल्टाका इयागो आसपसले गोल गरे पनि बार्सिलोना ३–१ ले विजयी भयो। खेलको ५८औं मिनेटमा जेइसन मुरिलोले रातो कार्ड पाएपछि सेल्टा १० खेलाडीमा समेटिएको थियो।

यस जितपछि बार्सिलोनाले ३६ खेलमा ७२ अंक जोडेको छ। बार्सिलोना दोस्रो स्थानमा रहेको छ। सेल्टा ४३ अंक जोडेर ११औं स्थानमा छ। एक खेल कम खेलेको रियाल मड्रिड ८१ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ।

प्रकाशित: २९ वैशाख २०७९ ०४:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App