१५ चैत्र २०८० बिहीबार
खेल

हल्यान्डको रोजाइमा सिटी

म्यानचेस्टर सिटीको च्याम्पियन्स लिग बहिर्गमनको चोट अझै ताजा नै छ। तर उनीहरूले इर्लिङ हल्यान्डलाई क्लबमा भित्र्याउने दौडमा भने युरोपका अन्य शीर्ष क्लबलाई पछि पारेका छन्।

२१ वर्षे हल्यान्डलाई सिटीले मंगलबार जर्मन बुन्डेसलिगा क्लब बोरुसिया डर्टमन्डबाट ६० मिलियन युरोमा अनुबन्धित गरेको थियो। स्पेनिस ला लिगाको क्लब रियाल मड्रिडले नर्वेका हल्यान्डसँगै फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेलाई आगामी सिजन सान्टियागो बर्नाबेउ भित्र्याउने लक्ष्य राखेको थियो।

त्यस्तै बार्सिलोनाले पनि हल्यान्डलाई लियोनल मेसीको उत्तराधिकारीका रूपमा हेरेको थियो। जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले पनि हल्यान्डलाई अनुबन्धित गर्न इच्छा देखाउँदै आएको थियो।

हल्यान्डले भने इत्तिहाद रंगशाला रोजे। उनका बुबा अल्फ–इन्जेले पनि सिटीबाट २००० देखि २००३ सम्म खेलेका थिए। पेप ग्वार्डिओलाको टोली पछिल्लो पाँच सिजनमा चौथो पटक प्रिमियर लिगको उपाधि संघारमा छ। सिटी हल्यान्डको उपस्थितिमा आगामी सिजन च्याम्पियन्स लिग जित्ने सपना साकार पार्न चाहन्छ।

गत सिजन सिटी च्याम्पियन्स लिग फाइनलमा चेल्सीसँग निराश भएको थियो। यस सिजन भने सिटी सहज अग्रताका बावजुद अन्तिम मिनेटमा सम्हादिन नसक्दा सेमिफाइनल दोस्रो लेगमा रियालसँग निराश भएको थियो।

पहिलो लेगमा ४–२ को जित निकालेको सिटी दोस्र्रो लेगमा ३–१ ले पराजित भयो। समग्रमा सिटीले रियाललाई ६–५ को नतिजा सुम्पिएको थियो। स्ट्राइकर सर्जियो अग्विरो बाहिरिएपछि उनको स्थानमा सिटीले टोटनह्यामका कप्तान ह्यारी केनलाई अनुबन्धित गर्ने प्रयास गरे पनि सफल हुन सकेको थिएन। हल्यान्डले साल्जबर्ग र डर्टमन्डबाट च्याम्पियन्स लिग अनुभव बटुलिसकेका छन्। यस क्रममा उनले १९ खेलमा २३ गोल गरेका छन्।

हल्यान्ड अब ग्वार्डिओलाको रणनीतिमा कहिले अभ्यस्त हुन्छन् भन्ने सबैको चासोको विषय बनेको छ। ग्वार्डिओलाले बार्सिलोनाबाट ला लिगाको उपाधि जित्दा सामुयल इटो मुख्य स्ट्राइकर थिए भने बायर्नबाट बुन्डेसलिगाको उपाधि जित्दा रोबर्ट लेवान्डोवस्की मुख्य स्ट्राइकर थिए। सिटीबाट प्रिमियर लिगको उपाधि जित्दा भने अग्विरो ग्वार्डिओलाको मुख्य हतियारका रूपमा रहेका थिए।

यस सिजन रियाल महारेज ग्वार्डिओलाको टोलीको सबैभन्दा चलेका खेलाडीमध्येका एक हुन्। उनले सबै खाले प्रतियोगिता गरी २४ गोल गरेका छन् भने रहिम स्टर्लिङले १६, केभिन डी ब्रुयनाले १५ र फिल फोडिनले १४ गोल गरेका छन्।

प्रकाशित: २९ वैशाख २०७९ ०३:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App