४ वैशाख २०८१ मंगलबार
खेल

लिभरपुलको उपाधि सम्भावना जीवित

लिभरपुलका नाबी केइटा (दायाँ) एस्टन भिल्लाका खेलाडीसँग बलका लागि भिड्दै। तस्बिर: एपी

एस्टन भिल्लामाथि २–१ को पुनरागमन जितसहित लिभरपुलले इङ्लिस प्रिमियर लिगको उपाधि सम्भावना जीवित राखेको छ।

योर्गान क्लोपको टोली एकै सिजन चार उपाधिको कीर्तिमान रच्ने लक्ष्यमा छ। प्रिमियर लिगको ३६ खेलमा दोस्रो स्थानको लिभरपुलको ८६ अंक छ। एक खेल कम खेलेको शीर्ष स्थानको सिटीको पनि समान ८६ अंक छ। सिटीभन्दा लिभरपुल गोलअन्तरमा पछि परेको छ। गत साता टोटनह्यामसँग १–१ को बराबरीमा रोकिएपछि दबाबमा परेको लिभरपुलले भिल्लामाथि भने महत्त्वपूर्ण तीन अंक जोड्दै सिटीमाथिको दबाब कायम राखेको हो।

लिभरपुलले यसअघि इङ्लिस लिग कपमा चेल्सीलाई हराउँदै उपाधि जितिसकेको छ। शनिबार एफए कपको फाइनलमा लिभरपुलले चेल्सीकै सामना गर्दै छ। क्लोपको टोलीले च्याम्पियन्स लिगको समेत फाइनलमा स्थान बनाइसकेको छ। जहाँ लिभरपुलले रियाल मड्रिडको सामना गर्नेछ।

खेलको तेस्रो मिनेटमै डोग्लास लुइसको गोलमा लिभरपुलले अग्रता लिएको थियो। त्यसको ३ मिनेटपछि नै जोयल माटिपले लिभरपुललाई खेलमा फर्काएका थिए। ६५औं मिनेटमा साडियो मानेले गरेको गोलमा लिभरपुलले जित पक्का गरेको थियो। ‘हामी अझै उपाधि दौडमै छौं र सिटीमाथिको दबाब कायम राखेका छौं,’ क्लोपले भने, ‘हामीसँग अब बाँकी रहेको खेलमा जितको विकल्प छैन। हामीले एफए कपको फाइनलमा पनि स्वाभाविक जित लय कायम राख्नुपर्छ। हामी एकै सिजन चार उपाधिको कीर्तिमाननजिक छौं।’

तर फाबिन्हो मांसपेशीको समस्याका कारण मैदानबाट बाहिरिनु भने लिभरपुलका लागि चिन्ताको विषय बनेको छ। उनले शनिबार चेल्सीविरुद्धको एफए कप खेल्ने नखेल्ने दुबिधा बढेको छ। त्यस्तै मे २८ मा रियालविरुद्ध हुने च्याम्पियन्स लिग फाइनलमा समेत उनको उपस्थिति दुबिधामा परेको छ।

क्लोपले भिल्लाविरुद्धको खेलमा मोहम्मद सालाह र थियागो अल्सान्ट्रालाई आराम दिएका थिए। लिभरपुलले लिगको अन्तिम दुई खेलमा साउथह्याम्पटन र उल्भरह्याम्पटनको सामना गर्नेछ।

‘हामीले लिभरपुलमाथि दबाब बढाउँदै अग्रता समेत लिएका थियौं,’ भिल्लाका प्रशिक्षक स्टेफन जेरार्डले भने, ‘तर हामीले पाएका अन्य अवसरको सदुपयोग गर्न नसक्दा भने निराश हुनुपर्‍यो।’ जेरार्डको टोली ३५ खेलबाट ४३ अंकसहित ११औं स्थानमा छ। जेरार्डको टोलीले लिगको अन्तिम खेलमा सिटीको सामना गर्नेछ। त्यसअघि क्रिस्टल प्यालेस र बर्नलीविरुद्ध खेल्नेछ।

प्रकाशित: २९ वैशाख २०७९ ०३:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App