६ वैशाख २०८१ बिहीबार
खेल

पहिलो दिन सुवासको अग्रता

एमेच्योर गल्फर सुवास तामाङले सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको पहिलो दिन सोमबार शुक्रबहादुर राईमाथि एक स्ट्रोकको अग्रतासहित शीर्षता कायम गरेका छन्।

सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गतको सातौं प्रतियोगितामा सुवासले बोगीरहित सुरुआत गर्दै अग्रता बनाएका हुन्। गोकर्ण गल्फ क्लबमा भएको खेलमा उनले आठ अन्डर ६४ स्कोर गर्दै स्कोरबोर्डमा शीर्षता बनाए।

उनी १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेतासमेत हुन्। प्रोफेसनल गल्फर शुक्रबहादुर भने सात अन्डर ६५ मा रहे। च्याम्पियनसिपमा अर्का एमेच्योर गल्फरले पनि सुखद सुरुआत गरे। एमेच्योर गल्फर टासी छिरिङले प्रो. गल्फर रवि खड्कासँगै तेस्रो स्थान ओगटे। दुवैले समान पाँच अन्डर ६७ को सुरुआत गरे।

नेपाल नम्बर एक प्रो.गल्फर भुवन नगरकोटी, दिनेश प्रजापति र एमेच्योर गल्फर सद्भाव आचार्य संयुक्त रूपमा पाँचौं स्थानमा छन्। यी तीन चार अन्डर ६८ को कार्डमा छन्। त्यस्तै तीन प्रो. गल्फर कमल तामाङ, रमेश अधिकारी र तीर्थ पौडेलले पनि समान आठौं स्थानबाट पछ्याएका छन्। तीनै जना पहिलो दिन दुई अन्डर ७० मा रहे। एक अन्डर ७१ बाट च्याम्पियनसिप सुरु गरेका धनबहादुर नवौं स्थानमा रहे। एमेच्योर गल्फरद्वय वाङचेन धोन्डुप र सुरेश तामाङ संयुक्त १२औं स्थानमा रहँदा इभन पार ७२ मा रहे।  शीर्ष स्थानमा रहेका सुवासले पाँच अन्डर ३१ का साथ फ्रन्ट नाइनमा राम्रो सुरुआत गरेका थिए।

ब्याक नाइनमा भने उनी तीन अन्डर ३३ मा खुम्चिए। तीन अन्डर ३३ बाट फ्रन्ट नाइन सुरु गरेका शुक्र भने ब्याक नाइनमा चार अन्डर ३२ ले सुधार गरे। एमेच्योर गल्फर टासी फ्रन्ट नाइनमा तीन अन्डर ३३ को कार्डमा रहँदा अर्को नाइनमा दुई अन्डर ३४ मा रहे। इभन पारबाट सुरु गरेका रविले ब्याक नाइनमा पाँच अन्डर ३१ का साथ दिनको अन्त्य गरे। रविले बोगीबाट दिनको सुरुआत गरे पनि पुनरागमन गरे।

प्रतियोगिता बिहीबारसम्म कुल ७२ होलमा प्रतिस्पर्धा हुनेछ। ३६ होलपश्चात् कट नियम लागू हुनेछ र जसमा २१ प्रोफेसनल गल्फर र ६ एमेच्योरले अन्तिम चरण (३६ होल) मा स्थान बनाउनेछन्। ३२ प्रोफेसनल गल्फरले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका विजेताले एक लाख ३५ हजार, उपविजेताले ८८ हजार र तेस्रोले ६५ हजार रूपैयाँ पाउनेछन्। २१ गल्फरलाई नै आयोजकले नगद पुरस्कार प्रदान गर्नेछ। १४ एमेच्योरतर्फ भने गल्फरले चुनौती प्रस्तुत गर्दै छन्।

प्रकाशित: २७ वैशाख २०७९ ०३:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App