१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

खेलाडी–प्रशिक्षक विवादः एन्फाले बनायो छानबिन समिति

अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र राष्ट्रिय टोलीका असन्तुष्ट १० खेलाडीबीचको विवाद समाधानका लागि नेपाली सेनाका पूर्वउपरथी भिक्टर रानाको संयोकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

एन्फाको आइतबार बसेको आपत्कालीन केन्द्रीय कमिटी बैठकले राना संयोजक तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) का उपाध्यक्ष दीपक थापा छानबिन समिति गठन गरेको हो। सो समितिले ७ दिनभित्र एन्फासमक्ष छानबिनको प्रतिवेदन बुझाउने छ।

दुई साताअघि एएफसी एसियन कप २०२३ छनोटको बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले प्रशिक्षक अल्मुताइरीको व्यहारप्रति असन्तुष्टि व्यक्त गर्दै बन्द प्रशिक्षण छोडेका थिए।

कप्तान तथा गोलकिपर किरणकुमार लिम्बुको अनुपस्थितिमा टोलीको सिनियर खेलाडीका रूपमा टोली नेतृत्व सम्हालिरहेका मिडफिल्डर रोहित चन्दलाई खेलाडीको सेवासुविधाको माग राखेकै कारण टोलीबाट निकालिएको भन्दै अन्य नौ खेलाडीले पनि बन्द प्रशिक्षण छोडेका थिए।

बन्द प्रशिक्षण छोड्नेमा सुजल श्रेष्ठ, अनन्त तामाङ, अञ्जन विष्ट, दिनेश राजवंशी, विशाल राई, विमल घर्तीमगरजस्ता मुख्य खेलाडी थिए। उनीहरूले आफूलाई प्रशिक्षक अल्मुताइरीले बारम्बार प्रशिक्षण छोड्न दबाब दिएकाले बन्द प्रशिक्षणबाट बाहिरिएको बताउँदै आएका छन्।

कप्तान किरणका साथै हाल टोलीमै रहेका पूजन उपरकोटी र दर्शन गुरुङले पनि सामाजिक सन्जालमार्फत प्रशिक्षकले खेलाडीमाथि अन्याय गरेको उल्लेख गरेका थिए।

अल्मुताइरीले भने १० खेलाडी बाहिरिएपछि १७ खेलाडी थप गर्दै बन्द प्रशिक्षणलाई निरन्तरता दिँदै आएका छन्।उनीहरूले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई पत्र बुझाउँदै छानबिनको माग गरेका थिए।

यता अल्मुताइरीले पनि महासचिव तुलाधरलाई पत्र लेख्दै खेलाडीहरूलाई आफूले बन्द प्रशिक्षण छाड्न नभनेको र उनीहरूले जानकारीबिनै होटलबाट बाहिरिएको बताएका थिए। साथै अल्मुताइरीले आफू खेलाडीको भूmटो आरोपबाट दुखी भए पनि उनीहरूलाई माफी दिएको र उनीहरूलाई कारबाही नगर्न एन्फासमक्ष आग्रह गरेका थिए।

यद्यपि अल्मुताइरीले बन्द प्रशिक्षणबाट बाहिरिएका खेलाडीलाई माफी दिए पनि एएफसी एसियन कप २०२३ छनोटको बन्द प्रशिक्षणमा समावेश गर्न नसक्ने बताएका थिए।

यसअघि बुधबार नै एन्फाले यो विवाद समाधानका लागि राना एकल सदस्य रहने गरी छानबिन समिति गठन गरेको थियो। एन्फाले प्रक्रिया नपुगेकाले सो समिति भंग गर्दै नयाँ समिति गठन गरेको जनाएको छ। नेपाल जुनमा कुवेतमा हुने छोट चरणको समूह ‘ए’ मा परेको छ। जहाँ नेपालले आयोजक कुवेत, जोर्डन र इन्डोनेसियाको सामना गर्नेछ।

प्रकाशित: २६ वैशाख २०७९ ०१:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App