coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नवौं राष्ट्रिय खेलकुदको लोगो सार्वजनिक

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शनिबार गण्डकी प्रदेशमा जेठ तेस्रो साताबाट सुरु हुने नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक गरेको छ। राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले लोगो, मस्कट र नारा राखेपमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरे।

राखेपका बोर्ड एवं कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवरको संयोजकत्वमा गठित ५ सदस्यीय समितिले लोगो र मस्कट छनोट गरेको हो। छनोट भएको लोगो र मस्कट काठमाडौंको मैतीदेवी निवासी ६२ वर्षीय भोलानाथ पौड्यालले तयार पारेका हुन्।

समितिका सदस्यमा प्राज्ञिक कलाकार रमेशनाथ खनाल, नोबेल एकेडेमी कला विभागका प्रमुख विपिनराज श्रेष्ठ र सृजना कलेज अफ फाइन आर्ट्सका प्रमुख प्रो. राधेश्याम मुल्मी तथा सदस्य–सचिवमा राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्मा थिए।

लोगोमा माछापुच्छ्रे हिमाललाई रेखाकृतिमा राखिएको छ। आकाशे नीलो रेखाले शान्तिको प्रतीक परेवालाई प्रतिबिम्बित गरेको छ भने रातो रंगको ४ धर्साले परेवाको पखेटा र ट्य्राकलाई दर्शाएको छ। ४ धर्साले साबिकको प्रदेश ४ लाई पनि दर्शाएको पौड्यालले जानकारी गराए। चन्द्रसूर्यले राष्ट्रिय ध्वजालाई प्रतिबिम्ति गर्नुका साथै सबै टोलीको प्रतिनिधित्व गरेको छ।

मस्कटका रूपमा गण्डकी प्रदेशमा पनि पाइने लोपोन्मुख तथा संरक्षित प्राणी कस्तुरी मृग रहेको छ। सुयोग्यराज काफ्लेले तयार पारेको ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ नारा पारित भएको छ। लोगोलाई ५० हजार, मस्कटलाई २५ हजार र नारालाई १० हजार नगदबाट पुरस्कृत गरियो।

कार्यक्रममा राखेपका उपाध्यक्ष शिव कोइराला, खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राखेपका सदस्यसचिव टंकलाल घिसिङ, राखेप बोर्ड तथा कार्यकारी समितिका सदस्यद्वय एकेन्द्र कुँवर र नन्दा बस्याल, ओलम्पियन दीपक विष्ट, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, छनोट समितिका पदाधिकारीलगायतको उपस्थिति थियो।

नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म हुनेछ। प्रतियोगितामा विभिन्न ३६ खेलका ११ टोली सहभागी हुनेछन्।

प्रकाशित: २५ वैशाख २०७९ ०७:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App