५ जेष्ठ २०७९ बिहीबार
खेल

नेपालको बिर्सनलायक ब्याटिङ

जिम्बाब्वे टोलीविरुद्ध ब्याटिङ गर्दै नेपालका रोहित पौडेल। तस्बिर सौजन्यः क्यान

शीर्ष क्रमका ब्याटरले सम्हालिएको प्रदर्शन गर्न नसक्दा आशातित बलिङका बाबजुद नेपालले जिम्बाब्वे ‘ए विरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा तीन विकेटको हार बेहोरेको छ।  

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १ सय ३७ रनको झिनो लक्ष्य जिम्बाब्वेले २६ ओभरमा सात विकेटको क्षतिपश्चात् मात्र पूरा गर्‍यो। पहिलो विकेटका लागि इनोसेन्ट काया र सिफास जुआवोले ३९ रनको साझेदारी गर्दै पाहुना टोलीको मध्यम सुरुआत गराए। साताैं ओभरको तेस्रो बलमा कप्तान सन्दीप लामिछानेले जुआवोलाई करण केसीबाट क्याच गराउँदै नेपाललाई पहिलो सफलता दिलाए। जुआवोले २९ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ३२ रन जोडे। जिम्बाब्वेले ५१ रन जोड्दा ताडिवान्से मारुमानीलाई दोस्रो विकेटको रूपमा गुमाउनु पुग्यो।  

मारुमानीलाई ४ रनमै करणले क्याच आउट गराए। थप २९ रन जोड्दा जिम्बाब्वेका रोय काया पनि सस्तैमा पवेलियन फर्किए। सन्दीपको बलमा आदिल आलमबाट क्याच हुनुअघि उनले १७ बलमा दुई चौकासहित १४ रन जोडे। त्यसपछि ब्याटिङमा आएका अन्य ब्याटरले सम्हालिएको प्रदर्शन गर्न नसके पनि ओपनर इनोसेन्ट काया ४८ रनमा अविजित रहँदै जित दिलाउन सफल भए। कायाले ४८ बलमा चार चौका र एक छक्का हिर्काए। नवौं नम्बरका ब्याट्सम्यान ब्राड इभान्सले १७ रनको अविजित इनिङ खेल्दै पाहुना टोलीलाई साथ दिए। उनले १९ बलमा एक चौका र दुई छक्का प्रहार गरे।

काया र इभान्सले आठौं विकेटका लागि अविजित १९ रनको साझेदारी गरे। नेपालको बलिङमा सन्दीपले १० ओभरमा ३२ रन खर्चदै दुई विकेट लिए। करणले पनि पाँच ओभरमा दुई विकेट लिँदा ३० रन बेहोरे। सोमपाल कामी र सागर ढकालको नाममा समान एक विकेट रह्यो। जितसँगै जिम्बाब्वे ‘ए’ ले तीन एकदिवसीय खेलको शृंखलामा १–० को अग्रता लिएको छ। त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल ३१.३ ओभरमा मात्र १ सय ३६ रनमा अलआउट भयो।

नेपालका लागि सोमपालले सर्वाधिक ३० रन जोड्दा करणले २५, ओपनर कुशल भुर्तेलले १९ र दीपेन्द्रसिंह ऐरीले १८ रनको योगदान गरे। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्। २२ रन जोड्दा नेपालले ओपनर कुशललाई पहिलो विकेटका रूपमा गुमायो। कुशलले १० बलमा चार चौका प्रहार गरे। अर्का ओपनर आसिफ शेख र आरिफ शेख समान ५ रनमै पवेलियन फर्किए। त्यसपछि रोहित पौडेल पनि ३ रनमा नै आउट भए। लगातार विकेट गुमाइरहँदा नेपाल ८४–७ को स्थितिमा पुग्यो। तर, करण र सोमपालले आठांै विकेटका लागि ३७ रनको साझेदारी गर्दै इनिङ उकास्ने प्रयास गरे।  

तर, जुआवोले २८.४ ओभरमा सोमपालाई क्याच आउट गराउँदै यो साझेदारी तोडे। सोमपालले ७० बलमा दुई चौका र एक छक्का प्रहार गरे। दोस्रो सर्वाधिक व्यक्तिगत रन जोडेका करणले ३६ बलमा तीन चौका हिर्काए। जिम्बाब्वेका लागि इभान्सले चार विकेट लिँदा जिआवो, ब्रान्डन माभुता र भिक्टरले समान दुई विकेट निकाले। यी दुई टोलीबीच दोस्रो एकदिवसीय खेल शनिबार हुनेछ।

प्रकाशित: २४ वैशाख २०७९ ०८:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App