coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

नवौं राष्ट्रिय खेलकुद तयारीः खेलाडी पठाउन निर्देशन

आगामी जेठको दोस्रो साताभित्रमा प्रदेश छनोट टुंग्याएर खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने गरी जिल्ला छनोट गरिसक्ने गण्डकी प्रदेश खेलकुद परिषद्ले सम्बन्धीत खेल संघहरुलाई निर्देशन गरेको छ। प्रदेश खेलकुद परिषद्ले आगामी जेठन ९ गतेभित्र जिल्ला छनोट सक्नुपर्ने निर्देशन दिएको हो।  

निर्देशन अनुसार संघहरुले जिल्ला छनोट जेठ ४ भित्रमा सक्नुपर्ने र ५ देखि ९ गतेसम्म प्रदेश छनोट टुग्याई दश दिन बन्द प्रशिक्षणमा राखिने प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशका सदस्य सचिव तेजबहादुर गुरुङले बताए। ‘जेठ १० गते राष्ट्रिय खेलकुदमा खेलाडीहरुको अन्तिम नामावली दर्ता गर्नुपर्छ। दर्तासँगै खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने छ।’ बिहीबार युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशमा संघहरुसँग भएको छलफलमा उनले बताए। ‘जिल्लामा खेलाडी छनोट गर्छौं तर छनोट प्रतियोगिता गर्दैनौं,’ उनले भने। सदस्य सचिव गुरुङले टिम तयारीको लागि कार्ययोजना तयार गर्दै यही वैशाख २६ गतेभित्र खेलाडीको नाम दर्ता गरी संघहरुले प्रदेशमा पठाउनुपर्ने बताए।  

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेश छैटौं स्थानमा थियो। विभिन्न १४ खेलमा गण्डकी प्रदेश पदकविहीन रहँदै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता टुंग्याइएको थियो। आयोजक गण्डकी प्रदेशले आफ्नै शहरमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा इज्जत जोगाउनुपर्ने दवाब रहेको छ। यद्यपी जिल्ला छनोट गर्ने विषयमा संघहरु नै अन्यौलमा परेका छन्।

‘जेठको वर्षायाममा प्याराग्लाईडिङ गेम गर्नै सकिदैन्, पछाडि सार्न मिल्दैन,’ गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङसँग गुनासो गर्दै नेपाल प्याराग्लाईडिङ तथा ह्याङग्लाईडिङ संघका महासचिव शैलेन्द्र रावतले भने, ‘मौसमकै कारण प्याराग्लाईडिङ हुनै सक्दैन्।’ प्याराग्लाईडिङ केही महिना पछि सारेर गर्न उनले प्रस्ताव गरे।  

जिल्ला छनोट भईसकेको छैन्। जिल्ला छनोटको लागि बैशाख २७ गतेदेखि सुरु गर्न संघहरुलाई निर्देशन छ। जिल्ला छनोटको निर्देशन भएपनि बजेट नहुदाँ खेलाडी छनोट गर्न कठिनाई हुने संघहरुले गुनासो गरेका छन्। ‘जिल्ला छनोट गर्नुपर्छ। संघमा आवद्ध क्लबहरुले छनोट खेलेपछि मात्रै छनोट गर्न सकिन्छ। हचुवाको भरमा छनोट गरेर टिम तयार गर्न सकिँदैन्।’  

कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले भने, ‘छनोट गर्न आवश्यक बजेट छुट्टाईदिनुपर्छ। बजेटकै अभावमा जिल्ला छनोट गर्न कठिनाई छ।’ गण्डकी प्रदेश खेलकुद परिषदले जिल्ला तथा प्रदेश छनोटको लागि मुख्यमन्त्रीसँगको छलफलमा ५ करोड २० लाख रुपैयाँको बजेट प्रस्ताव पेश गरिसकिएको छ। प्रस्तावित बजेट निकासा भईसकेको छैन्। बजेट नहुदाँ जिल्ला छनोट प्रभावित हुने संघहरुले बताउँदै आएका छन्। ‘जिल्ला छनोट गर्छौ तर छनोट गर्न आवश्यक बजेट नहुदाँ कठिनाई हुन्छ,’ कास्की जिल्ला भारोत्तोलन संघका अध्यक्ष राजन बडगामीले भने।

प्रदेश छनोटको लागि केवल बढीमा ३२ लाख रुपैयाँ मात्रै रहेको सरोकारवालाको भनाई छ। ३२ लाख रुपैयाँले ११ जिल्लालाई बाड्दाँ एउटा जिल्लाको भागमा केवल ३ लाख पनि नपर्ने देखिएको छ। ३ लाख विभिन्न संघहरुलाई छनोट खेल सञ्चालनको लागि बाड्नुपर्ने विडम्बना रहेको खेलकुद मन्त्रालयले जनाएको छ। यद्यपी छनोटको बजेट केही बढ्ने अनुमान गरिएको छ। ‘जिल्लामा हुने खेलको आधारमा न्युनतम ३ देखि अधिकतम ५ लाखसम्म छुट्टाइएको छ।’

गण्डकी प्रदेश खेलकुद परिषदका बोर्ड सदस्य योगेन्द्र शेचरनले भने,‘त्यही बजेटबाटै छनोट गरेर प्रदेशमा आउने छन्।’ आर्चरी संघका अध्यक्ष समेत रहेका शेरचनले गत फागुनमा आयोजित गण्डकी प्रदेशस्तरीय प्रथम आर्चरी च्याम्पियनसिपमा उत्कृष्ठ दश खेलाडीबाट उत्कृष्ठ चार छनोट गरिने बताए। पोखरामा फेन्सिङले निरन्तर प्रशिक्षणमा छ। यद्यपी परिषदबाट कुनैपनि सहयोग पाउन नसकेको गुनासो फेन्सिङले गरेको छ। ‘कास्की बाहेक अन्य जिल्लामा फेन्सिङ छैन्। जिल्ला छनोट नै गर्नुपर्दैन, सिधै राष्ट्रिय प्रतियोगिता खेल्छौं,’ कास्की जिल्ला फेन्सिङ संघका अध्यक्ष विजय शाहीले भने, ‘तर दुःखको कुरो परिषदबाट सहयोग नै पाईएन्। खेलाडीलाई पानी खुवाउन समेत आफैंले खर्च गर्नुपरेको छ।’ फेन्सिङका १२ महिला र १२ पुरुष खेलाडीहरु बन्द प्रशिक्षणमा छन्।  

प्रकाशित: २२ वैशाख २०७९ ११:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App