१६ चैत्र २०८० शुक्रबार
खेल

मनाङे भन्छन्: राष्ट्रिय खेलकुद प्रतियोगिताले खेलमा नभई पर्यटनमा लाभ

प्रतियोगिता तयारीका लागि बजेट छैन

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक तयारी गर्न बजेट प्रदेशमा बजेट आईसकेको छैन। बजेट नआउँदा जिल्ला छनोट, प्रदेश छनोटसँगै क्याम्प सञ्चालन गर्न अन्यौल बढेको छ। गण्डकी प्रदेश आयोजक हो। तर आयोजकसँग सल्लाह नै नगरेर राष्ट्रिय खेलकुद परिषद र मन्त्रालयले निर्णय गरेको आरोप गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले लगाएको छ।  

‘सल्लाह गरेर निर्णय गरेको छैन। त्यसमा पनि बजेट आएकै छैन। बजेट नआउँदा कसरी सम्भव छ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न समस्या छ,’ गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दिपक मनाङे)ले भने, ‘परिषद्ले आयोजना गर्यो भने हामी सहभागि मात्रै बन्ने हो। तर उपलब्धी शून्य हुन्छ।’ उनले गण्डकी प्रदेशले आफैं आयोजक बनेर पनि राष्ट्रिय प्रतियोगितामा पदकको अपेक्षा गर्न सकिने अवस्था नभएको बताए। पालिकाबाट खेलाडी छनोट गरेर जिल्ला र प्रदेश छनोट टुंग्याउनुपर्ने भन्दै छनोट प्रक्रिया टुंग्याउन पर्याप्त समय नपुग्ने जिकिर गरे।  

खेलकुदलाई बजेट छैन भनेर प्रदेश सरकारले घटाईदिएको गुनासो समेत उनको थियो। परिषद्ले ९० करोड रुपैयाँ बजेट छुुट्टाउने तयारी गरेको भन्दै मन्त्री गुरुङले सातै प्रदेशलाई १० करोड रुपैयाँको दरमा दिए केही हदसम्म तयारी गर्न सकिने स्पष्ट पारे। ‘पैसा छैन भनेर चुपचाप बसेका थियौं,’ मन्त्री गुरुङले भने, ‘स्पोर्टसको हिसाबले राष्ट्रिय खेलकुद प्रतियोगिता काम छैन् । टुरिजमको हिसाबमा ठिकै छ।’ कोरोनाले ठप्प भएको पर्यटन क्षेत्रमा प्रतियोगिताले राहत दिने भन्दै पर्यटन क्षेत्रलाई उकास्न यो प्रतियोगिताले प्रेरित गर्ने उनको भनाई थियो।  

‘स्पोर्टसको हिसाबमा राष्ट्रिय प्रतियोगिताबाट हात उठाएको छु। जुन बजेट केन्द्रले दिन्छ  त्यसमा मन्त्रालयको तर्फबाट अनुगमन मात्रै गर्ने हा।’ मन्त्री गुरुङले भने। राष्ट्रिय प्रतियोगितामा बनाईने विभिन्न उपसमितिमा मन्त्रालय नबस्ने जनाउँदै मन्त्री गुरुङले राष्ट्रिय प्रतियोगितामा हुने भ्रष्टाचारलाई नियन्त्रणको काम गरिने बताए।  

राष्ट्रिय प्रतियोगितामा सहभागिता मात्रै जनाउने ध्येय गण्डकी प्रदेश खेलकुद मन्त्रालयको छ। ‘हामीले सहभागिता जनाउने मात्रै हो। कमजोरी देख्छु। खेलाडीको ट्रेनिङ छैन्। तीन विभागिय क्लब बाहेक सातै प्रदेशको केवल सहभागिता मात्रै हुन्छ,’ उनको भनाई थियो। यतिबेला देश चुनावमय बनेको छ। चुनावमा सबै क्षेत्र होमिएको छ। खेलाडीहरु पनि राजनीतिक दलमा आवद्ध छन्। चुनावमा खेलाडीहरु प्रचारप्रसारमा जुटेका छन्। ‘खेलाडी सबै चुनावी अभियानमा होमिएको छन्। प्रचारप्रसारमा छन्। चुनावमा खेलाडी नजाउ भन्न सकिदैन्। नजाउ भनेर खेलाडीलाई ट्रेनिङ गराईराख्ने अवस्था पनि छैन्,’ मन्त्री गुरुङको अभिव्यक्ति थियो ।  

प्रदेश सरकारले पनि खेलकुदलाई प्राथमिकतामा राखेको छैन्। खेलकुद क्षेत्रलाई आवश्यक बजेट नदिदाँ पूर्वाधार र प्रतियोगिता सञ्चालन गर्न नसकिएको गुनासो मन्त्री गुरुङको थियो। ‘अहिले बजेट नभएको अवस्था छ। मौसम पनि त्यति राम्रो होईन। तीन महिनापछि धकेलेर आयोजना गर्दा ठिकै हुन्छ,’ उनले भने, ‘पोखरामा बनाउनुपर्ने पौडी पोखरी र सुटिङ रेन्ज बनाउन भ्याउँथ्यौं।’ उनले राष्ट्रिय प्रतियोगिता तयारीमा रहदाँ अझैपनि पोखरा रंगशाला खुला हुन नसकेको बताए। एथलेटिक्स ट्रयाक र फुटबल मैदान अझै बन्द रहेको उल्लेख गर्दै मन्त्री गुरुङले एथलेटिक्स र फुटबल मैदान खुुला गरेर खेलाडीलाई प्रशिक्षण गराउने बातावरण मिलाउनुपर्नेमा जोड दिए।  

पोखरा महानगर खेलकुद विकास समितिले नवौंको तयारीकै लागि महानगरले केही खेल आयोजना गरिएको समितिका अध्यक्ष दिपकबहादुर गोदारले बताए । ‘हामीले अहिले नवौंको लागि तयारी गर्ने योजना अनुसार महानगरको थोरै बजेटबाटै निरन्तर प्रतियोगिता गर्दै आएका छौं।’ अध्यक्ष गोदारले भने, ‘प्रतियोगिताबाटै खेलाडी छनोट गरेर राखिएको छ।’ उनले मार्शल आर्टसको लागि १४ लाख रुपैयाँ महानगरले छुट्टाएको उल्लेख गरे। उनका अनुसार क्याम्प भनेकै खेलाडीको ट्रेनिङ हो भन्दै केही खेलको ट्रेनिङ चलिरहेको छ। उनले टेबल टेनिस, भलिबल, व्याडमिन्टन लगायतको खेलका प्रतियोगिता सञ्चालन गरिसकिएको जानकारी दिए। 

प्रकाशित: १६ वैशाख २०७९ ०८:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App