coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

‘अल्मुताइरीले ज्यादती गरे’

असन्तुष्ट फुटबलरको पत्रकार सम्मेलन

एएफसी एसियन कप छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीले न्यूनतम सेवासुविधा उपलब्ध गराउन माग गर्दा मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीको बारम्बार दबाबका कारण क्याम्प छाड्नुपरेको असन्तुष्ट खेलाडीले बताएका छन्।

मुख्य प्रशिक्षक अल्मुताइरीले ‘यु स्टाटेर्ड द वार, एन्ड आई इन्डेड इट’ भन्दै अभिव्यक्ति दिएको बताउँदै बन्द प्रशिक्षणमा रहेका खेलाडीले बिहीबार पत्रकार सम्मेलन गरेर न्यूनतम सेवासुविधाका लागि माग राख्दा बारम्बार दबाब दिएर क्याम्प छाड्न भनेपछि मात्र छाडेको बताएका हुन्।

नियमित कप्तान किरण चेम्जोङको अनुपस्थितिमा रोहित चन्दले नेतृत्व गरिरहेको टोलीमा न्यूनतम सेवा सुविधा उपलब्ध गराउन माग राखेका थिए। सोही विषयलाई लिएर प्रशिक्षकले रोहितलाई निकालेपछि सबैको साझा मागमा बेवास्ता गरेको उनीहरूले बताएका हुन्। सोही विषयमा प्रशिक्षकसँग जिज्ञासा राख्दा आफूहरूसँग विकल्प भएको भन्दै निरन्तर दबाब दिएर क्याम्प छाड्न सक्ने भनेपछि होटल छाडेर गएको उनीहरूले पत्रकार सम्मेलनमा बताएका हुन्।

प्रशिक्षकको कार्यशैलीमा असन्तुष्टि जनाउँदै प्रशिक्षणमा रहेका खेलाडीले अल्मुताइरीको आचरण बेठीक भएको टिप्पणीसमेत गरेका छन्। पत्रकार सम्मेलनमा बन्द प्रशिक्षण बहिष्कार गरेका १० खेलाडी नै उपस्थित थिए। यस्तै कप्तान किरण चेम्जोङले यसअघि नै समाजिक सञ्जालमा खेलाडीको पक्षमा भएको बताएका थिए भने क्याम्पमा रहेका चार खेलाडीले पनि खेलाडीको पक्षमा नै सहमति जनाएका छन्।

उता असन्तुष्ट खेलाडीहरूले प्रशिक्षकसँग भएको विवादबारे अखिल नेपाल फुटबल संघ (एन्फा) लाई जानकारी गराएको तर एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले निर्वाचन नजिकिँदै गरेको भन्दै खेलाडीलाई बुझेर खबर गर्ने बताए पनि खबर नआएको उनीहरूले बताए। उता महासचिव इन्द्रमान तुलाधरले खेलाडीले क्याम्प छाडेर गएको विषयमा एन्फाले अध्ययन गर्ने बताए।

‘बन्द प्रशिक्षणमा रहेका खेलाडीले क्याम्प किन छाडेर गएको भन्ने विषयमा एन्फाले अध्ययन गरिरहेको छ। एक चरण प्रशिक्षकसँग छलफल पनि भइसकेको छ। खेलाडीसँग छलफलको प्रयास भए पनि हुन सकेको छैन, पत्रकार सम्मेलनपछि बोल्ने बताएका छन्,’ महासचिव इन्द्रमान तुलाधारले भने, ‘सेवा सुविधाको विषयमा खेलाडीले माग राख्दा प्रशिक्षकसँग विवाद भएको सुन्नमा आएको छ। दुवै पक्षसँग छलफल गरेर सत्यतथ्य नियाल्छौं। त्यसपछि आवश्यक कदम चाल्छौं।’

प्रशिक्षकसँग असन्तुष्ट रोहित चन्दले सुरुवातमा क्याम्पबाट बिदा लिएका थिए। रोहितसहित ९ जना खेलाडीले क्लोज क्याम्प छाडेको थिए। गोलकिपर विशाल श्रेष्ठ, सुजल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, सुमन लामा, तेज तामाङ, विशाल राई, विमल घर्तीमगर, दिनेश राजवंशीलगायतका खेलाडीले होटल छाडेर हिँडेका हुन्। सिनियर खेलाडीले प्रशिक्षण छाडेपछि त्यसको बदलामा अल्मुताइरीले जुनियर १४ नयाँ खेलाडीलाई बिहीबारबाट बन्द प्रशिक्षणमा बोलाएका छन्।

एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाल कठिन समूहमा छ। नेपालले जुन ८ देखि १४ सम्म कुवेतमा हुने प्रतियोगिताका लागि तयारी गरिरहेको छ। छनोटबाट समूहको शीर्ष टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुनेछ। यस्तै ५ समूहका उत्कृष्ट उपविजेताले पनि प्रतियोगितामा सहभागी हुने मौका पाउनेछन्।  

प्रकाशित: १६ वैशाख २०७९ ०५:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App