८ वैशाख २०८१ शनिबार
खेल

ट्य्राक हस्तान्तरण नहुँदा प्रशिक्षणमा समस्या

एथलेटिक्समा गण्डकी प्रदेशको प्रदर्शन आसलाग्दो छैन। प्रदेशका ११ जिल्लामा एथलेटिक्सको पूर्वाधार पनि छैन। तर, पोखरामा एथलेटिक्सका पूर्वाधार बनेता पनि प्रशिक्षण गराइएको छैन। अन्तर्राष्ट्रिय मापदण्डका सिन्थेटिक ट्य्राक प्रतियोगिताका लागि मात्रै उपयोग गर्नुपर्ने आवाज उठिरहेको छ।

प्रतियोगिताका लागि मात्रै उपयोग गर्ने हो भने पोखरामा एथलेटिक्स प्रशिक्षण गराउने अर्को वैकल्पिक ट्य्राक छैन। निर्माण कम्पनीले पोखरा रंगशालाभित्र निर्माण गरिएको सिन्थेटिक ट्य्राक राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई हस्तान्तरण गरिसकेको छैन। परिषद्ले कम्पनीलाई भुक्तानी बापतको रकम नदिँदासम्म परिषद्को नाममा आउन ढिलाई भएको हो।

‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अगावै पोखरा रंगशालामा निर्माण गरिएका ट्य्राक एन्ड फिल्ड (फुटबल मैदान, प्यारापिट र सिन्थेटिक ट्रयाक) राखेपलाई हस्तान्तरण गर्नेछौं,’भारतीय कम्पनी ग्रेट स्पोर्टस एन्ड एमए कन्स्ट्रक्सन जावलाखेल(जेभी) का स्थानीय प्रोजेक्ट म्यानेजर दीपक बरालले भने,‘हस्तान्तरण गर्नुअघि परिषद्ले बाँकी रकम भुक्तानी दिनुपर्छ।’

परिषद्ले कति रकम भुक्तानी गर्न बाँकी छ भन्नेबारे उनले खुलाएनन्। आठौं राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशबाट अनिष थापा मगरले मात्र रजत पदक जितेका थिए। उनले १० हजार मिटरमा रजत र पाँच हजार मिटरमा कांस्य पदक जितेको तथ्यांक छ। नवलपुरका प्रकाश रानामगरले १ सय २ सय मिटर दौडमा तेस्रो स्थान प्राप्त गर्दा कल्पना श्रेष्ठ चार सय मिटर हडल्समा तेस्रो भएकी थिइन्।

यो नै गण्डकीको एथलेटिक्स टोलीले प्राप्त गरेका नजिता हुन्। आफ्नै प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदमा थप पदक जित्नुपर्ने दबाव खेलाडी र प्रशिक्षकसँगै खेलकुद निकायलाई पनि छ। ‘नवौंको लागि ट्रेनिङ समूहमा भइसकेको छैन। १/२ जनालाई  ट्रेनिङ गराइराखेको छु,’नेपाल एथलेटिक्स संघका केन्द्रीय सदस्य गजबहादुर गुरुङले भने,‘प्रशिक्षण गर्ने स्थान खुला नभएकाले सिन्थेटिक ट्य्राकमा  ट्रेनिङ गराउन सकिएको छैन।’

उनका अनुसार ट्य्राक हस्तान्तरणपछि मात्रै आवश्यक ट्रेनिङ सुरु गरिनेछ। ट्य्राक हस्तान्तरण भइसकेका छैन। कन्ट्रक्सन कम्पनीका स्थानीय प्रोजेक्ट म्यानेजर बरालले ट्य्राक दुई वर्ष अघि नै अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघ (आइएएएफ)ले प्रमाणित गरेर सर्टिफिकेट दिइसकेको बताए।

‘१३औं सागको समयमा आइएएएफले जाँच गरेर प्रमाणित गरेर सर्टिफिकेट दिइसकेको छ,’बरालले भने। आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता नेपालगञ्जमा आयोजना हुँदा पोखरा रंगशाला फुटबल मैदान र ट्य्राक निर्माणको क्रममा थियो। निर्माणको साढे तीन वर्ष पुग्यो। तर, निर्माण पूर्ण रूपमा सकिएको छैन। प्यारापिट पूर्ण भएका छैनन्।

२० हजार क्षमतामध्ये १६ हजार पाँच सय तयार छ। लाइटिङको काम पनि बाँकी छ। निर्माण पूरा नहुँदा पोखरालाई भने एथलेटिक्समा पदक जितेर इतिहास लेख्न चुनौती छ। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले निर्माण गरिएको नयाँ ट्य्राकमै ट्रेनिङ सुरु गरिने बताए। ‘राखेपबाट प्राविधिक एवं कर्मचारीको टोलीले भएका पूर्वाधार अनुगमन र निरीक्षण गर्न आएका छैनन्। अनुगमन र निरीक्षणपछि मात्रै निर्णय हुन्छ,’उनले भने।  

प्रकाशित: १५ वैशाख २०७९ ०५:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App