१६ चैत्र २०८० शुक्रबार
खेल

‘लिभरपुललाई हराउन सक्षम छौं’

अभ्यासका क्रममा भियारियालका खेलाडी। तस्बिरः एएफपी

स्पेनिस ला लिगाको क्लब भियारियालका कप्तान ड्यानी पारेजोले आफ्नो टोली इङलिस प्रिमियर लिग क्लब लिभरपुललाई हराउँदै च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाउन सक्षम रहेको बताएका छन्।

दोस्रो सेमिफाइनलमा बुधबार भियारियालले लिभरपुलको सामना गर्र्दै छ। अन्तिम १६ मा इटालियन सिरी ‘ए’ क्लब युभेन्टसलाई हराएको भियारियालले क्वार्टरफाइनलमा पनि जर्मन जायन्ट तथा बुन्डेसलिगा महारथी बायर्न म्युनिखलाई स्तब्ध पारेको थियो। त्यसैले बुधबार आमनेसामने हुँदा भियारियाल ६ पटकको विजेता र यस सिजन उपाधि दाबेदार टोलीलाई निरास पार्न चाहन्छ। भियारियाल जारी सिजन ला लिगामा सातौं स्थानमा छ। युरोपका नकआउट प्रतियोगितामा भने भियारियालले आफूलाई प्रमाणित गर्दै आएको छ।

भियारियालले गत सिजन म्यानचेस्टर युनाइटेडलाई हराउँदै युरोपा कपको उपाधि जितेको थियो। ‘हामी पूर्ण रूपमा विश्वस्त छौं की एन्फिल्डमा बुधबार हुने सेमिफाइनलमा हामी विजयी हुनेछौं,’पारेजोले भने, ‘हामीले सेमिफाइनल प्रवेशसम्म शीर्ष टोलीलाई निराश पारिसकेका छौं। हामीले शीर्ष टोलीलाई निराश पारेको यो सिजनमा मात्र होइन। गत सिजन पनि हामीले युरोपा लिग जित्ने क्रममा युरोपका राम्राराम्रा टोलीलाई हराएका थियौं। टोलीमा क्षमतावान् खेलाडी छन् र हामीले धैर्यता अपनाउनुपर्छ। हाम्रो सफलताको सुत्र भनेकै टिम वर्क हो।’

भियारियालका प्रशिक्षक युनेइ इरिमेले भने लिभरपुल बलियो टोली रहेको बताए। ‘लिभरपुल बलियो टोली हो। तथापि, हामी उनीहरूलाई हराउन सक्षम छौं,’भियारियालका प्रशिक्षक युनेइ इरिमेले भने, ‘हामी हाम्रो सुखद यात्राको अन्त्य चाहदैनौं। हामी यो उत्कृष्ट लयको निरन्तरता चाहन्छौं ।’ इमिरेले आफूहरूले पछिल्ला दुई चरण अन्तिम १६ र क्वार्टरफाइनलमा युभेन्टस र बायर्न म्युनिखलाई निरासा पारेकाले पनि लिभरपुलमाथि आफूहरू हाबी हुने उल्लेख गरे।

‘लिरभपुलले सम्भवत् हाम्रो क्षमता थाहा पाइसकेको छ र हामीलाई कमजोर टोलीको रूपमा लिने गल्ती गर्ने छैन होला,’इमिरेले भने, ‘हामी राम्रो खेल्दै यहाँसम्म आएका हौं ।’ आर्सनलको प्रशिक्षक रहँदा इमिरेले दुई पटक एन्फिल्डको भ्रमण गरेका थिए। उनको टोलीले क्रमशः ५–१ र ३–१ को नतिजा सुम्पिएको थियो। ‘एन्फिल्डमा लिभरपुल सधैँ उत्कृष्ट लयमा रहन्छ,’इमिरेले भने, ‘लिभरपुल पछिल्ला केही सिजनयता उत्कृष्ट लयमा छ। लिभरपुल र हामीबीचको सेमिफाइनल भिडन्त रोमाञ्चक हुनेछ र हामी उपाधि संघारमा पुग्छाैँ भन्नेमा विश्वस्त छु ।’

प्रकाशित: १४ वैशाख २०७९ ०३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App