coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

एपिएफको लगातार दोस्रो जित

विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले बुधबार सुदूरपश्चिम प्रदेशमाथि ६ विकेटको जित निकाल्दै जारी ललितपुर मेयर महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो सफलता प्राप्त गर्दा लुम्बिनी प्रदेशले ललितपुर मेयर्स–११ माथि २ रनको रोमाञ्चक जित रच्यो।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा बुधबार सम्पन्न दिनको पहिलो खेलमा एपिएफले सफलता प्राप्त गर्दै लगातार दोस्रो जित निकालेको हो। पहिलो खेलमा एपिएफले प्रदेश–१ लाई ६ विकेटले हराएको थियो।

सुदूर पश्चिमले भने दोस्रो खेलमा हार बेहोर्‍यो। ९० रनको झीनो लक्ष्य एपिएफले १६.५ ओभरमा चार विकेट गुमाएर पूरा गरेपछि सुदूर दोस्रो खेलमा हार बेहोर्न बाध्य भयो। एपिएफकी रोमा थापा सर्वाधिक २३ रनमा अविजित रहिन्। प्रदेश–१ विरुद्ध पनि अविजित रोमाले २३ बलमा तीन चौका प्रहार गरिन्। ममता चौधरी १४ रनमा अविजित रहँदै रोमालाई साथ दिइन्।

त्यसअघि ओपनर ज्योति पाण्डे ११ रनमा रनआउट हुँदा इन्दु बर्मा १० रन, कप्तान सीता रानामगर ४ रनर सरिता मगर ९ रनमा पवेलियन फर्किए। बलिङतर्फ सुदूरपश्चिमकी ईश्वरी विष्टले दुई तथा रितु कनोजियाले एक विकेट लिए।

त्यस अघि टस जितेर ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभरमा अलआउट हुँदा ८९ रन मात्र जोड्यो। सुदूरकी कविता कुवँरले सर्वाधिक १८ रन बनाउँदा विन्दु रावल र डोली भट्टले समान ११ रन जोडे। अन्य ब्याटर भने दोहोरो अंकमा रन बटुल्न असफल रहे। सुदूर पश्चिमलाई सस्तैमा समेट्न एपिएफकी सोनु खड्काले तीन विकेट लिइन् ।

कप्तान सीता र करुणा भण्डारी २/२ विकेट निकाले। करुणाले चार ओभरमा एक मेडन राख्दै १४ रन खर्चिइन्। राजमती ऐरीको नाममा एक विकेट रह्यो। एपिएफले तेस्रो खेल शुक्रबार लुम्बिनी प्रदेशसँग खेल्दा सुदूरपश्चिमले तेस्रो खेलमा शुक्रबार नै प्रदेश–१ विरुद्ध चुनौती प्रस्तुत गर्दै छ।

दिनको दोस्रो खेलमा लुम्बिनीले ललितपुर मर्यस–११ माथि दुई रनको रोमाञ्चक जित निकाल्यो। ९५ रनको मध्यम लक्ष्य पछ्याएको मेयर्स–११ ले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ९२ रन मात्र जोड्न सक्यो। जितका लागि मेयर–११ लाई अन्तिम ओभरमा ७ रन आवश्यक थियो।

तर, लुम्बिनीकी अनुभवी बलर नेरी थापाले दोस्रो, तेस्रो र चौथो बलमा विकेट लिँदै चार रन मात्र खर्चदै जित दिलाइन्। मेयर्स–११ का कञ्चन श्रेष्ठले सर्वाधिक २२ रन बनाउँदा अस्मिना कर्माचार्य २० रनमा अविजित रहे। लुम्बिनीकी नेरीले चार ओभरमा एक मेडनसहित चार विकेट लिँदा ८ रन मात्र खर्चिन्। कृतिका मरासिनीले तीन तथा सुस्मिता भुषालले दुई विकेट आफ्नो नाममा लेखाए। त्यस अघि टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ओभर खेल्दै चार विकेट गुमाएर ९४ रन बनायो।

११–२ को स्थितिबाट लुम्बिनीले तेस्रो विकेटका लागि सम्हालिएको प्रदर्शन गर्‍यो।  कप्तान सरस्वती जिएमले सर्वाधिक ३१ रनको इनिङ खेल्दा नेरी १५ रनमा शीला क्षेत्रीको बलमा बोल्ड भइन्। सरस्वती पुन २० रनमा अविजित रहँदा अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन्। मेयरको बलिङमा सुमन खतिवडाले सर्वाधिक तीन विकेट लिँदा शीलाको नाममा एक विकेट रह्यो।

प्रकाशित: १२ फाल्गुन २०७८ ०३:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App