७ वैशाख २०८१ शुक्रबार
खेल

एपिएफको सुखद सुरुआत

पश्चिम प्रदेश र सशस्त्र प्रहरी बलको एपिएफले मंगलबादेखि सुरु ललिपुर मेयर महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।

ललितपुर मेयर्स–११ माथि ५८ रनको फराकिलो जित निकाल्दै सुदूरले मंगलबादेखि सुरु ललितपुर मेयर महिला ट्वान्टी–२० क्रिकेटमा विजयी सुरुआत गर्दा एपिएफले भने रुविना क्षेत्रीको कप्तानीमा रहेको प्रदेश–१ माथि ६ विकेटको सहज जित रच्यो। बिर्सनलायक ब्याटिङ गरेको प्रदेश–१ का लागि सबनम राईले अलराउन्ड प्रदर्शन गरेपनि टोलीलाई हारबाट जोगाउन सकिनन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानमा प्रदेश–१ ले दिएको ५८ रनको झीनो लक्ष्य एपिएफले ११.४ ओभरमा मात्र चार विकेटको क्षतिमा पूरा गर्‍यो। एपिएफकी ओपनर ज्योति पाण्डेले सर्वाधिक २३ रन बनाइन्।

२७ बलमा चार चौका प्रहार गरेकी ज्योति सबनमद्वारा क्याच आउट भइन्। तर, रोमा थापाले १५ रनको अविजित इनिङ खेल्दै जित दिलाइन्। प्रदेश–१ ले ११ रन अतिरिक्त खर्चिंदा एपिएफको जित सहज बन्यो। एपिएफकी ओपनर राजमती ऐरी ४ रन र  महत्त्वपूर्ण ब्याटर कप्तान सीता रानामगर १ रनमै पवेलियन फर्किए। सबनमले इन्दु बर्मालाई १ रनमा नै आउट गरिन्। प्रदेश–१ को बलिङमा सबनम राईले तीन ओभरमा दुई विकेट लिँदै १४ रन मात्र बेहोरिन्। हेरमायी रोय र कप्तान रुविनाले समान एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको प्रदेश–१ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ५७ रन मात्र जोड्यो। प्रदेश–१ की सबनम राईले मात्र दोहोरो अंकमा रन जोड्न सकिन्। उनले १४ बलमा दुई चौकासहित नटआउट १६ रनको इनिङ खेलिन्। 

अन्यले भने सम्झनलायक प्रदर्शन गर्न सकेनन्। प्रदेश–१ लाई सस्तैमा समेट्न एपिएफकी करुणा भण्डारीले तीन विकेट लिइन्। चार ओभर बलिङ गर्दा करुणाले तीन मेडन राख्दै ५ रन खर्चिइन्। राजमती ऐरीले दुई विकेट लिँदा रेखा रावल र सुमन विष्टले समान एक विकेट आफ्नो नाममा लेखाए।

टियु मैदानमा भएको उद्घाटन खेलमा १ सय ४४ रनको लक्ष्य पछ्याएको मेयर्स–११ ले निर्धारित ओभरमा सात विकेट गुमाउँदा ८५ रन जोड्न सक्यो।

मेयर्स–११ का लागि सरस्वती चौधरीले सर्वाधिक २६ रन जोड्दा साना प्रविनले १५ रन र कञ्चन श्रेष्ठले १० रनबाहेक अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्। किफायती बलिङ गरेको सुदूर पश्चिमकी लक्ष्मी साउदले सर्वाधिक तीन र कविता कुवँरले दुई विकेट लिए। चार ओभर बलिङ गरेकी कविताले एक मेडनसहित ५ रन खर्चिइन्। ईश्वरी विष्ट र सम्झना खड्काको नाममा समान एक विकेट रह्यो। त्यस अघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले पूरै ओभर खेल्दै पाँच विकेटको क्षतिमा १ सय ४३ रन जोडेको थियो।

सुदूर पश्चिमकी कप्तान रितु कनौजियाले सर्वाधिक ४२ रन बनाइन्। रितुले २९ बल खेल्दा ६ चौका प्रहार गरिन्। रेवती ढकालले २९, विन्दु रावलले २८ तथा डोली भट्टले २५ रन जोडे। मेयर्स–११ की खुसी डंगोलले दुई विकेट तथा अनुराधा चौधरी, आरती बिडारी र अस्मिना कर्मचार्यले १/१ विकेट लिए। 

बुधबार पहिलो खेल एपिएफ र सुदूर पश्चिम तथा दोस्रो खेल ललितपुर मेयर्स–११ र लुम्बिनी प्रदेशबीच हुनेछ। पाँच टोली सहभागी प्रतियोगिता राउन्ड रोविन लिगमा भइरहेको छ। शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। 

प्रकाशित: ११ फाल्गुन २०७८ ०२:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App