९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

नेपालको विश्वकप क्रिकेट खेल्ने सपना अधुरै, तेस्रो स्थानका लागि ओमानसँग खेल्ने

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै रहेको छ। आइसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोटको सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेटस (युएई)सँग पराजित भएसँगै नेपाल विश्वकप खेल्नबाट चुकेको हो। नेपाल युएईसँग ६८ रनले पराजित भएको छ।

ओमानको मस्कटस्थित क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनायो। एक सय ७६ रनको विजय लक्ष्य पछ्याएको नेपालले १८ दशमलव चार ओभरमा सवै विकेट गुमाउँदै एक सय सात रन मात्र बनाउन सक्यो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन बनाए। यस्तै, ज्ञानेन्द्र मल्लले २०, आरिफ शेखले ११, विवेक यादवले ८, कुशल भुर्तेलले ७, जीतेन्द्र मुखियाले ५, कमलसिंह ऐरीले ४ र कप्तान सन्दीप लामिछानेले ४ रन बनाए। बलिङतर्फ युएईका अहमद राजाले ५, जुनैद सिद्दिकीले ३ तथा कशिफ दाउद र रोहन मुस्तफाले एक एक विकेट लिए।

यसअघि युएईका लागि मुहमद वासिमले ७० रनको अर्धशतकीय पारी खेलेका थिए। उनले ४८ बल खेल्ने क्रममा चार चौका र चार छक्का हाने। यस्तै भृत्य अरविन्दले ४६, मुहमद उस्मानले १७, जवार फारिदले ११, रोहन मुस्तफाले ९ रन र अहमद राजाले ६ रन बनाए। बलिङतर्फ नेपालका जीतेन्द्र मुखिया र अविनाश बोहराले तीन तीन तथा सन्दीप लामिछानेले एक विकेट लिए। नेपालले तेस्रो स्थानका लागि बिहीबार ओमानसँग खेल्नेछ। जारी प्रतियोगिताबाट युएई र आयरलैण्ड अष्ट्रेलियामा आयोजना हुने विश्वकप क्रिकेटका लागि छनोट भएका छन्। आयरलैण्डले आजै सम्पन्न दोस्रो सेमिफाइनलमा ओमानलाई ५६ रनले पराजित गरेको थियो।

प्रकाशित: १० फाल्गुन २०७८ १४:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App