८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

शीर्ष चारबाट बाहिरियो युनाइटेड

बर्नलीसँग बराबरीमा चित्त बुझाएको म्यानचेस्टर युनाइटेड प्रिमियर लिग फुटबल तालिकाको शीर्ष चारबाट बाहिरिएको दिन मंगलबार वेस्ट ह्यामले वाटफोर्ड युनाइटेडमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै शीर्ष चारमा स्थान बनाउँदा एर्भटन न्युक्यासल युनाइटेडसँग ३–१ ले पराजित भएको छ।

१२औं मिनेटमा अग्रता लिए पनि भिडियो सहायक रेफ्री (भिएआर)ले उल्टाउँदा स्तब्ध भएको युनाइटेडले १८औं मिनेटमा लिएको अग्रतालाई कायम राख्न सकेन। टोली बर्नलीसँग बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो। बर्नलीले दोस्रो हाफमा सम्हालिएको प्रदर्शन गर्दै घरेलु मैदानमा अंक बाँडेको हो। १२औं मिनेटमा राफायल भरानले गोल गरे पनि भिएआरले अफसाइडको संकेत दिँदा निर्णय उल्टिएको थियो।

दबाब दिएर खेलेको युनाइटेडले १८औं मिनेटमा पाउल पोग्बाको गोलबाट अग्रता बुन्न सफल भएको थियो। लुका शअले उपलब्ध गराएको पासमा पोग्बाले गोल गर्दै आतिथ्यता गरेको टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि पनि दबाब दिएर बर्नलीविरुद्ध खेलेको युनाटेडले पहिलो हाफमा केही राम्रा अवसर खेर फाल्यो।

दोस्रो हाफमा भने बर्नलीले सम्हालिएको प्रदर्शन ग¥यो। दोस्रो हाफको दोस्रो मिनेटमा जो रोड्रिग्वेजले गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएका थिए। त्यसपछि बाँकी समयमा दुवै टोलीले स्पष्ट अंकका लागि खेले पनि गोल भने गर्न असफल रहे। घरेलु मैदानको फाइदा उठाउँदै दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको बर्नलीले अन्तिमतिर दबाब दिएर खेले पनि गोल गर्न भने असफल भएको थियो।

बराबरीसँगै युनाइटेडले २३ खेलमा ३९ अंक जोडेको छ। युनाइटेड पाँचौं स्थानमा झरेको छ भने बर्नली १४ अंक जोडेर पुछारमा छ।

बराबरीसँगै युनाइटेडले प्रिमियर लिग तालिकाको शीर्ष चारभित्र अटाउने अवसर गुमाएको हो। युनाइटेडलाई उछिन्दै शीर्ष चारमा उक्लिएको वेस्ट ह्यामले मंगलबारकै खेलमा वाटफोर्डमाथि १–० को रोमाञ्चक जित निकाल्न सफल भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा वेस्ट ह्यामले ६८औं मिनेटमा गरेको गोल स्पष्ट तीन अंकका लागि पर्याप्त भएको थियो। जारोड बाओनले निर्णायक गोल गरेका थिए।

प्रिमियर लिग फुटबलअन्तर्गत मंगलबारकै अर्को खेलमा एभर्टनले न्युक्यासल युनाइटेडसँग ३–१ को लज्जास्पद हार बेहोरेको छ। एफए कपमा सुखद नतिजा निकाल्दै अन्तिम १६ मा स्थान बनाउँदा फ्रान्क लाम्पार्डलाई मिलेको सफलताले प्रिमियर लिगमा निरन्तरता पाएन। सेन्ट जेम्स पार्कमा मंगलबार घरेलु टोलीको जितमा रायन फ्रासेर र काइरन ट्रिपिएरले गोल गर्दा एक गोल उपहार मिलेको थियो। एभर्टनले ३६औं मिनेटमा जमाल लासेलेसको आत्मघाती गोलबाट सुरुआती अग्रता लिएको थियो।

लगत्तै ३७औं मिनेटमा मासन होल्गेटले आत्मघाती गोल गरेपछि पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो। ५६औं मिनेटमा रायन फ्रासेरले गोल गर्दै न्युक्यासललाई २–१ को अग्रता दिलाएको खेलको ८०औं मिनेटमा काइरन ट्रिपिएरले फ्रिकिकमार्फत गोल गर्दै न्युक्यासलको जित पक्का गरेका थिए। ट्रिपिएर न्युक्यासलका लागि सिजनमा पहिलो गोल गर्न सफल भएका हुन्। फ्रान्क लाम्पार्डको प्रशिक्षणमा एभर्टनले दोस्रो खेल खेल्दा पहिलो हार भोगेको हो।

‘यो हाम्रा लागि निकै ठूलो सफलता हो। जितपछि हामीले रेलिगेसन क्षेत्रबाट बच्ने संघर्ष हाललाई पार गरेका छौं। फुटबलमा अप्रत्याशित नतिजा निकाल्नु नौलो होइन,’ न्युक्यासलका प्रशिक्षक इडिड हाउवेले भने।

उता पराजित टोली एभर्टनका प्रशिक्षक लाम्पार्डले कठिन अवस्थाबाट अंक जोड्न कठिन हुने बताए।  

‘खेलमा अंक सुम्पिनु राम्रो होइन। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा टोलीले अघिल्लो खेलमा जस्तो अपेक्षाअनुसारको खेल प्रदर्शन गर्न सकेन,’ लाम्पार्डले भने, ‘लिगमा अझै खेल बाँकी छन्। एक खेलमा अंक गुमाउँदै लिग समाप्त भएको छैन। सम्मानजनक स्थानमा पुग्नका लागि आगामी खेल टोलीका लागि निकै महत्वपूर्ण चाहिँ छ।’

लिगमा लगातारका चार खेलमा जित निकालेको न्युक्यासलले रेलिगेसन क्षेत्रभन्दा एक स्थान माथि २ अंकको अग्रता बनाएको छ। न्युक्यासल २२ खेलबाट १८ अंक जोडेर १७औं स्थानमा रहेको हो। पराजित एभर्टन २१ खेलबाट १९ अंक जोडेर १६औं स्थानमा छ।

प्रकाशित: २७ माघ २०७८ ०२:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App