८ वैशाख २०८१ शनिबार
खेल

अस्ट्रेलिया २४ वर्षपछि पाकिस्तान जाने

क्रिकेट अस्ट्रेलिया (सिए) ले २४ वर्षपछि पाकिस्तानको पहिलो भ्रमण गर्ने भएको छ। सिएले शुक्रबार तीन टेस्ट शृंखला, तीन एकदिवसीय र एक ट्वान्टी–२० शृंखला का लागि पाकिस्तान भ्रमण गर्न लागेको पुष्टि गरेको हो। अस्ट्रेलियाले पछिल्लो पटक सन् १९९८ मा पाकिस्तान भ्रमण गरेको थियो। त्यसयता अस्ट्रेलियाले सुरक्षा चासो देखाउँदै पाकिस्तान भ्रमणको प्रस्ताव अस्वीकार गर्दै आएको छ।

पाकिस्तान भ्रमणदौरान अस्ट्रेलियाले मार्च ४ देखि ८ सम्म रावलपिन्डीमा पहिलो टेस्ट, मार्च १२ देखि १६ सम्म कराचीमा दोस्रो टेस्ट र मार्च २१ देखि २५ सम्म तेस्रो टेस्ट खेल्नेछ।

त्यस्तै अस्ट्रेलियाले मार्च २९ मा लाहोरमा पहिलो एकदिवसीय खेल खेल्नेछ भने मार्च ३१ मा रावलपिन्डीमा दोस्रो एकदिवसीय खेल खेल्नेछ। तेस्रो एकदिवसीय खेल रावलपिन्डीमै अप्रिल २ मा हुनेछ। अप्रिल ५ मा रावलपिन्डीमै एक मात्र ट्वान्टी–२० खेलको शृंखला हुनेछ।

अस्ट्रेलियाले गत महिना मात्र इङ्ल्यान्डविरुद्धको एसेस शृंखला ४–० ले जितेको थियो। ‘हामीले २४ वर्षपछि पहिलो पटक पाकिस्तानको भ्रमण गर्दै छाैँ। यो ऐतिहासिक क्षण हो,’ क्रिकेट अस्ट्रेलियाका सिइओ निक हक्लेले भने। गत वर्ष इङ्ल्यान्ड र न्युजिल्यान्डले सुरक्षा चुनौती देखाउँदै पाकिस्तान भ्रमण रद्द गरेका थिए ।

सन् २००९ मा लाहोरमा श्रीलंकन टेस्ट टोलीमाथि भएको आतंककारी हमलापछि पाकिस्तानले धेरैजसो खेल युएईमा खेल्दै आएको छ। सन् २०१५ पछि मात्र विदेशी टोलीले पाकिस्तान भ्रमण गर्न सुरु गरेका थिए। ‘आशा छ अस्ट्रेलिया र पाकिस्तानबीचको शृंखला उत्साहजनक हुनेछ,’ हक्लेले भने।

प्रकाशित: २२ माघ २०७८ ०३:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App