१६ चैत्र २०८० शुक्रबार
खेल

च्याम्पियन्स लिग सपना पूरा गर्दै फ्रेइबर्ग

एससी फ्रेइबर्गले यस सिजन जर्मन बुन्डेसलिगामा गरेको प्रदर्शनले सबैलाई चकित पार्दै आएको छ। क्रिस्टियन स्ट्रेइचको टोलीले च्याम्पियन्स लिग खेल्ने सपना नबुनेको होइन। तर फ्रेइबर्ग क्लब इतिहासमै पहिलो पटक च्याम्पियन्स लिग खेल्ने सपना साकार पार्ने दाउमा रहेको छ।

पछिल्लो केही सिजनयता फ्रेइबर्ग बुन्डेसलिगा तालिकाको मध्य स्थानमा बस्दै आएको थियो। सन् २०१४–१५ सिजन बुन्डेसलिगाबाट घटुवामा पर्‍यो। तर एक सिजनपछि नै टोली बुन्डेसलिगामा फर्कियो।

स्ट्रेइचले फ्रेइबर्गको प्रशिक्षण सम्हालेको दशक भइसकेको छ। उनी बुन्डेसलिगाको कुनै पनि एक क्लबलाई धेरै समय प्रशिक्षण दिने एक्ला प्रशिक्षक हुन्।

उनकै प्रशिक्षणमा टोली बुन्डेसलिगाको शीर्ष चारमा बस्दै च्याम्पियन्स लिग खेल्ने सपना साकार पार्ने लक्ष्यमा अघि बढिरहेको छ। फ्रेइबर्ग २० खेलमा ३३ अंकसहित बुन्डसलिगाको पाँचौं स्थानमा छ। जुन चौथो स्थानको युनियन बर्लिनभन्दा एक र तेस्रो स्थानको वायर लेभरकुसेनभन्दा दुई अंक कम हो।

‘हाम्रो च्याम्पियन्स लिगमा छनोट हुने सपना साकार भयो भने सारा सहरले खुसीयाली मनाउँछ होला,’ कप्तान क्रिस्टियन ग्युन्टरले भने, ‘क्लबले अहिलेसम्म च्याम्पियन्स लिग खेलेको छैन। तर हामीले त्यसका लागि अझ धेरै मेहनत गर्न बाँकी छ।’ ग्युन्टर सधैं बिहान ८ः४५ मा अभ्यासका लागि जाने गर्छन्। उनले रक्षापंक्तिमा गरेको उत्कृष्ट प्रदर्शनले उनले सात वर्षपछि नोभेम्बरमा जर्मनीको राष्ट्रिय टोलीमा स्थान बनाएका थिए।

फ्रेइबर्गले आफ्ना उत्कृष्ट खेलाडीलाई क्लबमा जोगाइराख्न भने सधैं संघर्ष गर्दै आएको छ। सन् २०२० मा पनि जर्मन रक्षक रोबिन कोच फ्रेइबर्गबाट इङ्लिस प्रिमियर लिगको क्लब लिड्स युनाइटेड गएका थिए।

‘करिब १० वर्षअघि हामी युरोपा लिगमा छनोट भएका थियाैँ, त्यस लगत्तै पाँच प्रमुख खेलाडीले क्लब छोडे,’ क्लबका खेलकुद निर्देशक केल्मेन्स हार्थेनबाचले भने, ‘हामीले मेहनत जारी राख्यांै र अहिले हामी आफ्नो सपना पूरा गर्ने संघारमा पुगेका छौं।’

‘हामी धेरै सम्भावना बोकेको टोली हाैँ,’ ग्युन्टरले भने, ‘हाम्रो मनोबल बढेको छ। सबैले च्याम्पियन्स लिग सपना बोकेका छन् र सबै जित्न चाहन्छन्। हामी हार मान्ने पक्षमा छैनौं।’ फ्रेइबर्गमा नाम चलेका कुनै स्टार खेलाडी छैनन् तर पनि उसले लिगका सुरुआती १० खेलमा अपराजित यात्रा कायम राखेको थियो। नोभेम्बरमा बायर्न म्युनिखले फ्रेइबर्गको अपराजित यात्रामा पूर्णविराम लगाएको थियो।

विश्रामअघिको अन्तिम खेलमा बायर लेभरकुसेनलाई हराउन सके फ्रेइबर्ग तेस्रो स्थानमा उक्लिनेछ। ‘टोलीले हात पार्ने सबै जित हाम्रा लागि सुखद रहँदै आएको छ,’ सन् २०१३ मा बायर्नबाट फ्रेइबर्ग आएका स्ट्राइकर निल्स पिटरसनले भने, ‘हामी अहिले प्रत्येक क्षण रमाइरहेका छौं। हामी सफलताको थप उचाइमा पुग्न चाहन्छौं। तर हामी टोलीले कतै स्वाभाविक लय गुमाउने हो कि भन्ने डरमा छौं।’

फ्रेइबर्गले आगामी खेलमा कोलोग्न, मेइन्ज, औसबर्ग र हर्था बर्लिनसँग खेल्नेछ। त्यसैले यो खेलतालिकाले पनि फ्रेइबर्गको शीर्ष चार सम्भावना थप बलियो पार्न सक्छ। ‘सम्भवतः हामी युरोपियन फुटबलको नक्सामा देखिँदैनाैँ होला,’ हार्थेनबाचले भने, ‘आशा छ, अब हामी पनि माथि आउँछाैँ होला।’

प्रकाशित: १५ माघ २०७८ ०३:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App