coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

आहा–रारा गोल्डकपः एपिएफ १४ वर्षपछि फाइनलमा

एपिएफका डिफेन्डर अडामा डम्बिया, राजन गुरुङ बल क्लियर गर्ने प्रयासमा । तस्बिर: उमेश पुन/नागरिक

सशस्त्र प्रहरी बलको एपिएफ क्लव पोखरामा जारी आहारारा गोल्डकपको उपाधि नजिक पुगेको छ। पोखरा रंगशालामा बुधबार भएको खेलमा सहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा रहेको मच्छिन्द्र क्लवलाई ३–१ गोल अन्तरले स्तब्ध पार्दै एपिएफ फाइनलमा प्रवेश गरेको हो।  

एफिएफ आहारारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको यो दोश्रो पटक हो। १४ वर्ष अघि एफिएफ फाइनलमा पुगेपनि उपाधि जित्न सकेको थिएन। २०६४ सालमा पहिलो पटक फाइनलमा पुगेको एपिएफ त्यसबेला नेपाल पुलिस क्लवसँग २–० ले पराजित भएपछि उपबिजेतामा सिमित भएको थियो।

लिगमा अपराजित मच्छिन्द्र पोखरामा भने एपिएफ क्लवसँग ३–१ ले स्तब्ध भएसँगै उसको अपराजित यात्रा टुंगिएको छ। यद्दपी लिगको अपराजित यात्रा भने जारी रहनेछ। पहिलो हाफमा १–१ को बराबरी भएपनि दोश्रो हाफमा १० खेलाडीमा सिमित मच्छिन्द्रले थप २ गोल खायो।

खेलको २३ औं मिनेटमा डिफेन्डर सनिस श्रेष्ठको गोलमा एपिएफले अग्रता लिएको थियो। मिड फिल्डर मणी लामाले मैदानको बायाँ साइडबाट हानेको फ्रिकिक प्रहारलाई उनले हेडर गोल गरे। १–० ले पछि परेपछि मच्छिन्द्रले थप आक्रामक रणनीति अपनायो। जसको नतिजा स्वरुप खेलको ४० औं मिनेटमा उसले बराबरी गोल फर्कायो। मच्छिन्द्रका लागि विदेशी खेलाडी ओमोलाजा नुरेन करिमले बराबरी गोल गरे। विदेशी खेलाडी मेसुके एटिग्नी ओलुमोको फ्रिकक प्रहारमा उनले सजिलै जाली चुमाए।

दोश्रो हाफको ६८ औं मिनेटमा प्रदीप लामाले गोल गर्दै एपिएफलाई अग्रता दिलाए। उनले क्याप्टेन नवीन लामाको क्रस पासमा फष्र्टबार च्यापेर हानेको प्रहार सिधै गोलमा परिणत भयो।

खेलको ७१ औं मिनेटमा मच्छिन्द्र १० खेलाडीमा सिमित भयो। मच्छिन्द्रका विदेशी खेलाडी करीम दोहोरो पहेंलो कार्डसहित रातो कार्ड पाएपछि मैदानबाट बाहिरिए। रेफ्री कविन्द्र ब्यञ्जनकारको निर्णयबिरुद्ध आपत्ति जनाउँदै डेढ बल प्रहार गरेपछि उनलाई रेफ्री ब्यञ्जनकारले पहेंलो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए।

मच्छिन्द्रमाथि लगातार दबाब दिएको एपिएफले दोश्रो हाफको ईञ्जुरी समयको अन्तिम मिनेटमा तेश्रो गोल गर्दै जित सुनिश्चित ग¥यो। एफिएफका लागि क्याप्टेन नवीन लामाले तेश्रो गोल गरे। आभास लामिछानेले प्रहार गरेको बल बिपक्षी गोलकिपर सूर्य अधिकारीबाट रिबाउण्ड भएको अवस्थामा उनले सहजै गोलपोष्टको दिशा दिए।

जितपछि पोष्ट म्याच कन्फरेन्समा बोल्दै एपिएफ क्लवका प्रशिक्षक कुमार थापाले बलियो मच्छिन्द्रलाई हराउन पाउँदा आफु हर्षित भएको बताए। ‘टफ टिमसँग टफ गेम भएर जित्नु ठुलो कुरा हो, यसले हामीलाई थप हौसला दिएको छ’उनले भने।

पराजित टिमका प्रशिक्षक प्रवेश कट्वालले पहिलो रोजाइको खेलाडी नहुनु, भएका खेलाडीपनि घाइते अवस्थामा खेलाउन बाध्य हुँदा नतिजा आफ्नो पक्षमा नआएको बताए। ‘राष्ट्रिय टिममा परेका खेलाडीलाई लामो समय क्लोज क्याम्पमा राख्दा त्यसको असर क्लवको खेलमा परिरहेको छ । आजको नतिजापनि त्यसैको परिणाम हो,’ उनले भने।

एपिएफले अब उपाधिका लागि मनाङमस्र्याङ्दी क्लव र त्रिभूवन आर्मी क्लवबीचको बिजेतासँग माघ १५ गते शनिबार फाइनल खेल्नेछ। आहारारा गोल्डको दोश्रो तथा अन्तिम सेमीफाइनल खेलमा विहीबार मनाङ र आर्मी आमनेसामने हुनेछन् ।

प्रकाशित: १२ माघ २०७८ १३:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App