१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

विश्व नम्बर दुई मेदभेदेभ अन्तिम आठमा

रिसमा देखिएका ड्यानिल मेदभेदेभले अमेरिकन प्रतिद्वन्द्वी म्याक्सिमे क्रेसीसँग चौथो सेटसम्मको संघर्षपश्चात् सोमबार अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा स्थान बनाएका छन्।

विश्व नम्बर दुई रसियन स्टार मेदभेदेभको ढाँडमा समस्या भएपछि मेडिकल ‘टाइम आउट’ लिने क्रममा उनी अम्पायरसँग रुष्ट भएका थिए। यद्यपि, केही असहज महसुस गरे पनि मेदभेदेभले मार्गरेट कोर्ट एरिनामा म्याक्सिमेविरुद्ध ६–२, ७–६ (७–४), ६–७ (४–७) र ७–५ को जित निकाले।

तीन घन्टा ३० मिनेटको संघर्षपश्चात् उनले लगातार दोस्रो पटक मेलबर्नमा क्वार्टरफाइनलको यात्रा तय गरे। उनले क्वार्टरफाइनलमा छैटौं वरीयता प्राप्त क्यानडाका फेलिक्स अगेर एलियासिमेविरुद्ध खेल्नेछन्। फेलिक्सले क्रोएसियाका मरिन सिलिचलाई हराउँदै अन्तिम आठमा स्थान बनाएका हुन्।

‘केही कुराले म रिसाएको थिएँ। कहिलेकाहि म आजको भन्दा बढि रिसाउँछु। तर, मैले आफूलाई समालेका कारण जित्न सफल भएँ। केही पक्षमा सुधार गर्नुपर्ने थियो, जहाँ मलाई सफलता पनि मिल्यो,’मेदभेदेभले भने, ‘केही पक्षले गर्दा मैले राम्रो प्रदर्शन गर्न सकिनँ।

त्यसैले आजको खेलप्रति सन्तुष्ट छैन।’ शीर्ष वरीयताका खेलाडी नोभाक जोकोभिचलाई अस्ट्रेलियाले डिपोर्ट गरेपछि यस प्रतियोगिताका सबैभन्दा शीर्ष वरीयताका खेलाडी मेदभेदेभ खेल अगावै रिसाएका थिए। रड लाभेर एरिना खेल भए पनि उनले दोस्रो रोजाइका कोर्टमा खेल्नु परेको थियो। ब्रेक पोइन्टको अवस्थामा लाइनमै प्रहार गर्ने म्याक्सिमेको क्षमताका बाबजुद पनि मेदभेदेभले सफलता पाए।

‘आज म भाग्यमानी पनि रहेँ। उनले लाइनमै सशक्त प्रहार गर्थे। यसले गर्दा मलाई थप रिस उठिरहेको थियो,’मेदभेदेभले भने, ‘मैले खेल अवधिभर यसबारे कुरा गरिरहें। तर, उनीबारे भने केही भनेको थिइनँ। यद्यपि, मैले यो भाग्यको कुरा हो भनेको चाहिँ थिएँ।’ म्याक्सिमेले सर्भ गर्न ढिलाइ गरेकाले उनी फेरि अम्पायरसँग रिसाए। अन्तिम सेटको ब्रेक पोइन्टमा पनि उनी लगातार असफल हुन पुगे। ‘कुनै ब्रेक पोइन्टमा मैले निकै खराब प्रदर्शन गरें। मैले त्योभन्दा राम्रो प्रदर्शन गर्न सक्थेँ, तर सोस्तरको प्रदर्शन हुन सकेन,’मेदभेदेभले भने, ‘उनले कयौं पटक मलाई खेल आफ्नो बनाउने अवसर दिए पनि सदुपयोग गर्न सकिनँ।’

म्याक्सिमेले कयौं कठिन सर्भ गरेपछि मेदभेदेभ वर्षको पहिलो ग्रान्ड स्लामबाट टाढिने भय पनि सिर्जना भएको थियो। तर, म्याक्सिमेले पनि गल्ती गर्न पुगे र जसको फाइदा मेदभेदेभले पाए। मेलबर्नमा दुवै खेलाडीलाई खेल्नका लागि सहज भने भएन। दुवै खेलाडीले फिजियो सहायता लिँदै खेललाई अगाडि बढाए। मेदभेदेभ गत वर्षको अस्ट्रेलियन ओपनको उपविजेतासमेत हुन्। उनलाई नोभाक जोकोभिचले हराउँदै २०औं पटक ग्रान्ड स्लामको सफलता पाएका थिए। गत वर्षको अन्त्यमा युएस ओपन जितेका मेदभेदेभ लगातार दोस्रो ग्रान्ड स्लाम उचाल्ने लक्ष्यमा छन्।

प्रकाशित: ११ माघ २०७८ ०३:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App