१६ चैत्र २०८० शुक्रबार
खेल

चेल्सी र लिभरपुललाई सफलता

बल खोस्ने क्रममा टोटेनह्यामका लुकास मौरा (सेतो) र चेल्सीका हाकिम जिएच। तस्बिरः नागरिक

प्रिमियर लिग तालिकामा सातौं स्थानको टोटेनह्याममाथि २–० को सानदार जित निकाल्दै चेल्सीले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग अग्रता घटाउँदा अर्को खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–१ ले पराजित गरेको छ।

चिर परिचित प्रतिद्वन्द्वी टोटेनह्याममाथि जित निकाल्दा चेल्सीले शीर्ष चारमा अटाउने सम्भावनालाई जीवन्तसमेत राखेको छ। उता पराजित भएपछि टोटेनह्यामको शीर्ष चारभित्र अटाउने लक्ष्यमा धक्का लागेको छ। घरेलु मैदानमा स्तब्ध भएको टोटेनह्यामले जित निकालेको अवस्थामा टोली शीर्ष चारमा फर्किने सम्भावना थियो। प्रिमियर लिगकै अर्को खेलमा आर्सनल र बर्नलीले गोलरहित बराबरी खेल्दै अंक बाँड्दा आर्सनललाई पनि शीर्ष चारमा अटाउने होडमा धक्का लागेको छ।

टोटेनह्यामको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। चेल्सीले दोस्रो हाफअन्तर्गत ९ मिनेटको अन्तरमा दुई गोल गर्दै टोलीको जित पक्का गरेको थियो। त्यसो त पहिलो हाफमा ह्यारी केनले पाहुना टोलीका लागि गोल गरे पनि भिएआरले सिल्भामाथि फाउल भएको विवादास्पद निर्णय दिँदा गोल अमान्य भएको थियो।

४७औं मिनेटमा हाकिम जिएचले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए। जिएचले कालम हड्सन ओडोईको पासमा सुन्दर गोल गर्दै टोलीको खाता खोलेका थिए। ५५औं मिनेटमा भेट्रान डिफेन्डर थियागो सिल्भाले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे। मेसन माउन्टको पासमा उनी हेडर गोल गर्न सफल भए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन र चेल्सीले टोटेनह्यामको मैदानमा सानदार तीन अंक खोस्न सफल भयो।

जितसँगै तेस्रो स्थानमा रहेको चेल्सीको २४ खेलबाट ४७ अंक पुगेको छ। चेल्सी शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग १० अंकले तथा दोस्रो स्थानको लिभरपुलसँग १ अंकले पछि छ। सिटीले एक तथा लिभरपुलले २ खेल कम खेलेका छन्। पराजित टोटेनह्याम २० खेलबाट ३६ अंक जोडेर सातौं स्थानमा रहेको छ।

प्रिमियर लिगकै अर्को खेलमा लिभरपुलले घरेलु टोली क्रिस्टल प्यालेसलाई ३–१ ले पराजित गर्दै शीर्ष स्थानको सिटीसँगको अन्तर घटाएको छ। लिभरपुलको जितमा भर्जिल भान डाइक, एलेक्स अक्सलेड चेम्बरलिन र फाबिन्होले गोल गरे। घरेलु टोलीका ओड्सोनी इडुआर्डले एक गोल फर्काए।

आठौं मिनेटमा भान डाइकको गोलबाट लिभरपुलले सुरुआती अग्रता बुनेको थियो। एन्ड्य्रु रोबर्टसनको पासमा भान डाइकले गोल गरेका थिए। ३२औं मिनेटमा चेम्बरलिनले रोबर्टसनकै पासमा गोल गर्दै लिभरपुललाई पहिलो हाफमा २–० को अग्रता दिलाए। ५५औं मिनेटमा ओड्सोनी इडुआर्डले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए पनि हाबी भएको लिभरपुलका लागि ८९औं मिनेटमा फाबिन्होले पेनाल्टीमा गोल गर्दै ३–१ ले जित पक्का गरे।

जितसँगै लिभरपुलको २२ खेलबाट ४८ अंक पुगेको छ। एक खेल बढी खेलेको शीर्ष स्थानको सिटीको ५७ अंक छ भने लिभरपुल सिटीसँग ९ अंकले पछि छ। पराजित क्रिस्टल प्यालेस २२ खेलबाट २४ अंक जोडेर १३औं स्थानमा छ।

क्रिस्टल प्यालेसलाई हराएपछि लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले समीकरण रहिन्जेलसम्म आफ्नो लक्ष्य उपाधि रहेको बताए।

‘आजको खेल निकै रोमाञ्चक बन्यो। घरेलु टोलीलाई दबाब दिएर अंक जोड्न सक्यौं। आगामी दिनमा पनि हाम्रो लक्ष्य यस्तै रहेको छ,’ लिभरपुलका प्रशिक्षक क्लोपले भने, ‘आजको खेलले प्रतिद्वन्द्वीअनुसारको फुटबल प्रदर्शन गर्न सक्छौं भन्ने सन्देश दिन सकेका छौं। समीकरण रहुन्जेल लक्ष्य उपाधिको हो। हामी उपाधि लक्ष्यलाई निरन्तरता दिन चाहन्छौं।’

यस्तै प्रिमियर लिगकै अर्को खेलमा लेस्टर सिटी र ब्राइटनले १–१ गोलको बराबरी खेल्दा आर्सनल र बर्नलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

प्रकाशित: ११ माघ २०७८ ०२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App