८ वैशाख २०८१ शनिबार
खेल

टेलरद्वारा फिक्सिङ गरेको स्वीकार

जिम्बाब्वे क्रिकेट टोलीका पूर्वकप्तान ब्रेन्डन टेलरले सोमबार ब्ल्याकमेलका कारण आफूले म्याच फिक्सरबाट पैसा लिएको स्वीकार गरेका छन्।

सन् २०१९ मा भारत भ्रमणका क्रममा कोकिनको प्रयोग गरेको गोप्य भिडियो सार्वजनिक गरिदिने भन्दै ब्लाकमेलमा परेका कारण आफूले अन्तर्राष्ट्रिय खेलमा म्याच फिक्सिङ गर्नुपरेको स्वीकार गरेका हुन्।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आफूमाथि बहु वर्षको प्रतिबन्ध लगाउने तयारी गर्नुपूर्व उनले विज्ञप्ति जारी गरेको बताएका छन्। ती फिक्सरबाट आफूले १५ हजार डलर लिएको र त्यसबाहेक अन्य कुनै पनि खेलमा फिक्सिङ नगरेको समेत प्रस्ट्याएका छन्। ३५ वर्षे ब्याट्सम्यानले गत वर्ष मात्र अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए।

सन् २०१९ को अक्टोबरमा एक प्रायोजनबारे छलफलका लागि टेलरलाई भारत बोलाइएको थियो। सोही दौरान व्यापारीसँगको रात्रिभोजमा उनलाई कोकिन दिइएको थियो र त्यही बेला गोप्य भिडियो खिचेर आफूलाई फिक्सरले ब्ल्याकमेल गरेको उनको भनाइ छ। ‘त्यस दिन बिहानै म बसेको होटलमा एक जना मानिस आए।

उनले त्यो भिडियो देखाउँदै यदि मैले म्याच फिक्सिङ गरिनँ भने भिडियो सार्वजनिक गर्ने धम्की दिए,’ टेलरले खुलासा गरेका छन्। उनले ती फिक्सरबाट १५ हजार डलर लिएको र त्यो रकम फिक्स डिपोजिटमा राखेको समेत बताएका छन्।

टेलरले आइसिसीलाई त्यो घटनाबारे जानकारी गराउन चार महिना लगाएका थिए। जुन आइसिसीको नियमविपरीत र भ्रष्टाचार ठहर हुने उनले स्विकारेका छन्। साथै उनले आइसिसीद्वारा उनीमाथि लगाएको प्रतिबन्ध पनि स्वीकार गरेका छन्।

आफूले क्रिकेटरलाई सचेत गराउने तवरले मात्र यो घटना सार्वजनिक गरेको उनको भनाइ छ। ‘मेरो घटना सबै क्रिकेटरका लागि शिक्षा बनोस्। यदि यस्तो अवस्था सिर्जना हुनसाथ उनीहरूले आइसिसीलाई जानकारी दिऊन् भन्ने आशाले यो कुरा बाहिर ल्याएको हुँ,’ उनले भनेका छन्।

टेलरले आपूmमा सकारात्मक परिवर्तन ल्याउन र जीवन स्वच्छ बनाउनका लागि मंगलबार नै रिहाबिलिटेसन सेन्टर (पुनर्वास केन्द्र) मा जाने बताएका छन्। ‘मैले जीवनलाई सकारात्मक सोचमा परिवर्तन गर्न आवश्यक छ। यो घटनाबाट परिवारलाई पनि स्वच्छ बनाउनुपर्छ।

एक खराब पदार्थको प्रयोगले मेरो जीवनमै खराब बनाइदियो,’ उनले भने, ‘मेरो स्वच्छ जीवनलाई प्राथमिकतामा राखेर अघि बढ्नेछु। मानसिक स्वास्थ्यका लागि पछिल्ला समय औषधि प्रयोग गरिरहेको छु। किनकि ड्रग्स र नसालु पदार्थलाई जीवनलाई नर्कजस्तै बनाइदियो।’

टेलरले १७ वर्षे अन्तर्राष्ट्रिय करियरमा जिम्बाब्वेबाट ३४ टेस्ट, २०५ एकदिवसीय र ४५ ट्वान्टी–२० क्रिकेट खेलेका छन्। उनले सन् २००२ देखि २०२१ सम्म जिम्बाब्वेको राष्ट्रिय टोलीबाट खेलेका थिए। यसबीच इङ्ल्यान्डमा काउन्टी क्रिकेट खेल्न उनले सन् २०१५ मा तीन वर्षको अन्तर्राष्ट्रिय विश्राम पनि लिएका थिए। इङ्ल्यान्ड जानुअगाडि उनी सन् २०११ देखि जिम्बाब्वेका कप्तानसमेत रहे। उनी जिम्बाब्वेबाट टेस्ट क्रिकेटमा सर्वाधिक धेरै रन बनाउने क्रिकेटर पनि हुन्।

एकदिवसीयमा भने उनी दोस्रो स्थानमा छन्। जिम्बाब्वेका पूर्वप्रशिक्षक हेल्थ स्ट्रिकलाई सबैखाले क्रिकेटबाट आठ वर्षको प्रतिबन्ध लगाएपछि टेलर पनि त्यो सूचीमा परेका हुन्। स्ट्रिकमाथि पनि भ्रष्टाचारको आरोप लागेको थियो।

फिक्सिङ कान्डमा मुछिएका भारतीय व्यापारीसँग स्ट्रिकको सम्बन्ध देखिएपछि उनीमाथि पनि प्रतिबन्ध लागेको हो। क्रिकेटमा सट्टेबाजी गर्ने ती व्यापारीले स्ट्रिककी पत्नीलाई आइफोन दिएको र स्ट्रिक आफैँ पनि बिटकोन्समा मुछिएका थिए।

प्रकाशित: ११ माघ २०७८ ०२:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App