८ वैशाख २०८१ शनिबार
खेल

२०औं आहा रारा गोल्डकप पुलिसलाई रोक्दै मनाङ सेमिफाइनलमा

नेपाल पुलिस क्लबलाई पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लब २०औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाइनलमा पुगेको छ। पोखरा रंगशाला फुटबल मैदानमा आइतबार मनाङ पुलिसलाई २–० ले पराजित गर्दै अन्तिम चारमा पुगेकोे हो। पुलिस भने आहाको यो संस्करणको दोस्रो खेलबाटै बिदा लिन पुग्यो। दुवै टोली आहा राराका समान उपाधि च्याम्पियन हुन्। दुवैले ६÷६ पटक उपाधि उचालेका छन्। दुई वर्षअघि फाइनलमा मनाङले पुलिसलाई पराजित गर्दै उपाधि उचालेको हो।  

गोलरहित पहिलो हाफ टुंगिँदा दोस्रो हाफ अझ प्रभावकारी बन्ने अपेक्षा थियो। दोस्रो हाफमा मनाङले केही राम्रा मुभ बनायो। खेलको उत्तरार्धमा मनाङले गोल निकाल्यो। अजित भण्डारीको अक्षम्य गल्तीको फाइदा उठाउँदै रूपेश केसीले मनाङलाई अग्रता दिलाए। हेमन्त श्रेष्ठले अजित भण्डारीलाई ब्याक पास दिए। पासलाई अजित भण्डारीले रूपेशलाई छलाएर क्लियर गर्न खोजे। तर दुर्भाग्य बल ओलावाले अफिजले कलेक्ट गर्दै रूपेशलाई दिए। रूपेशले उत्कृट भली हिर्काउँदै टोलीलाई अग्रता दिलाए। रूपेशले ६४औं मिनेटमा गोल गरेका थिए।  

दोस्रो गोल ओलावाले अफिजले गरे। उनले पनि भोला सिलवालको गल्तीको फाइदा उठाए। भोलाले बललाई आफ्नो नियन्त्रणमा राख्न नसक्दा मैदानको मध्यभागबाट खोसेर अजित भण्डारीलाई बिट गर्दै अफिजले ८७औं मिनेटमा गोल गरेपछि मनाङको सेमिफाइनल सुरक्षित बन्यो। पुलिस उपाधि होडबाट एक वर्ष पछि धकेलियो। एक गोल र एक असिस्ट गरेका अफिज प्लेयर अफ दी म्याच घोषित भए। पुलिस भेट्रान खेलाडी जुमानु राईको कप्तानीमा मैदान उत्रिएको थियो। पोखराको मैदान मनाङका लागि कतार एयरवेज ‘ए’ डिभिजन लिगको घरेलु मैदानसमेत हो।  

‘फरवार्ड राम्रा भएनन्। मनाङ राम्रो टिम थियो। बराबरी गर्दै खेल टुंग्याउने योजनामा थियौं,’ पुलिसका प्रशिक्षक अनन्त थापाले भने, ‘डिफेन्सको गल्तीमा गोल खायौं। त्यसले नै हार्‍यौं।’ मनाङका प्रशिक्षक तोपे फुजाले भने पोखराको मैदानमा धेरै उपाधि जित्ने लक्ष्यमा रहेको बताए। ‘हामीले फस्ट हाफ पुलिसको गेम हेर्‍यौं। आक्रामक खेलेनौं,’ प्रशिक्षक फुजाले भने,‘दोस्रो हाफमा रणनीति बनायौं। सफल भयौं। पोखराको मैदानमा हामी च्याम्पियन बन्न चाहन्छौं।’

पहिलो हाफमा दुवै टोलीले खासै मुभ बनाएनन्। अवसर खासै सृजना गरेनन्। २७औं मिनेटमा पुलिसका विङ्गर रवि पासवानले एकल प्रयास गरे। तर उनको प्रयास गोलपोस्टभन्दा धेरै टाढा भयो। ३१औं मिनेटमा मनाङले पेनाल्टी बक्सबाहिर फ्रिकिकको अवसर पायो। फ्रिकिकलाई राजेश परियारले पुलिसका गोलकिपरकै हातमा थमाइदिए।  

६८औं मिनेटमा मनाङले अग्रता दोब्बर बनाउने अवसरलाई गुमायो। ओलावालेको एकल प्रयासलाई पुलिसका गोलकिपरले बचाउ गरे। रिबाउन्ड बललाई पुलिसका डिफेन्सले क्लियर गर्न प्रहार गर्दा बल ओलावालेकै खुट्टामा पर्‍यो। ओलावालेले विमल रानालाई पेनाल्टी बक्सभित्र पास दिए। विमलको प्रहार डिफेन्सबाट रिफ्लेक्ट भयो। रिफ्लेक्ट बललाई विमलले राजेश परियारलाई ब्याक पास दिए। पासलाई राजेशरले बाहिर फाले। ८३औं मिनेटमा रवि पासवानको क्रस पासलाई जुमानु राईले ‘क्विक किक’ गर्न चुक्दा पुलिस बराबरी गोलको अवसरबाट वञ्चित भयो।  

लगत्तै ८४औं मिनेटमा ओलावाले अफिजको पासलाई अशोक थापामगरले हानेको प्रहार पुलिसका गोलकिपरले बचाए। रिबाउन्ड बललाई अशोकले पछाडि रहेका राजेशलाई ब्याक हेड पास दिए। राजेशको प्रहार अकासियो। इन्जुरी समयमा पाएको फ्रिकिकलाई जुमानु राईले पोस्टभन्दा धेरै टाढा हिर्काए। हिमश्री फुड्सको प्रायोजन तथा सहारा क्लबको आयोजनामा सञ्चालित गोल्डकपअन्तर्गत सोमबार डिफेन्डिङ च्याम्पियन संकटा क्लबले ‘ए’ डिभिजन लिग लिडर मच्छिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: १० माघ २०७८ ०४:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App