coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

विन्टर ओलम्पिकमा नेपाल सहभागी नहुने

चीनमा हुने विन्टर ओलम्पिक–२०२२ मा नेपाल सहभागी नहुने भएको छ। विन्टर ओलम्पिकमा सहभागी हुन प्रत्येक मुलुकबाट खेलाडी प्रतिस्पर्धामार्फत छनोट हुनुपर्छ तर नेपालबाट कुनै पनि खेलाडी छनोट भएका छैनन्। यसैकारण नेपाल विन्टर ओलम्पिकमा सहभागी नहुने भएको हो।

‘नेपालबाट कुनै पनि खेलाडी विन्टर ओलम्पिकका लागि क्वालिफाइड भएका छैनन्, खेलाडी छनोट नभएको मुलुकले औपचारिक रूपमा सहभागी हुने स्थिति हुँदैन,’ नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले भने। खेलाडी सहभागी नहुने भएपछि ओलम्पिक कमिटीले सरकारलाई निमन्त्रणा नगर्ने भएकाले सरकारी निकाय पनि सहभागी नहुने उनले बताए। ओलम्पिक कमिटीले निमन्त्रणा नगरे पनि कहिलेकाहीं आयोजक मुलुकको सरकारका तर्फबाट निमन्त्रणा हुन सक्ने उनले बताए।  

सरोकारवाला युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता विष्णुराज ढकालले पनि खेलाडी छनोट नभएका कारण नेपाल विन्टर ओलम्पिकमा सहभागी नहुने बताए। ‘नेपालबाट सहभागी हुने खेलाडीको टिम नै नबनेकाले सहभागी नहुने अवस्था आएको हो,’ ढकालले भने।

प्राविधिक कारणले नेपाल सहभागी नहुने भएकाले यसलाई नेपालले बहिष्कार गरेको भन्न नमिल्ने उनले बताए। अमेरिकासहित कतिपय पश्चिमी मुलुकले चीनमा फ्रेबुअरी ४ देखि सुरु हुने विन्टर ओलम्पिक बहिष्कार गर्ने जनाएका छन्। अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, लुथानिया र कोसोभोले चीनमा हुने विन्टर ओलम्पिकलाई कूटनीतिक रूपमा बहिष्कार गर्ने घोषणा गरेका छन्। ती मुलुकबाट औपचारिक रूपमा मन्त्री वा सरकारी अधिकारीले ओलम्पिकमा सहभागी नहुने भए पनि खेलाडी भने प्रतिस्पर्धाका लागि चीन जाने छन्। 

अमेरिकाले चीनले आफ्नो मुलुकमा रहेका विगुर स्लाम समुदायमाथि दमन गरिरहेको कारण देखाउँदैै विन्टर ओलम्पिक बहिष्कार घोषणा गरेको हो। जापानले पनि चीनमा हुने विन्टर ओलम्पिकमा कुनै पनि मन्त्रीलाई नपठाउने जनाएको छ। युरोपेली संघले पनि सहभागी नहुन समान धारणा बनाउने प्रयास गरिरहेको छ। फ्रान्स भने यसको विपक्षमा रहेको छ।

प्रकाशित: १० माघ २०७८ ०१:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App