coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

क्लोपले गरे जोटाको प्रशंसा

आर्सनलमाथि २–० को जितसहित बिहीबार इङ्लिस लिग कपको फाइनलमा स्थान बनाएसँगै लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले डिएगो जोटालाई विश्वस्तरीय खेलाडीको संज्ञा दिएका छन्।

वेम्बलीमा सम्पन्न सेमिफाइनल दोस्रो लेगमा हात पारेको जितपछि लिभरपुलले चेल्सीसँगको फाइनल भेट पक्का गरेको हो। फाइनल खेल फेब्रुअरी २७ मा हुनेछ।

गत साता घरेलु मैदान एन्फिल्डमा सम्पन्न पहिलो लेगमा भने लिभरपुल १० खेलाडीमा सीमित आर्सनलसँँग गोलरहित बराबरीमा रोकिएको थियो।

मोहम्मद सलाहा र साडियो माने अफ्रिका कप अफ नेसन्सका कारण टोलीमा नहुँदा जोटाले आफ्नो महत्व पुनः प्रमाणित गरेका हुन्।

‘हामीले आज दुई उत्कृष्ट गोल गर्‍याैँ, डिएगो जोटा उच्च लयमा छन्। उनको उपस्थितिले टोलीमा सधैं विशेष अर्थ राख्छ,’ क्लोपले भने, ‘एन्फिल्ड आएपछि उनले आफ्नो क्षमतालाई प्रमाणित गर्दै लगेका छन्।’

लिभरपुलले पछिल्लो पटक सन् २०१२ मा लिग कपको उपाधि जितेको थियो। सन् २०१६ पछि लिभरपुल पहिलो पटक लिग कपको फाइनल प्रवेश गरेको हो। लिभरपुल नवौं पटक लिग कपको उपाधि जित्ने लक्ष्यमा रहेको छ।

सन् २०१५ मा क्लोपले प्रशिक्षण सम्हालेपछि लिभरपुल कुनै पनि प्रतियोगिताको फाइनल प्रवेश गरेको यो पाँचाैँ पटक हो। ‘हामी उच्च लयमा छौं। खेलाडीहरूले रणनीतिअनुसारको प्रदर्शन गरे,’ क्लोपले भने, ‘पहिलो हाफमा हाम्रो तुलनामा आर्सनलले उत्कृष्ट प्रदर्शन गर्‍यो।’

९०औं मिनटमा थोमस पार्टे दोसो पहेंलो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि आर्सनलले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो।

‘हामी निराश छौं, तर हामीले बलियो टोलीलाई कठिन चुनौती दियौं। हामीले दुवै हाफमा गोलको अवसर पाए पनि त्यसको सदुपयोग भने गर्न सकेनाैँ,’ आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले भने, ‘हामीले सुधारिएको प्रदर्शन गर्न आवश्यक छ।’

इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार आर्सनल र टोटेनह्यामबीचको खेल रद्द भएको थियो। १९औं मिनेटमा जोटाले गरेको गोलमा लिभरपुलले अग्रता लियो। जोटाले ट्रेन्ट एलेक्जेन्डर अर्नोल्डको पासलाई पोस्टको दिशा दिएका थिए।

मध्यान्तरलगत्तेै आर्सनलले खेलमा फर्कने सुनौलो अवसर पाए पनि त्यसको सदुपयोग भने गर्न सकेन। एलेक्जेन्डर लाकाजेट्ले गरेको प्रहार बारमाथिबाट बाहिरिएको थियो। ७७औं मिनेटमा जोटाले अर्नोल्डको पासलाई जाली चुमाउँदै लिभरपुलको अग्रता दोब्बर पारेका थिए।

तर आर्सनलले अफसाइड भन्दै अपिल गरेपछि भिडियो सहायक रेफ्री (भिएआर) पछि मात्र सो गोलले मान्यता पाएको थियो। सन् २०१५ मा क्लोपले प्रशिक्षण सम्हालेपछि लिभरपुल कुनै पनि प्रतियोगिताको फाइनल प्रवेश गरेको यो पाँचाैँ पटक हो।

प्रकाशित: ८ माघ २०७८ ०५:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App