८ वैशाख २०८१ शनिबार
खेल

तेस्रो चरणमै ओसाका असफल

डिफेन्डिङ च्याम्पियन जापानकी नाओमी ओसाका शुक्रबार अमेरिकन प्रतिद्वन्द्वी अमन्दा एनिसिमोभासँग स्तब्ध हुँदै अस्ट्रेलियन ओपनको तेस्रो चरणबाटै बाहिरिएका छन्।

विश्वको ६०औं वरीयतामा रहेकी अमन्दासँग विश्व नम्बर एक पूर्वखेलाडी ओसाका ४–६, ६–३, ७–६ (१०–५) ले स्तब्ध भएकी हुन्। अमन्दाले दुई पटक म्याच प्वाइन्ट बचाउँदै युवा स्टार ओसाकालाई तेस्रो चरणबाटै बहिर्गमनको बाटो देखाइदिइन्।

यससँगै अमन्दाले अन्तिम १६ मा उपाधिकी अर्की दाबेदारका रूपमा हेरिएकी अस्ट्रेलियन स्टार एस्लेघ बार्टीको चुनौती सामना गर्नेछिन्। यस पटक उपाधि रक्षा गर्ने अभियानमा रहेकी ओसाकालाई निराशाजनक नतिजा सामना गर्नुपरेको छ। ओसाका गत सेप्टेम्बरमा पनि युएस ओपनमा यसै चरणमा बाहिरिएकी थिइन्, जहाँबाट उनले टेनिसबाट केही समय विश्राम गरिन्।

‘आज मसँग बोल्ने कुनै शब्द छैन। म आफ्नो खुसी नै रोक्न सकिरहेको छैन,’ २० वर्षीया अमन्दाले भनिन्। यता, आयोजक राष्ट्रकी बार्टीले भने इटालियन प्रतिद्वन्द्वीमाथि सहज जित निकालिन्।

उनले ३०औं वरीयता प्राप्त क्यामिला जिओर्जीलाई ६–२ र ६–३ ले हराउँदै घरेलु भूमिमा पहिलो ग्रान्ड स्लाम जित्ने लक्ष्य जारी राखिन्। ‘आजको प्रदर्शन केही राम्रो रह्यो,’ २५ वर्षीया बार्टीले भनिन्। यस सिजन उनले मेलबर्न पार्कमा एक सेट पनि गुमाएकी छैनन्। उनीसँगै दुई पटकको विश्व च्याम्पियन भिक्टोरिया अजारेन्का पनि चौथो चरणमा प्रवेश गरेकी छन्।

२४औं वरीयतामा रहेकी अजारेन्काले १५औं वरीयता प्राप्त इलिना स्भितोलिनालाई स्तब्ध बनाउँदै विश्व टेनिसको वरीयतामा सुधारको लक्ष्य जारी राखेकी छन्। बेलारुसकी ३२ वर्षीया अजारेन्काले युक्रेनी प्रतिद्वन्द्वी इलिनामाथि ६–० र ६–२ ले सहज जित रच्दै चौथो चरणमा स्थान बनाएकी हुन्।

उनले क्वार्टरफाइनलको यात्राका लागि फ्रेन्च ओपन च्याम्पियन बारबोरा क्रेजचिकोभाको चुनौती सामना गर्नेछिन्। ‘मैले जे लक्ष्य राखेको छु, त्यो एक एक गरी प्राप्त भइरहेको छ,’ अजारेन्काले भनिन्। अजारेन्काले सन् २०१२ र २०१३ मा लगातार अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन्।

यता, बारबोराले भने सन् २०१७ को फ्रेन्च ओपन च्याम्पियन जेलिना ओस्टापेन्कोविरुद्ध संघर्षपूर्ण जित निकालेकी थिइन्। चेक रिपब्लिककी खेलाडी बारबोराले पहिलो सेट गुमाए पनि पुनरामन गरिन्। उनले पहिलो सेटमा ६–२ ले पराजय बेहोरिन्। तर, दोस्रो र तेस्रो सेट समान ६–४ ले आफ्नो पक्षमा पार्दै बारबोराले आफ्नो विजययात्रा कायमै राखिन्।

बारबोराले यो सफलतासँगै कुनै पनि क्षण हार स्वीकार नगर्ने आफ्नो प्रतिद्वन्द्वीलाई संकेतसमेत दिइन्। ‘मलाई लाग्छ आजको खेलले मेरा प्रतिद्वन्द्वी पनि मसँग केही सचेत हुनेछन्’ २६ वर्षीया बारबोराले भनेकी छन्। उनले सन् २०२१ मा अन्य तीन उपाधिको सफलता पनि प्राप्त गर्दै विश्व वरीयतामा ५०औं स्थान फड्को मारेकी थिइन्।

पाँचौं वरीयता प्राप्त मारिया साक्कारी र आठौं वरीयताकी पाउला बाडोस पनि चौथो चरणमा प्रवेश गरेका छन्। ग्रिसकी मारियाले रसियाकी भेरोनिका कुदेरमेतोभालाई ६–४ र ६–२ ले हराउँदा बाडोसाले युक्रेनकी मार्ता कोस्त्युकमाथि ६–२, ५–७ र ६–४ को संघर्षपूर्ण जित निकालिन्।

चौथो चरणमा मारियाले अमेरिकाकी जेसिका पेगुला र बाडोसाले अमेरिकाकै म्याडिसन केजविरुद्ध चुनौती प्रस्तुत गर्नेछन्। पुरुषतर्फ जर्मनका एलेक्जेन्डर भेरेभले अन्तिम १६मा स्थान बनाए। टोकियो ओलम्पिकको स्वर्ण विजेता भेरेभले माल्डोभाका राडु अलबोटलाई ६–३, ६–४ र ६–४ ले हराए। उनले आगामी चरणमा क्यानडाका डेनिसविरुद्ध खेल्नेछन्।

प्रकाशित: ८ माघ २०७८ ०५:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App