८ वैशाख २०८१ शनिबार
खेल

मच्छिन्द्रको अग्रता फराकिलो

ब्रिगेड ब्वाइज क्लब (बिबिसी) माथि ४–० को सहज जितसहित मच्छिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा फराकिलो अग्रता पारेको दिन टोलीका अधिंकाश खेलाडीमा कोभिड १९ संक्रमण पुष्टि भएपछि च्यासल युथ क्लब र नेपाल पुलिस क्लबबीचको खेल स्थगित भएको छ।

च्यासलका १९ खेलाडीमा कोभिड १९ संक्रमण पुष्टि भएपछि पुलिसविरुद्धको खेल रद्द गरिएको एन्फाले जनाएको छ।

खेलाडीमा कोभिड १९ संक्रमण पुष्टि भएर जारी लिगमा स्थगित भएको यो पहिलो खेल हो। सोमबार जावलाखेल युथ क्लब र न्युरोड टिम (एनआरटी)विरुद्धको खेलसँगै नवौं चरणका खेल सकिँदै छन्। दशौं चरणका खेल माघ २७ गतेबाट गर्ने एन्फाले जनाएको छ। यसअघि मनाङका ६ खेलाडीमा पनि कोभिड १९ संक्रमण पुष्टि भएको थियो।

सातौं चरणको समाप्तिमा शीर्ष स्थानमा बस्दै एएफसी कप छनोटको टिकट पक्का गरेको मच्छिन्द्रले नवौं चरणसम्म पनि अपराजित यात्रा कायम राखेको हो। नौ खेलमा २३ अंक जोडेको मच्छिन्द्र शीर्ष स्थानमा छ। जुन समान खेलमा १९ अंक जोड्दै दोस्रो स्थानमा बसेको मनाङ मर्स्याङ्दी क्लबभन्दा ४ अंक बढी हो।

मनाङले नवौं चरणमा शुक्रबार सातदोबाटो युथ क्लबलाई २–१ को नतिजा सुम्पिएपछि शीर्ष टोली मच्छिन्द्रसँगको अंक दूरी कम गर्ने अवसर गुमाएको थियो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न आइतबारको पहिलो खेलमा मच्छिन्द्रले बिबिसीमाथि खेलको सुरुआती मिनेटबाटै दबाबमा राखे पनि गोलका लागि भने दोस्रो हाफसम्म कुर्नुपरेको थियो।

५६औं मिनेटमा बिबिसीका गोलकिपर गुरप्रित सिंहको गम्भीर गल्तीको फाइदा उठाउँदै स्ट्राइकर विमल घर्तीमगरले मच्छिन्द्रलाई अग्रता दिलाएका थिए। गुरप्रितले बल नियन्त्रणमा लिन नसक्दा छिरिङले गरेको क्रसमा रेजिन सुब्बाले उपलब्ध गराएको पासलाई विमलले हेडर मार्फत जाली चुमाएका थिए।

६२औं मिनेटमा विमलले गरेको दोस्रो गोलमा मच्छिन्द्रले आफ्नो अग्रता दोब्बर पारेको थियो। रञ्जित धिमालको पासमा विमलले बिबिसीका रक्षक इबोई ओट्टोउलाई बिट गर्दै बललाई सहजै जाली चुमाएका थिए। त्यसको चार मिनेटपछि नै विमलले ह्याट्रिक पूरा गर्दै टोलीको अग्रता बढाउने अवसर पाए पनि त्यसको सदुपयोग भने गर्न सकेनन्। कप्तान सुजल श्रेष्ठको पासमा विमलले गरेको प्रहार बिबिसीका गोलकिपर गुरप्रितले जोगाएका थिए।

खेल सकिन ६ मिनेट बाँकी रहँदा रेजिनले गोल गर्देै मच्छिन्द्रको अग्रता ३–० मा पुरयाएका थिए। रेजिन हालै मात्र कतारमा व्यक्तिगत खर्चमा कुर्कुच्चाको सफल उपचार गराएर टोलीमा फर्किएका थिए। इन्जुरी समयमा अभिषेक रिजालले मच्छिन्द्रका लागि चौथो गोल गरेका थिए।

मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले टोलीले शीर्ष स्थानमा सहज अग्रताका साथ मध्यसिजनको अन्त्य गरेका कारण आगमी चरणमा टोलीलाई केही सहज हुने बताए।

हाम्रो अपराजित यात्रा कायम छ, कटुवालले भने, हामी लिगको अन्तिमसम्म पनि अपराजित रहँदै उपाधि रक्षा गर्न  चाहन्छौं। आज टोलीले पहिलो हाफमा पाएको अवसरको सिर्जना गर्न नसके पनि दोस्रो हाफको सुरुआतमै पाएको अवसरको सदुपयोग हुँदा टोलीले सहज जित हात पार्‍यो। बाँकी चार खेलमा पनि टोलीले यही लयको प्रदर्शन गर्नेमा म विश्वस्त छु। हामी कुनेै पनि टोलीलाई कमजोर टोलीको रूपमा लिने गल्ती गर्ने छैनौं।

यता बिबिसीका प्रशिक्षक सनोज श्रेष्ठले गोलकिपरको गल्तीमा टोलीले पहिलो गोल खाएको र त्यहाँबाट नै खेलको नतिजा मच्छिन्द्रको पक्षमा गएको बताए। ‘हामी रेलिगेसनको दबाबमा थियौं, आज हामीलाई जित आवश्यक थियो,’ सनोजले भने, ‘तर गोलकिपरले गरेको गम्भीर गल्तीमा नतिजा नै परिवर्तन भयो। हाम्रो कम्तीमा एक अंक लिने योजना सफल भएन।’ 

प्रकाशित: ३ माघ २०७८ ०३:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App