१६ चैत्र २०८० शुक्रबार
खेल

एपिएफलाई शतप्रतिशत नतिजा

विभागीय टोलीद्वय नेपाल पुलिस क्लब र एपिएफ क्लब राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

एपिएफले समूहचरणका सबै खेलमा शतप्रतिशत नतिजा निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो। मूलपानी मैदानमा समूहचरणको अन्तिम खेलमा एपिएफले लुम्बिनी प्रदेशलाई सात विकेटले पराजित गर्‍यो। टस हारेर ब्याटिङका लागि निम्त्याइएको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो। १ सय ५ रनको लक्ष्य एपिएफले ११ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो।

लुम्बिनीका लागि देव खलानले ४३, सुशान्त थापाले १८ र कृष्ण कार्कीले १३ रन बनाए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। एपिएफका कमलसिंह ऐरी, किशोर महतो, अविनाश बोहरा र दीपक बोहराले समान दुई विकेट लिए। शरद भेषावकरले एक विकेट लिए।

१ सय ५ रनको लक्ष्य पूरा गर्ने क्रममा एपिएफका आसिफ शेखले ४३ र प्रदीप ऐरीले ३६ रन बनाए। दुई जनाले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गरे। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। लुम्बिनीका बासिर अहमदले दुई र सिद्धान्त शाहीले एक विकेट लिए।

अर्को खेलमा कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनबाट नेपाल पुलिसले कर्णाली प्रदेशलाई ८९ रनले हरायो। जितसँगै नेपाल पुलिसले पनि सेमिफाइनलमा स्थान पक्का गरेको छ। उत्कृष्ट ब्याटिङ गर्ने क्रममा कुशलले ८२ र दीपेन्द्रसिंहले ६२ रन बनाएपछि नेपाल पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ४४ रन बनाएको थियो।

२ सय ४५ रनको लक्ष्य पछ्याएको कर्णालीले ९ विकेट गुमाएर १ सय ५५ रनमात्र बनाउन सक्यो। कर्णालीका लागि प्रकाश जैसीले ६८ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन्। कप्तान रवीन्द्र शाहीले १७ रन बनाउँदा दिवन पुन १७ रनमै अविजित रहे। मनीष थापा र दिनेश अधिकारीले समान १५ रन बनाए। विपिन रावलले १० रन जोडे।

शुक्रबारकै खेलमा बाग्मती प्रदेशले प्रदेश–२ माथि पाँच विकेटको जित निकाल्यो। टस जितेर ब्याटिङ गरेको प्रदेश–२ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो। १ सय ५६ रनको लक्ष्य बाग्मतीले दुई बल बाँकी हुँदा पाँच विकेट गुमाएर पूरा गर्‍यो।

प्रदेश–२ का लागि हरिशंकर साहले अविजित ५६ रन बनाए। विवेक यादवले २८ रन जोडे। हसिम अन्सारी २६ रनमा अविजित रहँदा मोहम्मद आदिल आलमले १२ र सन्तोष कार्कीले १० रन बनाए।

बाग्मतीका रिजन ढकाल र विपीन आचार्यले समान दुई विकेट लिए। प्रतीश जिसी र सुवास खत्रीले एक/एक विकेट लिए। यसअघि वाग्मती प्रदेशका लागि ईशान पाण्डेले ३२, लकी कठायतले २८, सुवास खकुरेल र ज्ञानेन्द्र मल्लले समान २० रन बनाउँदा प्रतीशले अविजित २२ रन बनाए। नन्दन यादव १५ रनमा अविजित रहे। प्रदेश–२ का जितेन्द्र यादवले दुई विकेट लिँदा प्रथिक यादव, हरिशंकर र विवेकले एक/एक विकेट लिए।

यस्तै अर्को खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले हराउँदै जारी प्रतियोगितामा दोस्रो जित निकालेको छ। पहिलो खेलमा कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरे पनि नेपाल पुलिस क्लबसँग चार विकेटको हार व्यहोरेको थियो। तेस्रो खेल हुन नसकेपछि प्रदेश– १ सँग एक–एक अंक बाँडेको थियो।

 शुक्रबारको खेलमा १ सय १६ रनको लक्ष्य आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर पूरा गरेको थियो। आर्मीका लागि हरि चौहानले ३३ रन जोड्दा विक्रम सोब २९ रनमा नटआउट रहे। सुदूरपश्चिमका आदित्य महताले सर्वाधिक ४ विकेट हात पारे।

नारायण जोशी,हेमन्त धामी र शेर मल्लले समान एक  विकेट लिए। यसअघि मूलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा सबै विकेट गुमाएर १ सय १५ रन जोडेको थियो। सुदूरपश्चिमका लागि खडक बोहराले सर्वाधिक ३७ रन जोडे। वसन्त कार्कीले ३४ रन जोड्दा अर्जुन साउदले १५ रन जोडे। आर्मीका बिक्रम सोबले ६ विकेट लिए। कुशल मल्ल, शाहब आलम र हरि चौहानको नाममा एक/एक विकेट थियो।

प्रकाशित: १ माघ २०७८ ०१:३९ शनिबार