coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

सातदोबाटोद्वारा मनाङलाई धक्का

शीर्ष स्थानमा बस्दै मध्यसिजनको अन्त्य गर्ने मनाङ मस्र्याङ्दीको लक्ष्यमा गम्भीर धक्का लागेको दिन एपिएफले भने हिमालयन शेर्पालाई हराउँदै रेलिगेसन संकट टार्ने सम्भावना बढाएको छ।

सहिद स्मारक ‘ए’ डिभिजन लिगको नवौं चरणमा मनाङ शुक्रबार सातदोबाटो क्लबसँग २–१ ले स्तब्ध भएको हो। मनाङ ९ खेलमा १९ अंकका साथ तालिकाको दोस्रो स्थानमा यथावत् छ। शीर्ष स्थानको मच्छिन्द्र फुटबल क्लब मनाङभन्दा एक अंकले अघि छ र उसले एक खेल कम खेलेको छ।

मच्छिन्द्रले नवौं चरणको खेलमा आइतबार ब्रिगेड ब्वाइजको सामना गर्दै छ। मनाङका प्रशिक्षक तोपे फुजाले टोलीका ६ खेलाडीमा कोभिड १९ संक्रमण पुष्टि भएको र त्यसले टोलीको प्रशिक्षणमा असर गरेको बताए।

‘खेलाडीमा कोभिड १९ संक्रमण पुुष्टि भएपछि हाम्रो प्रशिक्षण नै प्रभावित बनेको थियो,’ फुजाले भने, ‘त्यसको असर आज सातदोबाटोविरुद्धको खेलमा देखियो। खेलाडीहरूले मानसिक दबाब लिएर खेले। जसका कारण पहिलो हाफ हाम्रा लागि सम्झनलायक रहेन।

पहिलो हाफमै सातदोबाटोले २–० को अग्रता बनायो। खेलाडीहरूले सम्भवतः पहिलो हाफमा हामी कुन उद्देश्यका साथ मैदान उत्रिएका छांै भन्ने बिर्सिए होलान्। दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरे पनि हामी सफल भएनौं।’

फुजाले विश्रामपछि टोली थप बलियो बन्दै बाँकी रहेका ४ खेलमा शतप्रतिशत नतिजा ल्याउँदै उपाधि दाबेदारी कायम राख्ने विश्वास व्यक्त गरे।

११औं मिनेटमा मार्टिन एडेल्फोले गरेको हेडर गोलमा सातदोबाटोले अग्रता लियो। ३८औं मिनेटमा प्रशान्त अवस्थीको क्रसमा अजयी मार्टिन्सले सातदोबाटोको अग्रता दोब्बर पारे। जारी लिगमा उनको यो पाँचाैँ गोल हो।

५६औं मिनेटमा अफिज ओलाओलेको गोलमा मनाङले खेलमा फर्कने संकेत गरे पनि त्यो पर्याप्त भएन। जारी लिगमा उनको यो छैटौं गोल हो र उनी सर्वाधिक गोलकर्ताको सूचीको अग्रस्थानमा उक्लिएका छन्।

सातदोबाटोका प्रशिक्षक मेघराज केसीले टोलीले उत्कृष्ट प्रदर्शन गरेको बताए। ‘हामीले लिगमा उत्कृष्ट सुरुआत गरे पनि टोलीको प्रदर्शनमा उतारचढाव आइरहेको थियो,’ केसीले भने, ‘हामीले पहिले पनि भनेका थियौं यो नयाँ टोली हो र हाम्रां खेलाडीमा अनुभवको कमी छ।

लिगको एक दुई खेलपछि नै अन्य टोलीका लागि हामी कठिन प्रतिद्वन्द्वी बनिसकेका थियांै। हामो लक्ष्य भनेकै आफ्नो छाप छोड्ने थियो र टोली त्यसमा सफल भइरहेको छ।’ सातदोबाटोले यसअघि दोस्रो खेलमा थ्री स्टार क्लबलाई स्तब्ध पारेको थियो। सातदोबाटो ९ खेलमा १२ अंकसहित छैटांै स्थानमा उक्लिएको छ।

यसअघि शुक्रबार सम्पन्न पहिलो खेलमा हिमालयन शेर्पा क्लबलाई १–० ले पराजित गर्दैै एपिएफले रेलिगेसनबाट जोगिने सम्भावना जीवित राखेको छ।

सुरुआती तीन खेल गुमाएको एपिएफले त्यसपछिका ६ खेलमा अपराजित यात्रा कायम राख्ने क्रममा २ जित र ४ बराबरीको नतिजापछि १० अंक जोडिसकेको छ। पहिलो हाफको इन्जुरी समयमा आभास लामिछानेले नवीन लामाको कर्नरमा गरेको हेडर गोल एपिएफको जितमा पर्याप्त बन्यो। हिमालयन शेर्पामाथिको जितपछि एपिएफ नवाैँ स्थानमा उक्लिएको छ। हिमालयन शेर्पा भने समान खेलमा ११ अंकसहित सातौं स्थानमा छ।

प्रकाशित: १ माघ २०७८ ०१:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App