दुई फरक अन्तर्राष्ट्रिय अनलाइन कराते प्रतियोगिताका पदक विजेता खेलाडी सुमन तिमल्सिनालाई नेपाल गोजुरियो कराते डो संघले बुधबार सम्मान गरेको छ।
नेपाल गोजुरियो कराते डो संघ एवं एसियाली गोजुरियो कराते महासंघका महासचिव बिआर मित्र र सागा एडभेन्चर टुर्स एन्ड ट्राभल्स प्रालिका निर्देशक स्वच्छम् गुरुङले सुमनलाई खादा र प्रशंसापत्रसहित एक कार्यक्रमबीच सम्मान गरे। सुमन सागाका ब्रान्ड एम्बासडर पनि हुन्।
डिसेम्बर ३ देखि ५ तारिखसम्म सम्पन्न टोरोन्टो इन्टरनेसनल ई–काता च्याम्पियनसिपमा सुमनले स्वर्ण जितेका थिए। उनी पुरुष सिनियर एकल काताका पनि स्वर्ण विजेता हुन्। प्रतियोगिता नर्थ अमेरिका स्पोर्ट्स कराते एसोसिएन (एनएसकेए) क्यानाडाले आयोजना गरेको हो।
वल्र्ड युनियन मार्सल आर्ट्स फेडरेसन (डब्लुयुएमएफ) लन्डनको आयोजनामा सम्पन्न वल्र्ड कप कराते ई–काता च्याम्पियनसिपमा पनि सुमनले कांस्य जितेका थिए। यसै प्रतियोगितामा सुमनले पुरुष सिनियर एकल कातामै पनि प्रतिस्पर्धा गरेका थिए।
विगतमा सुमनले २०११ मा बंगलादेशमा सम्पन्न तेस्रो एसियाली कन्टिनेन्टल करातेमा स्वर्ण, २०११ मै श्रीलंकामा सम्पन्न प्रथम अन्तर्राष्ट्रिय खुला करातेमा स्वर्ण, २०१२ मा भारतमा सम्पन्न छैटौं एसियाली गोजुरियो खुला करातेमा रजत, २०१६ मा मलेसियामा भएको प्रथम एसियाली प्यासिफिक गोजुरियो कराते प्रतियोगितामा कांस्य तथा २०२१ मा जर्मनीमा सम्पन्न चेम्निज खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा समान १/१ स्वर्ण र कांस्य जितेका थिए।
सुमन भौतिक उपस्थितिमै हुने दुई अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा पनि छन्। फ्रान्समा जनवरी २१ देखि २३ तारिखसम्म हुने पेरिस ओपन कराते प्रतियोगिता तथा लन्डनमा जनवरी ३० मा हुने युरोपियन ओपन कराते प्रतियोगितामा सुमनले सहभागिता जनाउँदै छन्।
प्रकाशित: २९ पुस २०७८ ०२:५४ बिहीबार