७ वैशाख २०८१ शुक्रबार
खेल

शुक्रको अग्रता कायमै

शुक्रबहादुर राईले सूर्य नेपाल सेन्ट्रल ओपनमा दोस्रो दिन पनि आफ्नो अग्रता कायमै राखेका छन्। पार–७२ को गोकर्ण गल्फ क्लबमा बुधबार दोस्रो चरणको खेल सकिँदा शुक्रले १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता सुवास तामाङमाथि दुई स्ट्रोकको अग्रता बनाएका छन्।

सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गतको सेन्ट्रल ओपनमा शुक्रले दोस्रो दिन दुई अन्डर ७० को कार्ड बनाए। यससँगै उनले ३६ होलको समाप्तिमा सात अन्डर १ सय ३७ को कार्ड बटुलेका छन्। एमेच्योर गल्फर सुवासले दोस्रो तीन अन्डर ६९ को प्रदर्शन गर्दै दोस्रो स्थानमा उक्लिए। उनी समग्रमा पाँच अन्डर १ सय ३९ को कार्डमा छन्।

दोस्रो र तेस्रो होलमा बर्डीसहित राम्रो सुरुआत गरेका शुक्रले छैटौं होलमा इगलको सफलता पाए। त्यसपछि सातौं र आठौं होलमा बर्डी थप्दै उनले पहिलो नाइनमा ६ अन्डर ३० को सानदार सुरुआत गरे। ब्याक नाइन पनि राम्रो सुरुआत गरेका उनले दशौं होलमा बर्डीको सफलता पाए। यद्यपि, १२औं, १६औं र १७औं होलमा डबल बोगी खेप्दै उनले शीर्षताका लागि फराकिलो अग्रता बनाउने अवसर गुमाए।

अन्तिम होलमा बर्डीसहित उनी ब्याक नाइनमा चार ओभर ४० मा रहे। यता सुवासले भने दोस्रो होलमै बोगी खेपे पनि आठौं र नवौं होलमा बर्डीसहित एक अन्डर ३५ को कार्ड बनाए। ब्याक नाइनमा भने उनले दशौं र १३औं होलमा बर्डी हिर्काउँदा १५औं होलमा इगलको सफलता पाए। यद्यपि, त्यसअघि १४औं होलको सट खेर फालेका सुवासले १६औं होलमा पनि दोहोर्‍याए। यससँगै ब्याक नाइनमा उनी दुई अन्डर ३४ मा रहे।

त्यसै गरी रवि खड्का र भुवन नगरकोटी समान चार अन्डर १४० सहित संयुक्त रूपमा तेस्रो स्थानमा छन्। १२ ओभरपश्चात् कट नियम लागू हुँदा २३ प्रोफेसनल र ६ एमेच्योर गल्फरले अन्तिम चरणमा स्थान बनाए। एमेच्योरततर्फ मिथुन राई, साश्वत प्रधान, युवराज भुजेल र सन्देश खनालसहित ६ गल्फरले अन्तिम ३६ होलमा स्थान बनाए।

प्रकाशित: २९ पुस २०७८ ०२:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App