coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

दुवै पुलिसलाई दोस्रो सफलता

विभागीय टोलीद्वय नेपाल पुलिस क्लब र एपिएफले राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दा कर्णालीले प्रदेश र प्रदेश–२ ले पहिलो जित निकालेका छन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा भएको खेलमा विभागीय टोली एपिएफका लागि लोकेश बमले विस्फोटक अर्धशतकीय इनिङ खेले। लोकेशको उत्कृष्ट ब्याटिङको सहयोगमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको बाग्मती प्रदेशलाई ७ विकेटले पराजित गर्दै एपिएफले जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो। जितसँगै एपिएफ समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ। यसअघि पहिलो खेलमा एपिएफले प्रदेश–२ लाई २४ रनले पराजित गरेको थियो।

बाग्मतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै दिएको १ सय २६ रनको लक्ष्य एपिएफले १८.४ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो। अर्धशतकीय इनिङ्स खेल्दै जित दिलाएका लोकेशले २४ बलको सामना गर्दा १० चौका र १ छक्काको सहयोगमा ५० रन बनाएका थिए।

ओपनर प्रदीप ऐरी ३६ रनमा नटआउट रहँदा आशिफ शेख १२ रन, सुमित महर्जन ७ तथा सन्दीप जोरा १५ रनमा अविजित रहे। एपिएफको तीन विकेट निकाल्ने क्रममा बाग्मतीका लागि रामनरेश गिरी, प्रतीश जिसी र रिजन ढकालले समान एक विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको बाग्मतीले ओपनर ईशान पाण्डेको सर्वाधिक २९ रनको योगदान मद्दतमा १ सय २५ रन जोडेको थियो। नन्दन यादवले २४ रन जोड्दा अर्का ओपनर सुवास खकुरेलले २१ तथा आदिल खानले व्यक्तिगत १९ रनको पारी खेलेका थिए।

एपिएफका लागि अविनाश बोहराले सर्वाधिक चार विकेट लिए। यस्तै कमल ऐरीले दुई विकेट हात पार्दा, कप्तान शरद् भेषावकर र किशोर महतोको नाममा समान एक विकेट रह्यो।

कीर्तिपुर मैदानमा नै भएको मंगलबारको पहिलो खेलमा अर्को विभागीय टोली पुलिसले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मीमाथि ४ विकेटले जित निकाल्दै अपराजित यात्रालाई दोस्रो खेलमा पनि निरन्तरता दियो। पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई २ रनले पराजित गरेको पुलिसले मंगलबार उत्कृष्ट प्रदर्शन गर्दै साबिक विजेतामाथि सहज जित निकालेको हो।

आर्मीले दिएको १ सय ३८ रनको लक्ष्य पुलिसले १८ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। पुलिसका लागि कुशल भुर्तेलले २२ बलमा ३५ रन जोड्दा रासिद खानले १९ बलमा २८ रन बटुले। दिलीप नाथ २५ रनमा अविजित रहे भने अनिल साहले २२ रनको योगदान गरे। आर्मीका लागि साहब आलमले सर्वाधिक तीन विकेट हात पार्दा जितेन्द्र मुखियाले दुई र कुशल मल्लले एक विकेट आफ्नो नाममा लेखाए।

टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ओभर सकिन एक बल बाँकी छँदा सबै विकेट गुमाएर १ सय ३७ रन जोडेको थियो। कसिलो बलिङ गरेको पुलिसविरुद्ध आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक ४४ रन जोड्दा सोमपाल कामीले ४२ रनको योगदान गरे। यस्तै हरि चौहान, सुशन भारी र कुशल मल्लले समान १२ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोर अंकको स्कोर गर्न सकेनन्।

कसिलो बलिङ गरेको पुलिसका करण केसीले सर्वाधिक चार विकेट हात पारे। गुल्सन झा र योगेन्द्र सिंह कार्कीले समान दुर्ई विकेट लिँदा आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट निकाले। यस जितसँगै पुलिसले २ खेलमा ४ अंक जोडेको छ। पुलिस समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ। आर्मी २ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा छ।

प्रतियोगिताअन्तर्गत मूलपानी क्रिकेट मैदानमा मंगलबार प्रदेश–१ लाई ३१ रनले पराजित गर्दै कर्णाली प्रदेशले जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो। पहिलो खेलमा आर्मीलाई ६३ रनको नतिजा सुम्पिएको कर्णालीले १ सय २१ रनको लक्ष्य पछ्याएको प्रदेश–१ लाई ८९ रनमा रोक्दै ३१ रनको विजयी नतिजा निकालेको हो।

१७.५ ओभरमा प्रदेश–१ ले सबै विकेट गुमाउन पुगेको थियो। प्रदेश–१ का लागि फिर्दोश अन्सारीले सर्वाधिक २३ रन जोड्दा दीपेश कँडेल र श्रवण यादवले समान १५ रन बनाए पनि जितका लागि अपुग भएको थियो। कप्तान सिद्धान्त लोहनीले सर्वाधिक १४ रनको योगदान गरे। यसअघि सुरुआतमा ब्याटिङमा आएका पाँच खेलाडी दोहोरो अंक जोड्न असफल भएका थिए।

प्रदेश–१ लाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ कर्णालीका लागि अनुज चुनाराले सर्वाधिक ४ विकेट हात पारे। ३.५ ओभर बलिङ गरेका चुनाराले १६ रन खर्चिएका थिए। यस्तै दिवान पुनले दुई विकेट लिँदा दिनेश अधिकारी, प्रकाश जैसी र अनुप कुँवरले एक–एक विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २० रन जोडेको थियो। कर्णालीका लागि कप्तान रवीन्द्र शाहीले सर्वाधिक ३६ रन जोड्दा प्रकाश जैसीले २५ रन, राज शाहले १५ रन र विपिन रावलले ११ रनको योगदान गरे।

प्रदेश–१ का लागि ४ ओभर बलिङ गरेर मुकुन्द यादवले सर्वाधिक ३ विकेट लिँदै १८ रन खर्चिए। फिर्दाेश अन्सारीले दुई विकेट लिँदा कमल खत्री र सिद्धान्त लोहनीले एक–एक विकेट लिए।

यस्तै पहिलो जित निकाल्ने क्रममा प्रदेश–२ ले गण्डकी प्रदेशलाई २ विकेटले पराजित गर्‍यो। मूलपानी क्रिकेट मैदानमा मंगलबार गण्डकी प्रदेशले दिएको १ सय १७ रनको लक्ष्य प्रदेश–२ ले १८.१ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो।

पहिलो खेलमा नेपाल एपिएफ क्लबसँग २४ रनको पराजय भोगेको प्रदेश–२ ले गण्डकीविरुद्ध जित हात पार्दा कप्तान हसिम अन्सारीले सर्वाधिक २६ रन जोडे। सन्तोष कार्कीले २३, हरिकृष्ण झाले १७ रन बनाए। बलिङतर्फ गण्डकीका कृष्ण पौडेलले सर्वाधिक ३ विकेट हात पार्दा विशाल पौडेल र सुवास भण्डारीले दुई–दुई विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १६ रन जोडेको थियो। गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ४१ रनको योगदान गरे। सन्दीप क्षत्रीले २७ रन जोडे। अर्जुन र सन्दीपले चौथो विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए।

ओपनर अनिल गुरुङले १० रन जोड्दा कप्तान विपिन खत्रीले पनि समान १० रन नै जोडेका थिए भने अन्य ब्याट्सम्यान दोहोरो अंक जोड्न चुके। बलिङतर्फ प्रदेश–२ का मोहम्मद आदिल आलमले दुई विकेट लिए। राष्ट्रिय टोलीको प्रारम्भिक टोलीमा अटाएका हरिशंकर साहसँगै जितेन्द्र यादव र विवेक यादवले समान एक–एक विकेट आफ्नो नाममा लेखाए।

प्रकाशित: २८ पुस २०७८ ०३:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App