९ माघ २०७८ आइतबार
खेल

पहिलो दिन शुक्रको अग्रता

शुक्रबहादुर राईले सूर्य नेपाल सेन्ट्रल ओपनमा पहिलो दिन मंगलबार अग्रता बनाएका छन्। पार–७२ को गोकर्ण गल्फ क्लबमा मंगलबार शुक्रबहादुरले रामे मगरमाथि दुई स्ट्रोकको अग्रता बनाएका छन्। शुक्रले पाँच अन्डर ६७ बनाए।

रामेले भने तीन अन्डर ६९ को कार्डबाट प्रतियोगिताको सुरु गरे। भुवन नगरकोटी र १३औं दक्षिण एसियाली (साग)का दोहोरो स्वर्ण विजेता एमेच्योर गल्फर सुवास तामाङ संयुक्त रूपमा तेस्रो स्थानमा छन्। उनीहरू दुवैले पहिलो दिन दुई अन्डर ७० मा खेले।

तेस्रो होलमा इगल गरेका शुक्रले चौथो, छैटौं र सातौं होलमा बर्डीसहित पाँच अन्डर ३१ को कार्ड बनाए। ब्याक नाइनमा भने उनी इभन पार ३६ मा रहे। जहाँ उनले दशौं होलमा बर्डी प्रहार गरे पनि १५औं होलको सट खेर फाले।

भुवनले भने दुवै नाइनमा एक अन्डर ३५ को कार्ड बनाए। यस क्रममा भुवनले तेस्रो, छैटौं र सातौं होलमा बर्डी प्रहार गरेका थिए। त्यसअघि उनले चौथो र आठौं होलमा बोगीको सामना गर्नुपरेको थियो। ब्याक नाइनमा उनले तीन बर्डी प्रहार गर्दा दुई बोगीको सामना गरे।

एमेच्योर गल्फर सुवासले पहिलो नाइनमा तीन बर्डी र एक बोगीसहित दुई अन्डर ३४ स्कोर बटुले। ब्याक नाइनमा भने उनले १६औं होलमा होल इन वानको सफलता पाए। यसबीच सुवासले १२औं र १७औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइनमा राम्रो गर्ने संकेत गरे पनि ११औं होलको बोगी र १४औं होलको ट्रिपल बोगीका कारण इभन पार ३६ मा खुम्चिनुपर्‍यो।

सूर्य नेपाल गल्फ टुर २०२१–२२ को तेस्रो प्रतियोगिता सेन्ट्रल ओपनमा रवि खड्का पाँचौं स्थानमा अटाएका छन्। उनले पहिलो दिन एक अन्डर ७१ स्कोर गरे। इभन पारमा रहेका नीरज तामाङ छैटौं स्थानमा छन्। त्यगै गरी राजेन्द्र श्रेष्ठ प्रधान सातौं स्थानमा रहँदा सूर्यप्रसाद शर्मा र रामकृष्ण श्रेष्ठले संयुक्त रूपमा आठौं स्थान ओगटे।

राजेन्द्रले दुई ओभर ७४ मा खेले। सूर्यप्रसाद र रामकृष्ण भने तीन ओभर ७५ मा रहे। एमेच्योर गल्फर सद्भाव आचार्य र दिनेश प्रजापति संयुक्त दशौं स्थानमा रहे। दुवैले चार ओभर ७६ को कार्डबाट प्रतियोगिता सुरु गरे।

३९ प्रोफेसनल र १९ एमेच्योर गल्फरले प्रतिस्पर्धा गरेको प्रतियोगिताको विजेताले एक लाख ३५ हजार नगद प्राप्त गर्नेछन्। उपविजेताले ८८ हजार र तेस्रो स्थानले ६५ हजार पाउनेछन्। प्रतियोगितामा शीर्ष २१ गल्फरले नगद पुरस्कार पाउनेछन्। दोस्रो राउन्डपछि कट नियम लागू हुँदा २१ प्रो र ६ एमेच्योर गल्फरले अन्तिम ३६ होलका लागि स्थान बनाउनेछन्।

प्रकाशित: २८ पुस २०७८ ०९:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App