८ वैशाख २०८१ शनिबार
खेल

कर्णालीको खेल क्षेत्रको सुगन्ध 'सुनमाया'

जुम्ला पातारासी गाउँपालिका २ पेरे गाउँकी २३ बर्षिया सुनमाया बुढा अल्ट्रा ट्रेल रनर हुन्। उनको घर पुग्न पैदल चार घण्टा लाग्छ। खेतिकिसान गर्ने परिवारमा हुर्केकी सुनमायाको पहिले खेलकुद क्षेत्र तिर ध्यान थिएन। पढेलेखेर जागिर खाएर बजारमा ठुलो घर बनाएर बुवाआमालाई राख्ने धोको थियो। घरमा उत्पादित अन्तपात प्रसस्त हुन्थेन।

जब उनी नजिकैको स्कुलमा कक्ष ७ मा पढ्दै थिइन्। स्कुल स्तरीय खेलकुद आयोजना भयो। उनले दौडमा भाग लिइन्। दौडमा प्रथम भएपछि क्षेत्रीय स्तरीय खेलकुदमा छनौट भइन्। क्षेत्रीय खेलकुदमा समेत प्रथम भइन्। सुनमायाको खेलकुद क्षेत्र सुरु भयो। उनले खेलकुद क्षेत्रमै भविष्य देखिन्।  

घरपरिवारलाई खेल क्षेत्रमा लागेको पत्तो थिएन। अझैपनि सडक र ट्रयाकमा मात्र दौड्छे भन्ने ठान्थे। आमाले सानैमा पढेलेखेर हामीलाई पाल्नु भन्नु हुन्थ्यो। एकमात्र दाजु हुनुहुन्थ्यो। सुनमायाले भनिन्,‘ आमाको दुइ छोरा जन्माउने लक्ष्य थियो। तर छोरा जन्मिएनन्। ’त्यो सम्झेर सुनमायाले आमा बुबालाई सुख शान्तिपुर्वक पाल्ने सोच बनाइन्। प्रयाप्त रुपैयाँ कमाएर अघि बढ्ने सपना बुनिन्। फलस्वरुप उनले दौड्मा मेहनत गरेर हरेक इभेन्टमा किर्तिमानी कायम गरीरहेकी छिन्। 

सुनमाया तीनचार वर्षको हुँदा कुपोषण लागेर मर्ने अवस्थामा पुगेकी थिइन्। परिवारले आर्थिक अभावका कारण अस्पताल सम्म पुर्याउन सकेनन्। सुनमायाले भावुक हुदै भनिन्,‘वरिपरिका छिमेकीले सुनमाया कहिले मर्छे भन्दा साउने संक्रान्ति मनाएर मर्छु भन्थेँ रे। तर आमाले जडिबुटी औषधि गरेर निको बनाइन्। अहिले सुनमाया सिंगो नेपालको शिर उचो बनाउने खेलाडी बनिन्। यो सिंगो कर्णालीको गर्वको बिषय बनेको छ।’

सुनमाया दौडमा निकै अब्बल थिइन्। तर भाषा बोल्ने बिषयमा अन्यौल थिइन्। एसएलसी दिदादेखि नै घर परिवारले विवाह गर्नु पर्ने दवाव दिइरहेका हुन्थे। त्यो बेला उनी घरपरिवारलाई कुनै थाहा नदिएर बजार आइन्। कर्णाली स्पोर्ट क्लबमा आएर जोडिइन्। दौड अभ्यासका बारेमा कुनै योजना थिएन। एक्कासी बजार आइपुगे। विश्व किर्तिमानी धावक हरीबहादुर रोकायाको घरमा कोठा लिएर बसेँ।  एक हप्ता कलेज गए। सुनमायाले भनिन्,‘कलेज छाडेर दौड अभ्यास गर्न थाले। अहिले राष्ट्रिय अन्र्तराष्ट्रिय विभिन्न इभेन्टमा सहभागि भइसकेकी छु।’

सन् २०२१ डिसेम्बर १२ मा थाइल्याण्डको उत्तरपश्चिममा पर्ने सबैभन्दा उच्च पर्वत डोर्ड इथानन्मा सम्पन्न ११० किलोमिटको अल्ट्रा ट्रेल रेसमा महिला प्रतियोगीहरुमा विश्वमा प्रथम भइन्। कर्णाली र नेपालको नाम संसारभर चिनाएको भन्दै सबत्र चर्चा भइरहेको छ। सुनमायाको सफलताले कर्णालीवासीको गर्वले छाती फुलेको छ। बुढाले दुई हजार प्रतियोगी सहभागी रहेको सो रेसमा महिलामा प्रथम र पुरुषसहितको दौडमा तृतीय स्थान प्राप्त गरिन्।

निकै संघर्षपुर्ण तरिकाले थालिएको यो सुनमायाको खेलकुद यात्रा सफलताको शिखरमा पुगेको छ। सुनमायाको जीतले विश्व सामु कर्णालीको इतिहाज दर्ज गराउन सफल भएको छ। जीवनका कठिन कर्मले मिठो फल मिल्ने अनुभूति पाए,सुनमायाले भनिन्,‘ गाह्रो काममा मात्र नाम छ। गाह्रो कामले सिकाउने र जिताउने दुवै गर्दो रहेछ। ’ धाविका सुनमायाले  स्वदेशी तथा विदेशी खेलाडीले प्रशिक्षण लिने खालको कर्णाली हाइअल्टिच्यूड ट्रेनिङ् सेन्टरको विकासमा जोड दिन कर्णाली प्रदेश सरकारलाइ आग्रह गरिन्।

थाइल्याण्डमा ११० किलोमिटर लामो दौड जितेकी जुम्लाकी सुनमाया बुढालाई कर्णाली प्रदेश सरकार र कर्णाली खेलकुद परिषदले स्वागत गरेको छ। सुनमायालाई खेलकुद परिषदका पदाधिकारीले विमानस्थलमै पुगेर स्वागत गरे। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले सुनमायालाई भेटेर स्वागत संगै बधाइ दिए। स्वागतका क्रममा मुख्यमन्त्री शाहीले सुनमायाले खेल क्षेत्रमा गरेको प्रगतिलाई कर्णाली प्रदेश सरकारले कदर गर्ने बताए।

मुख्यमन्त्री शाहीले कर्णालीबाट प्रतिनिधित्व गर्ने खेलाडीहरूलाई प्रदेश सरकारले प्रोत्साहन बापत आर्थिक पुरस्कारको व्यवस्था गरिएको बताए। प्रदेश सरकारले सुनमायालाई दुई लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरिसकेको छ।

कर्णालीपुत्री सुनमाया बुढाले विश्वमाझ नेपालको शिर उचो बनाइन, मुख्यमन्त्री शाहीले भने,‘खेलकुद क्षेत्रको विकास र खेलाडीको प्रोत्साहनको लागि कर्णाली सरकार गंम्भीर बनेर लागेको छ। ’ नेपालमै भलिबल कभर्ड हलसहित सुर्खेतमा  एक अर्ब ७० करोड रुपैयाँकोे अत्याधुनिक रंगशाला निर्माणको कार्य तीव्ररुपमा अगाडि बढाइएको जानकारी दिए।

कर्णाली प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमालले विकट भूगोल सफलताको मानक बन्दो रहेछ भन्ने उदाहरण सुनमायाले देखाएको प्रतिक्रिया दिए। जुम्ली छोरी बुढाको योगदानको उच्च मूल्याङ्कन स्थानीय, प्रदेशसहित नेपाल सरकारले गर्नुपर्नेमा जोड दिए।  

कर्णाली प्रदेशका सदस्य सचिव विश्वामित्र सञ्ज्यालले मुख्यमन्त्री शाहीसमक्ष हरेक वर्षको ओलम्पिक दिवसमा ‘काक्रेबिहार अल्ट्रा ट्रेल रेस’ प्रतियोगिता सञ्चालन गर्ने प्रस्ताव राखे। उनले भने,‘कर्णाली क्षेत्र अल्ट्रा ट्रेल रेसको संभाव्य भूमि हो। यहाँको खेल क्षेत्रको विकास लागि प्रदेश सरकारले विशेष जोड दिनुपर्दछ।’

सुनमायाको सफलताले नेपालको नाम विश्व इतिहासमा स्वर्णीम अक्षरले लेखिने उनी बताउँछन्। सुनमाया जस्ता हिराहरु जन्माउने कर्णाली कमजोरी छैन।  खेल क्षेत्रको विकास र खेलाडीहरुको प्रोत्साहनका लागि सबै क्षेत्रबाट अपेक्षित सहयोग हुनु पर्नेमा सरोकारवालाले जोड दिएका छन्।  

कर्णालीका खेलाडीले कर्णालीको नाम लेखाउन सफल भएपनि कर्णाली सरकारले खेलकुद क्षेत्रमा लगानी गर्न नसकेको बताए। सुनमाया धावक हरीबहादुर रोकायाको प्रशिक्षार्थी हुन्। सामान्य खेलमैदानमा दौड अभ्यास गरेर कर्णालीका खेलाडी सफल भएकोमा उनले खुसी व्यक्ति गरे।

प्रकाशित: २७ पुस २०७८ ११:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App