८ वैशाख २०८१ शनिबार
खेल

युवाको साथमा पनि उत्कृष्ट सिटी

कोरोनाका कारण मुख्य प्रशिक्षक पेप ग्वार्डिओला र सात खेलाडी अनुपस्थित भएको एफए कप अन्तर्गत तेस्रो चरणको खेलमा म्यानचेस्टर सिटीले शुक्रबार स्विनडोन टाउनमाथि ४–१ को फराकिलो जित निकालेको छ।

कर्मचारी, प्रशिक्षक र खेलाडीमा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार मुख्य प्रशिक्षक र केही अनुभवी खेलाडीविना सिटी मैदान उत्रिएको थियो। यद्यपि, सानदार खेल पस्किएर सिटीले तेस्रो चरणको खेलमा सहज जित निकाल्यो। बेर्नाडो सिल्भाले १४औं मिनेटमा गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए। दबाब दिएर खेलेको सिटीका लागि गाब्रियल जिससले २८औं मिनेटमा गोल गर्दा पहिलो हाफमा सिटी २–० ले अगाडि रह्यो।

५९औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीको अग्रता ३–० को बनाउँदा ७८औं मिनेटमा स्विनडोनका ह्यारी म्याककिर्डेले गोल फर्काउँदै अन्तर घटाए। ८२औं मिनेटमा कोल पाल्मरले गोल गर्दै सिटीलाई ४–१ को अग्रतामा पुर्‍याउँदा उक्त नतिजा नै जितका लागि पर्याप्त बन्यो।

अघिल्लो साता आर्सनलविरुद्ध २–१ को जित निकाल्दा सिटीमा चार खेलाडी परिवर्तन गरिएको थियो। सिटीका १९ वर्षे युवा मिडफिल्डर कोल पाल्मरले उत्कृष्ट प्रदर्शन गरे। पेप ग्वार्डिओलाको अनुपस्थितिमा प्रशिक्षकको जिम्मेवारी सम्हालेका सहायक प्रशिक्षक रोडोल्फो बोरेलले उनै युवा खेलाडी पाल्मरको प्रदर्शनलाई खुलेर प्रशंसा गरे।

‘कोल पाल्मर सिटीका उदाउँदा खेलाडी हुन्। यद्यपि, उनमा अझै परिपक्व खेलको आवश्यकता छ तर कलियो उमेरमा देखाएको प्रदर्शन निकै प्रशंसनीय छ,’सिटीका सहायक प्रशिक्षक बोरेलले भने, ‘छिट्टै टोलीका महत्त्वपूर्ण सदस्य हुन सक्छन्। यस अघि फिल फोडेन पनि यसरी नै उदाएका थिए।

यस्तै कोलेमा पनि त्यो सम्भावना छ।’ टोलीको पहिलो रोजाइमा पर्दै उत्कृष्ट प्रदर्शन र गोल गरेका पाल्मरले खेलबाट खुसी मिलेको बताए। उनले मुख्य प्रशिक्षक टोलीमा फर्किएपछि आफूले अवसर पाउनेमा समेत विश्वास व्यक्त गरेका छन्।

‘युवा खेलाडी भएर सिनियर टोलीमा अटाउँदा केही दबाब पर्ने रहेछ। यद्यपि चुनौती सामना गर्न तयार हुनुपर्छ र म पनि तयार नै छु। साथै खेलमा रमाउनु पनि युवा खेलाडीका लागि अर्को महत्त्वपूर्ण पाटो हो,’युवा मिडफिल्डर पाल्मरले भने। 

मुख्य र अनुभवी खेलाडीविना नै मैदान उत्रिएको सिटीले बेन्चमा रहेका खेलाडी पनि उत्कृष्ट छन् भन्ने उदाहरण दिएको छ। मुख्य प्रशिक्षक ग्वार्डिओलासहित सात खेलाडी र कर्मचारी गरी कुल २० जना कोरोना संक्रमणका कारण अहिले आइसोलेसनमा छन्।

प्रकाशित: २५ पुस २०७८ ०३:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App