coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

राष्ट्रिय टोलीमा पुनरागमन लक्ष्य

हेटौंडामा २०६४ सालमा सम्पन्न जनआन्दोलन कपदौरान ढाडमा लगेको चोटपछि विक्रम लामा फुटबलबाट बिट मार्ने संघारमा पुगे।

ढाडको शल्यक्रियापछि घरमै आराम गरिरहेका विक्रमले त्यसको एक वर्षपछि नेपालमै आयोजना भएको प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका समूहचरण र सेमिफाइनल खेल घरमै टेलिभिजनमा हेरे। नेपाल ‘रातो’ र श्रीलंकाबीचको फाइनल खेल हेर्न त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुगेका विक्रमले सोचेका पनि थिएनन् कि त्यो खेलपछि पुनः आफ्नो फुटबल यात्रा सुरु गर्छु भनेर। उनले खेलजीवनलाई माया मारिसकेका थिए।

फाइनलमा नेपालले श्रीलंकालाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै उपाधि चुम्यो। नेपाली समर्थक खेलाडीसँग खुसीयाली साट्न मैदानमै प्रवेश गरे।  त्यो देख्दा विक्रमलाई लाग्यो सायद म पनि फिट भइदिएको भए, आज यही टोलीबाट विजेताको हाँसो हाँसिरहेको हुन्थें।

तर विडम्बना उनी दर्शनदीर्घामा रोएर बस्न बाध्य थिए। ‘त्यो टोलीमा मेरा धेरै सहकर्मी थिए। मैले आफू मैदानमा भइदिएको भए भनेर खेलभरि सोचिरहें,’ विक्रम भन्छन्, ‘मलाई लाग्यो ७–८ वर्षको उमेरबाट फुटबल खेल्न थालें, यसलाई नै जीवन बनाउँछु भनेर हिँडें, आज त्यही खेलबाट टाढा बस्न बाध्य छु। त्यही पलबाट मैले पुनः खेल जीवन सुरु गर्छु भन्ने अठोट गरेर घर फर्किएँ। घरमा सल्लाह गरें, कसैले पनि हुन्छ भन्नु भएन। चिकित्सकसँग परामर्श गर्दा केहीले खेल्न सक्छौ भने त केहीले मैदान नफर्कन सुझाए। तर पनि मैले फुटबलमा फर्कने अठोट गरें।

एक महिनाको हल्का अभ्यासपछि म दौडन सक्ने भएँ।  करिब ६ महिनापछि म मैदानमा फर्कन सक्ने भएँ। त्यो समयमा लिग हुने थिएन। त्यसैले उपत्यकाबाहिरका स्थानीय प्रतियोगिता खेल्न थालें।’ राजकुमार घिसिङ र जग्गु खड्काले लगनखेलमा अभ्यास हुन्छ, त्यसमा सहभागी होऊ भनेपछि विक्रमले लामो समयको अन्तरालपछि नियमित अभ्यासको अवसर पाए।  संयोग त्यही वर्ष (२०६६–६७ को) लिग हुने भयो। ‘२०६६–६७ सालको लिग मैले जावलाखेल युथ क्लबबाट खेलें। प्रायः सबै खेल मैले निर्धारित ९० मिनेट नै खेले।

प्रदर्शन पनि राम्रो भयो, म प्रतियोगिताको उत्कृष्ट मिडफिल्डर घोषित भएँ,’ ३२ वर्षे विक्रम सम्झन्छन्, ‘सो सिजन हामी लिगमा चौथो भयौं। ललित दाइ ( ललितकृष्ण श्रेष्ठ) ले बोलाएपछि म ६७–६८ का लागि थ्री स्टार क्लबमा आबद्ध भएँ। त्यस सिजन ‘ए’ डिभिजन लिग र राष्ट्रिय लिगमा टोलीले औसत प्रदर्शन गरे पनि मोफसलका प्रतियोगितामा भने हामीले एकपछि अर्को सफलता पाएका थियौं।’

२०६९ सालमा भने थ्री स्टार लिग च्याम्पियन बन्यो। विक्रम थ्री स्टारको जर्सीमा मैदान उत्रन थालेको पनि करिब १२ वर्ष भइसकेको छ। यस सिजन ‘ए’ डिभिजन लिग सुरु हुनुअघि विक्रम थ्री स्टारको यात्रालाई बिट मार्दै च्यासल युथ भित्रने खबर सार्वजनिक भएको थियो।

‘मैले थ्री स्टारको यात्रामा बिट मार्दै च्यासल युथ जाने सोचेको थिएँ र विभिन्न चरणमा छलफल पनि नभएको होइन,’ विक्रमले भने, ‘म त्यहीं हुर्किएँ र त्यहींबाट फुटबल खेल्न सुरु गरेका कारण च्यासलसँग मेरो आत्मीयता जोडिएको छ। तर मैले अन्ततः क्लबललाई कठिन अवस्थामा छोडेर जान हुँदैन भनेर थ्री स्टारमै बस्ने निधो गरें। हिजो म कठिन अवस्थामा हुँदा थ्री स्टारले मलाई अवसर दिएको थियो।  म राष्ट्रिय टोलीको जिम्मेवारीमा रहँदा खुट्टामा चोट लाग्दा पनि क्लबले मेरो सफल उपचारका लागि धेरै सहयोग गरेको थियो।

नेपाल बैंक यु–१४ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपछि विक्रमले एन्फा एकेडेमीमा आबद्ध हुने अवसर पाए। त्यसको दुई वर्ष उनले नेपालको यु–१६ र यु–१७ बाट खेले। एन्फाले रिलिज गरेपछि उनी जावलाखेल क्लबमा आबद्ध भए।  २०६३ सालको लिग उनले जावलाखेलबाट खेले। उनले लिगका थोरै खेलमा अवसर पाए तर पनि आफूलाई अब्बल साबित गर्न सफल भए। डबल लिग भएका कारण उनले करिब १२ खेल खेले। विक्रमले सन् २०१३ मा नेपाली राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए।

२०७८ सालको लिग जारी छ। थ्री स्टारको कप्तानी सम्हालिरहेका विक्रमले खुट्टाको चोटका कारण करिब एक वर्ष मैदानबाहिर बिताए। गत सिजन कोभिड १९ महामारीका कारण लिग सञ्चालन हुन सकेन। मोफसलमा पनि केही प्रतियोगिता मात्र भए। राष्ट्रिय टोलीले पनि सीमित प्रतियोगिता खेल्यो।

गत नोभेम्बरमा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलदौरान खुट्टाको समस्या दोहोरिएपछि करिब १८ महिना मैदानबाहिर रहेका विक्रम यसै लिगबाट मैदान फर्किएका छन्।

उनले थ्री स्टारलाई च्याम्पियन बनाउने लक्ष्यका साथै राष्ट्रिय टोलीमा आफ्नो पुनरागमनको लक्ष्य राखेका छन्।यद्यपि एन्फाले सोमबार मौरिससविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि घोषणा गरेको ३४ सदस्यीय टोलीमा विक्रमले स्थान बनाउन सकेनन्।

तर उनी छिट्टै राष्ट्रिय टोलीमा फर्कन्छु भन्नेमा आशावादी छन्। लिगका ७ खेल खेलेपछि उनको आत्मविश्वास पनि बढिसकेको छ। ‘फुटबल हो, केही भन्न सकिँदैन, स्वाभाविक लय भेट्टाउने हो भने राष्ट्रिय टोलीको पुनरागमन कठिन छैन,’ विक्रमले भने, ‘तर टोलीमा अहिले धेरै राम्रा खेलाडी आइसकेका छन्। त्यसैले मैले टोलीमा स्थान बनाउन अझ धेरै मिहिनेत गर्न आवश्यक छ।’

थ्री स्टारले जारी सिजन लिगमा च्याम्पियन बन्ने लक्ष्य राखे पनि आफ्नो टोलीले उल्लेख्य प्रदर्शन गर्न नसकेको विक्रम स्वीकार गर्छन्।

‘हो हामीले लिग च्याम्पियनको लक्ष्यका साथ मैदान उत्रिएका हौं तर हाम्रो फिनिसिङमा समस्या हुँदा अब त्यो लक्ष्य प्राप्ति केही कठिन बनेको छ’, विक्रम भन्छन्, ‘जावलाखेलविरुद्धको खेलबाट हामीले जितको लय भेट्टाएका छौं। आशा छ, टोलीले आगामी खेलमा पनि जित लय कायम राख्नेछ।’

प्रकाशित: २२ पुस २०७८ ०३:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App