coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

क्यान र खेलाडीबीचको विवाद सामान्य: पुबुदु

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीबीचको विवाद सामान्य भएको भन्दै बन्द कोठामा बसेर छलफल गरे समाधान हुने बताएका छन्।

मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग बोल्दै नवनियुक्त प्रशिक्षक पुबुदुले खेलाडी र संस्थाबीच समस्या विश्वमा सामान्य भएको भन्दै छलफलबाट निकास निस्कने बताएका हुन्।

‘खेलाडी र क्यानबीचको विवाद विश्व क्रिकेटमा सामान्य हो। बन्द कोठामा बसेर छलफल भएको अवस्थामा सबै कुरा समाधान हुन्छ। धेरै ठूलो समस्या मैले देखेको छैन,’ विमानस्थल ओर्लिएपछि प्रशिक्षक पुबुदुले भने, ‘खेलाडी, क्यान व्यवस्थापन र सबै बसेर निकासका लागि छलफल गरे समस्या समाधान हुन्छ।’

यसअघि पनि नेपाली टोलीलाई प्रशिक्षण गराएका मुख्य प्रशिक्षक पुबुदुलाई विमानस्थलमा क्यानका क्रिकेट म्यानेजर विनोद दासले स्वागत गरे। क्यानको मंसिर २५ गतेको बोर्ड बैठकले मुख्य प्रशिक्षकको रूपमा पुबुदुलाई अनुमोदन गरेपछि उनले पुनः नेपाल टोली सम्हाल्ने जिम्मेवारी पाएका हुन्।

मंगलबार विमानस्थल ओर्लिएपछि सञ्चारकर्मीसँग बोल्दै प्रशिक्षक पुबुदुुले पुनः नेपाली टोलीको जिम्मेवारी पाएकोमा खुुसी व्यक्त गरे। साथै नेपालको चुनौती सामना गर्न आफू तयार भएको पनि बताए। पहिले र अहिले नेपाली टोली सम्हाल्दा फरक भएको भन्दै प्रशिक्षक दासानायकेले नेपाली क्रिकेट नयाँ उचाइमा पुर्‍याउने जिम्मेवारी थपिएको बताए।

‘पुनः नेपाल फर्किन पाउँदा धेरै खुसी छु। आगामी चुनौतीका लागि म तयार छु। पहिलो पटक म आउँदा नेपाली टोलीको अवस्था फरक थियो। अहिले नेपालले  ट्वान्टी–२० र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ,’ प्रशिक्षक दासानायकेले भने, ‘पहिले र अहिलेमा फरक छ। हामीले धेरै कुरा गर्नुपर्नेछ। पहिलो जस्तै यस पटक पनि नेपाली क्रिकेट अर्कै उचाइमा पुर्‍याउनु छ। विश्वकप खेल्ने हाम्रो लक्ष्य हुनेछ।’

प्रशिक्षक पुबुदुले यसअघि सन् २०११ देखि २०१५ सम्म नेपाली टोली सम्हालिसकेका छन्। पुबुदुको पहिलो कार्यकालमा नेपाली क्रिकेटले डिभिजन–४ देखि डिभिजन–१ सम्मको यात्रा तय गरेको थियो। उनकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन् २०१४ मा आइसिसी ट्वान्टी–२०  विश्वकप खेलेको थियो।

सोही हिसाबले पुबुदुलाई नेपालको एक सफल क्रिकेट प्रशिक्षकका रूपमा लिइन्छ। नेपाली टोलीका मुख्य पूर्वप्रशिक्षक डेव ह्वाटमोरले ओमान भ्रमणको क्रममा उतैबाट राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षकविहीन थियो। त्यसपछि क्यानले खुला प्रतिस्पर्धाबाट पुबुदुलाई प्रशिक्षकका रूपमा नियुक्त गरेको हो।

प्रशिक्षक पुबुदुको प्रशिक्षणमा नेपालले आउँदो फ्रेबुअरी१५ मा आइसिसी  ट्वान्टी–२० विश्वकप ग्लोबल क्वालिफायर खेल्नेछ। समूह ‘ए’ मा रहेको नेपालले ओमानमा बहराइन, क्यानाडा, जर्मनी, आयरल्यान्ड, फिलिफिन्स र युएईविरुद्ध प्रतिस्पर्धा गर्ने तालिका छ। त्यस्तै, आइसिसी क्रिकेट विश्वकप लिग–२ मा पनि नेपालले पुबुदुकै प्रशिक्षणमा खेल्नुपर्नेछ।

प्रकाशित: १४ पुस २०७८ ०१:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App