भक्तपुरमा भएको दोश्रो अन्तर विद्यालयस्तरीय भक्तपुर कप फुटवल प्रतियोगिताको उपाधि मदरल्याण्ड स्कुल बााचामारी भक्तपुरले चुम्न सफल भएको छ। पहिलो हाफमै आत्माघाती गोल भएपछि फुटवलको उपाधि मदरल्याण्डको पोल्टामा परेको हो।
आयोजक स्प्रिङडेल इंगलिश बोर्डिङ्ग स्कुल लिवाली भक्तपुरलाई हराउँदै मदरल्याण्ड प्रतियोगितामा पहिलो हुन सफल भएको हो। स्थानीय महेश्वरी खेल मैदानमा भएको प्रतियोगितामा शून्यका विरुद्ध एक गोलले मदरल्याण्ड विजयी भएको हो।
भक्तपुर एफसी ११ र स्प्रिङडेल इंगलिश बोर्डिङ्ग स्कुल लिवाली भक्तपुरको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो। प्रतियोगितामा सिद्धि स्मृति प्रतिष्ठान भक्तपुरको सहयोग गरेको थियो।
प्रतियोगितामा उत्कृष्ट हुन सफल टिमहरुलाई वागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले नगद पुरस्कार, कप तथा प्रमाणपत्र वितरण गरेका थिए। पहिलोलाई दस हजार नगदका साथै कप र प्रमाणपत्र प्रदान गरियो। दोश्रोलाई पाँच हजार नगदसहित कप र प्रमाणपत्र प्रदान गरियो।
प्रतियोगितामा म्यान अफ दी म्याचमा दोश्रो हुन सफल स्प्रिङडेल स्कुलका आजाद प्रजापति घोषित हुन सफल भए। प्रतियोगितामा उत्कृष्ट खेलाडी सुदिल थुयाजू, उत्कृष्ट किपर सुनिल लामा र उत्कृष्ट रक्षकमा अतित तामाङ तीनैजना पहिलो टिम हुन सफल मदरल्याण्डबाटै घोषित हुन सफल भए। साथै उदयीमान खेलाडीमा दोश्रो हुन सफल टिम स्प्रिङडेल स्कुलका अतित लामा घोषित भए। साथै अनुशासित टिममा ख्वप्रिङ स्कुल घोषित भए।
पुरस्कार वितरण समारोहमा आयोजक भक्तपुर एफसी ११ का अध्यक्ष राम प्रजापतिले भक्तपुरको फुटबल खेललाई अगाडि बढाउने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरेको बताए। अर्का आयोजक स्प्रिङडेल इंगलिश बोर्डिङ्ग स्कुल लिवालीको कार्यकारी निर्देशक बिजु श्रेष्ठले प्रतियोगितामा कक्षा सातदेखि कक्षा १० सम्मका विद्यार्थीको टिम सहभागी भएको जानकारी गराए।
आयोजक भक्तपुर एफसी ११ क्लब भक्तपुरकै पुरानो फुटबल क्लव हो। यो जिल्लामा रहेको धेरै फुटबल क्लबहरुमध्ये सक्रिय फुटवल क्लव पनि हो। यस क्लबमा भक्तपुरकै पुरानो फुटबल खेलाडी शिवजी श्रेष्ठलगायतका पुराना फुटवल खेलाडीहरु आवद्ध छन्।
प्रकाशित: १३ पुस २०७८ १४:४६ मंगलबार