coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

फ्रेन्ड्सको सकस

सहिद स्मारक ‘ए’ डिभिजन लिगको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा फ्रेन्ड्स क्लबका प्रशिक्षक मृगेन्द्र मिश्रलाई यस सिजन टोलीको लक्ष्य के छ भन्ने प्रश्न गर्दा उनको जवाफ थियो– रेलिगेसन क्षेत्रबाट माथि रहने। मिश्रको तर्क थियो, ‘टोलीमा युवा खेलाडीको बाहुल्य छ, त्यसैले यस लिग युवा खेलाडीलाई अनुभव दिलाउनका लागि राम्रो अवसर हो। यसबाट आगामी सिजन टोली थप बलियो बन्नेछ।’

पहिलो खेलमा फ्रेन्ड्सको प्रतिद्वन्द्वी थियो नवप्रवेशी सातदोबाटो युथ क्लब। फ्रेन्ड्सले सातदोबाटोसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्यो। दोस्रो खेलमा भने फ्रेन्ड्स संकटा क्लबसँग पराजित भयो।

तेस्रो खेलमा थ्री स्टार क्लबलाई बराबरीमा रोक्दै दोस्रो अंक जोडेको फ्रेन्ड्सले चौथो र पाँचौं चरणमा भने हार व्यहोर्‍यो। चौथो चरणको समाप्तिमा रेलिगेसन क्षेत्रबाहिर रहेको फ्रेन्ड्स पाँचौं चरणमा एपिएफसँग ३–१ ले स्तब्ध भएसँगै १४औं स्थानमा झर्‍यो।

फ्रेन्ड्सको जितविहीन यात्राले शुक्रबार छैटौं चरणमा समेत निरन्तरता पायो। फ्रेन्ड्सले नेपाल पुलिस क्लबसँग गोलरहित बराबरी खेल्दै एक अंकमा चित्त बुझायो। ६ खेलमा तीन बराबर र तीन हारपछि रेलिगेसनको दबाब बढेको मिश्र स्वीकार गर्छन्।

‘हामीले लगातार राम्रो प्रदर्शन गरे पनि स्पष्ट तीन अंक जोड्न सकिरहेका छैनौं। हाम्रो लक्ष्य भनेकै रेलिगेसन क्षेत्रभन्दा माथि रहनु थियो,’ मिश्रले भने, ‘तर छैटौं चरणसम्म पनि जित हात पार्न नसक्दा टोलीमाथि चरम दबाब थपिएको छ। अब हामीसँग ७ खेल मात्र बाँकी छ।

सातवटै खेल हाम्रा लागि फाइनल सरह छन्। टोलीमाथि अब झनै दबाब थपिएको छ। सबै खेलमा स्पष्ट तीन अंकको दबाब हुनेछ। हामीले आज पुलिसलाई जित्न सकेको भए हामी रेलिगेसन क्षेत्रबाट माथि उठ्ने थियौं।’

मिश्रले अखिल नेपाल फुटबल संघ (एन्फा) ले अनुभवहीन रेफ्रीबाट खेल सञ्चालन गरिरहेको भन्दै गम्भीर आपत्ति जनाए। ‘देशकै शीर्ष लिगमा एन्फाले अनुभवहीन रेफ्रीबाट खेल सञ्चालन गरिरहेको छ,’ मिश्रले भने, ‘एपिएफविरुद्धको पछिल्लो खेल पनि रेफ्रीकै खराब निर्णयका कारण गुमाउनुपर्‍यो।

आज पुलिसविरुद्ध पनि हामीले रेफ्रीकै कारण आइसकेको तीन अंक गुमाउन पुग्यौं। इन्जुरी समयमा पुलिसका खेलाडीले बलमा नभई हाम्रा स्ट्राइकरको खुट्टामै प्रहार गरेका छन्। टिभी रिप्लेमा पनि त्यो देख्न सकिन्छ। त्यो पेनाल्टी भएको भए नतिजा हाम्रो हातमा आउने थियो। हामीमाथिको रेलिगेसन दबाब हट्ने थियो।’

पुलिसका प्रशिक्षक अनन्त थापाले भने आफूहरूले खेलमा फ्रेन्ड्समाथि पूर्ण रूपमा दबाब राखे पनि पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा अंक बाँड्नुपरेको बताए।

‘हामीले आज फ्रेन्ड्सभन्दा धेरै अवसर पाए पनि त्यसको सदुपयोग भने गर्न सकेनौं,’ थापाले भने, ‘सायद सुरुआतमै पाएका अवसरको सदुपयोग गरेको भए हामीलाई नतिजा आफ्नो पक्षमा पार्न सहज हुने थियो। आगामी खेलमा मुख्य स्ट्राइकरबीचको तालमेल अभावमा सुधार गर्दै सुखद नतिजाका लागि खेल्नेछौं।’

यसअघि शुक्रबार नै भएको छैटौं चरणको पहिलो खेलमा ३–१ को अग्रता जोगाउन नसक्दा न्युरोड टिम (एनआरटी) ले एपिएफसँग अंक बाँडेको थियो। एनआरटीले एपिएफसँग ३–३ को बराबरी खेलेको हो। ३२औं मिनेटमा दर्शन गुरुङको गोलमा एनआरटीले अग्रता लिए पनि त्यसको पाँच मिनेटपछि नै आशिष लामाले एपिएफलाई खेलमा फर्काएका थिए।

४८औं मिनेटमा दर्शन र ६१औं मिनेटमा मेसुके ओलोमोउको गोलमा एनआरटीले ३–१ को अग्रता लियो। त्यसको चार मिनेटपछि नै दीपेश धिमालले गरेको गोलमा एपिएफले खेलमा फर्कने संकेत गरेको थियो। ६९औं मिनेटमा नवीन लामाले बललाई पोस्टको दिशा दिँदै एपिएफलाई खेलमा फर्काएका थिए।

प्रकाशित: १० पुस २०७८ ०४:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App