८ वैशाख २०८१ शनिबार
खेल

च्याम्पियन्स लिगः बार्सिलोना समूहचरणबाटै बाहिर

जर्मनीको व्यावसायिक फुटबल क्लब बायर्न म्युनिखसँग ३–० ले पराजित भएसँगै स्पेनिस क्लब बार्सिलोना बुधबार च्याम्पियन्स लिगअन्तर्गत समूहचरणको खेलबाट बाहिरिँदा फ्रेन्च च्याम्पियन लिल्ले,बेनफिका र साल्सबर्ग अन्तिम १६ मा प्रवेशगरेका छन्।

नकआउट चरणमा पुग्न जित्नै पर्ने दबाबमा रहेको बार्सिलोना बायर्न म्युनिखको घरेलु मैदानमा पराजित भएको हो। हारसँगै लियोनल मेसीको पूर्वक्लब बार्सिलोना १७ वर्षपछि च्याम्पियन्स लिगको नकआउट चरण नपुग्दै बाहिरिएको हो।

सुरुआतबाट नै दबाबमा परेको हाभी हर्नान्डेजको टोली बार्सिलोनाविरुद्ध बायर्नका थोमस मुलर, लेरोई साने र जमल मुसिआलाले एक/एक गोल गरे। सुरुआत प्रतिस्पर्धात्मक बनेको खेलको ३४औं मिनेटमा मुलरले रोबर्ट लेवान्डोवस्कीको पासमा गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए।

४३औं मिनेटमा सानेले गोल गर्दै पहिलो हाफमा टोलीलाई२–० को अग्रता निकाल्दा६२औं मिनेटमा जमलले गोल गर्दै टोलीको जित निश्चित गरेका थिए। त्यसबीचमा बार्सिलोनाले खेलमा फर्कन निकै प्रयास गरे पनि बायर्नको बलियो रक्षापंक्तिलाई चिर्न सकेन।

सहज जितसँगै बायर्नले समूह ‘ई’ बाट समूहविजेताका रूपमा अन्तिम १६ मा स्थान बनाएको छ। यस समूहबाट बेनफिकाले उपविजेता बन्दै नकआउट चरणमा प्रवेश पाउँदा ६ खेलमा ८ अंक जोड्यो।

बेनफिकाले समूहचरणको अन्तिम खेलमा डाइनामो किभलाई २–० ले हराएको छ। बायर्नले ६ खेलमा स्पष्ट १८ अंक जोड्यो भने खराब नतिजाबाट गुज्रिरहेको बार्सिलोना ७ अंक जोडेर यस समूहको तेस्रो स्थानमा रह्यो।

पाँच पटकको युरोपियन च्याम्पियन बार्सिलोना अन्तिम १६ बाटै बिदाइ हुँदा प्रशिक्षक हाभी हर्नान्डेजले शून्य अवस्थाबाट तयारी गरेको र सोचेजस्तो प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिए।

‘हामीले प्रतिस्पर्धात्मक खेल देखाउन सकेनौं। च्याम्पियन्स लिगका लागि पुग्ने खेल हामीबाट प्रस्तुत भएन। टोलीमा अझै मिहिनेतको जरुरी छ,’ बार्सिलोनाका प्रशिक्षक हाभीले भने,‘बार्सिलोना अहिले नयाँ अध्यायबाट अगाडि बढिरहेको छ। शून्य अवस्थाबाट तयारी गरिरहेका छौं, जसको लक्ष्य भनेको च्याम्पियन्स लिग हो। आउँदा दिनमा हामीलाई सुधारिएको खेल प्रदर्शन गर्नुको विकल्प छैन।’

च्याम्पियन्स लिगअन्तर्गत बुधबारकै खेलबाट प्रिमियर लिग क्लब चेल्सीले जेनिट सेन्ट पिटर्सबर्गसँग ३–३ गोलको बराबरी खेल्दै समूहविजेताका रूपमा अघिल्लो चरण प्रवेश गर्ने मौका गुमाएको छ।

समूह ‘एच’ अन्तर्गत बुधबार राति भएको खेलमा माल्मो एफएफलाई १–० ले पराजित गरेर युभेन्ट्सले चेल्सीलाई पछि पार्दै समूहविजेताका रूपमा अन्तिम १६ मा स्थान बनायो। घरेलु मैदानमा युभेन्ट्सलाई स्पष्ट जित दिलाउन मोइस किनले १८औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। जितसँगै युभेन्ट्स समूह ‘एच’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो।

युभेन्ट्सले ६ खेलमा १५ अंक जोड्यो र समूहको शीर्ष स्थानमा रह्यो। मोल्मो १ अंक जोडेर पुछारमा रह्यो। यस समूहबाट चेल्सीले समूह उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनायो। समूह ‘एफ’ को अन्तिम खेलमा म्यानचेस्टर युनाइटेड स्विस क्लब योङ ब्वाइजसँग १–१ को बराबरीमा रोकिए पनि समूहविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेको छ। बुधबार राति नै भएको खेलमा युनाइटेडले नवौं मिनेटमा मासन ग्रिनउडको गोलबाट लिएको अग्रतालाई जोगाउन नसक्दा बराबरी खेलेको हो।

नवौं मिनेटमा युनाइटेडले लिएको अग्रतालाई ४२औं मिनेटमा फाबियन राइडरले गोल गर्दै योङ ब्वाइजलाई १–१ गोलको बराबरीमा ल्याएका थिए। त्यसपछि दोस्रो हाफतिर लम्किएको खेलमा दुबै टोलीले केही राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न असफल रहँदा खेल बराबरीमा टुङ्गिएको थियो।

बराबरी खेलेको युनाइटेडले ६ खेलमा ११ अंक जोडेर समूहविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गर्दा योङ ब्वाइज ४ अंक जोडेर समूहको पुछारमा रह्यो। समूह ‘एफ’ को खेलअन्तर्गत एट्लान्टा र भिल्लारियलबीचको खेल अत्यधिक हिमपातका कारण हुन सकेन।

प्रकाशित: २४ मंसिर २०७८ ०४:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App