१५ चैत्र २०८० बिहीबार
खेल

अन्तिम समयमा चुक्यो संकटा

रक्षक फ्र्यान्कलिन क्वेटा टेल्लाले खेल सकिन केही सेकेन्ड मात्र बाँकी रहँदा गरेको गोलबाट शनिबार मनाङ मर्स्याङ्दीले संकटा क्लबसँग हार टारेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबारको दोस्रो खेलमा मनाङले संकटासँग २–२ को बराबरी खेलेको हो। ३१औं मिनेटमा नीरज बस्नेतले गरेको हेडर गोलबाट संकटाले अग्रता लिएको थियो। नीरजले लक्ष्मण रुचालको फ्रिकिकलाई हेडरमार्फत जाली चुमाए। तर, संकटाले त्यो अग्रता भने धेरै समय टिकाउन सकेन। त्यसको चार मिनेटपछि नै पूजन उपरकोटीको फ्रिकिकमा दयानन्द सिंहले गोल गर्दै मनाङलाई खेलमा फर्काए। ७०औं मिनेटमा फोडे फफोनाको पासमा उत्तम राईले गरेको गोलमा संकटाले पुनः अग्रता लियो।

जिततर्फ अग्रसर संकटा अन्तिम केही सेकेन्ड सम्हालिन नसक्दा मनाङसँग अंक बाँड्न बाध्य भयो। इन्जुरी समयमा संकटाका रक्षक नीरजले क्लियर गरेको बलमा बक्सबाहिर अनमार्क रहेका टेल्लाले उत्कृष्ट भलिलाई जाली चुमाउँदै मनाङको संकट टारे। तीन खेलमा सात अंक बटुलेको मनाङ शीर्ष स्थानमा छ। समान खेलबाट समान सात अंक जोडेको सातदोबाटो दोस्रो स्थानमा छ। संकटाको भने तीन खेलबाट पाँच अंक छ। खेलपछि मनाङका प्रशिक्षक राजेन्द्र तामाङले टोलीले स्वाभाविक लय अनुरूपको प्रदर्शन गर्न नसकेको बताए।

‘गोलरक्षक र गोलकिपरबीचको तालमेल अभावमा दुई गोल खायौं,’तामाङले भने,‘अन्तिममा भाग्यले साथ दिँदा गुमाइसकेको एक अंक भए पनि हात पार्‍यौं। टोलीले जुन गतिमा खेल्नुपर्ने हो, आज त्यसअनुरूप खेल्न सकेन। खेलाडीहरू केही नर्भस पनि भए। बल पोसेसन पनि आफ्नो पक्षमा राख्न सकेनौं, त्यसैले दबाबमा आयौं।’ यता दुई पटकको अग्रता जोगाउन नसक्दा स्पष्ट तीन अंक जोड्दै शीर्ष स्थानमा उक्लिने अवसर गुमाए पनि संकटाका प्रशिक्षक विष्णु गुरुङ भने उपाधि दाबेदार मनाङलाई बराबरीमा रोक्दा सन्तुष्ट देखिए।

‘टोलीले जुन रणनीति लिएको थियो, त्यो सफल भएको छ,’गुरुङले भने, ‘म टोलीको प्रदर्शनबाट सन्तुष्ट छु। खेलाडीहरूले ९० मिनेटसम्म राम्रो खेले। तर इन्जुरी समयमा सम्हालिन नसक्दा आइसकेको तीन अंक गुम्यो। यसप्रति भने दुःख लागेको छ।’ शनिबार नै भएको दोस्रो खेलमा च्यासल युथ क्लब र न्युरोड टिम (एनआरटी)ले १/१ को बराबरी खेल्दै अंक बाँडेका छन्। मध्यान्तर हुन दुई मिनेट बाँकी रहँदा रुमेश बर्तौलाको गोलमा च्यासलले अग्रता लिएको थियो।

तर, ७९औं मिनेटमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका दीपेश घलेले गोल गर्दै एनआरटीलाई खेलमा फर्काए। दिपेश ७८औं मिनेटमा अशोक थापाको स्थानमा मैदान प्रवेश गरेका थिए। तर, च्यासलका खेलाडीहरूले भने एनआरटीले फेयर प्लेमा चलाएको बलमा गोल गरेको भन्दै केही क्षण त्यसको प्रतिवाद गरेका थिए। च्यासलले तीन खेलबाट चार अंक जोडेको छ भने समान खेलबाट एनआरटीको दुई अंक छ।

प्रकाशित: १९ मंसिर २०७८ ०४:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App