नेपालकी शीर्ष बरियताकी सलोनी तामाङ पोखरामा आयोजित आईटिएफ विश्व टेनिस टुर जुनियर ५ को फर्स्ट सर्किट च्याम्पियन बनेकी छन्। उनले शनिबार पोखरा रंगशालास्थित टेनिस कोर्टमा भएको फाईनलमा भारतीय खेलाडी नेहा नागपाललाई ७–५ र ६–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेकी हुन्। पहिलो सेटमा केही कठिनाई भएपनि दोस्रो सेट भने सलोनीले सहजै आफनो पक्षमा पारेकी थिईन्।
पुरुषतर्फको भने स्वीडेनका एमिलियो जेलकोस्कीले भारतीय खेलाडी दाकस प्रसादलाई पराजित गर्दै च्याम्पियन बनेका हुन्। एमिलियोले दासकलाई ६–२, ५–७ र ७–६(३)को सेटमा पराजित गर्दै च्याम्पियन बनेका हुन्।
महिला डबल्सतर्फको प्रतिस्पर्धामा नेपाली अभिषाला विष्ट र सलोनी तामाङको जोडीले नेपालकै ईशा श्री शाह र सर्वाणी श्रेष्ठको जोडीलार्य ६–१, ४–६ र सुपरटाईमा १०–७ को सेटले पराजित गर्दै उपाधि जिते। त्यस्तै पुरुषतर्फको प्रतिस्पर्धामा अमेरिकाका मिथ्री बारोट र सिदार्थ लामाको जोडीले भारतीय कविर चाबरिया र दाकस प्रसादको जोडीलाई ७–६(७),७–६(५)को सेटले पराजित गर्दै उपाधि जिते।
च्याम्पियन र रनरअपलाई गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले पदक लगाईदिएका थिए। उनीसँगै नेपाल टेनिस संघका केन्द्रीय उपाध्यक्ष विनोद कायस्थ, कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक गुरुङ तथा सल्लाहकार बसन्त प्रधान, सुर्य भुजेल लगायतले पुरस्कार प्रदान गरेका थिए।
सोमबारदेखि जुनियर ५ अन्तर्गत दोस्रो सर्किट शुरु हुने छ। आईतबार दोस्रो सर्किटको लागि क्वालिफाईङ प्रतिस्पर्धा हुने छ। कास्की जिल्ला टेनिस संघको आयोजनामा सञ्चालित जुनियर ५ मा विभिन्न १० देशका खेलाडीहरुले प्रतिस्पर्धा गरेका छन्। पोखरा रंगशालाको छ वटा कोर्टमा फेरि अर्को एक साता जुनियर ५ को दोस्रो सर्किटका खेलहरु सञ्चालन हुने छन्।
प्रकाशित: १८ मंसिर २०७८ १४:१७ शनिबार