७ वैशाख २०८१ शुक्रबार
खेल

फिस्टेल ट्रेल रेसः नेपालका लामा र बेलायतकी माउण्टजोय च्याम्पियन

तीन इभेण्टमा स्वदेशी तथा विदेशी १७१ धावको सहभागिता

फिस्टेल ट्रेल रेसमा सहभागी धावक। तस्बिर: फिस्टेलरेस डटकम

पोखरामा आयोजित ४२ किलोमिटरको फिस्टेल ट्रेल रेस(म्याराथन)मा नेपाली धावक च्याम्पियन बनेका छन्। शनिबार भएको प्रतिस्पर्धामा नेपाली धावक तस्बिर लामाले ४ घण्टा १५ मिनेट ५४ सेकेण्डमा पूरा गर्दै च्याम्पियन बनेका हुन्।

त्यसैगरी अर्जुनकुलुङ राईले ४ घण्टा १८ मिनेट ४९ सेकेण्डमा पूरा गर्दै दोस्रो बने। तेस्रो स्थानमा नेपालकै धावक महेश थापा रहे। उनले ४ घण्टा ५३ मिनेट ९ सेकेण्डमा पूरा गरेका थिए। चौथो स्थानमा स्वीट्जरल्याण्डका धावक डानियल लिसर आए। उनले दौडलाई ५ घण्टा २७ मिनेट ४० सेकेण्डमा पूरा गरे। पुरुषतर्फ ५० धावकको सहभागिता रहेको थियो।

४२ किलो मिटरको दौडमा छोरेपाटनस्थित डेभिजफल्सबाट सुरु भएको थियो। दौड पुम्दीकोट, तारेभिर, घाँटीछिना, देउराली कास्कीकोट सराङ्कोट मेथलाङ, सेदीसम्म आएर टुंगिएको थियाे। उक्त रेसमा महिलातर्फ बेलायतकी फ्लिउर रेबेका माउण्टजोय च्याम्पियन बनिन्। उनले ६ घण्टा ३ मिनेट ५५ सेकेण्डमा दौड पूरा गरिन्।

बेलायतकै धाविका लिजी हकरले ६ घण्टा ३५ मिनेट २७ सेकेण्डमा पूरा गर्दै दोस्रो बनिन्। बेलायती धाविका सली रेबेका माउल्ड्सले तेस्रो स्थानमा आउने क्रममा ६ घण्टा ३८ मिनेट ४८ सेकेण्डको समय लगाईन्। जापानीज धाविका सावा सुचिदाले ७ घण्टा २२ मिनेट ५६ सेकेण्डमा पूरा गर्दै चौथो स्थानमा रहिन्। महिलातर्फ ११ धाविकाहरुले प्रतिस्पर्धा गरेका थिए।

२१ किलोमिटर पुरुषतर्फको प्रतिस्पर्धामा नेपालका अशोक बराम प्रथम भएका छन्। शनिबार डेभिज फल, स्तुपा, चंखपुर, पदेली, मेथलाङ हुँदै सेदीसम्मको २१ किलोमिटरको दूरीलाई १ घण्टा ५७ मिनेट २५ सेकेण्डमा पूरा गरेका थिए। नेपालकै भूमिराज रोकाले २ घण्टा ५ मिनेट ३ सेकेण्डमा पूरा गर्दै दोस्रो र नेपालकी सान्चे तामाङले २ घण्टा ७ मिनेट ५८ सेकेण्डमा पूरा गर्दै तेस्राे स्थानमा रहे। दौडमा ६१ पुरुष धावकको सहभागिता रहेको थियो।

महिलातर्फको प्रतिस्पर्धामा बेलायतकी धाविका एन्नी केले २ घण्टा  २७ मिनेट ४ सेकेण्डमा पूरा गर्दै च्याम्पियन बनिन्। दोस्रो स्थानमा नेपालका धाविका छोकी शेर्पा आईन्। उनले दौडलाई २ घण्टा ५४ मिनेट ५५ सेकेण्डमा पूरा गरिन्। तेस्रो स्थानमा अमेरिकाकी धाविका सोन्या मार्टिनले २ घण्टा ५९ मिनेट ५५ सेकेण्डमा पूरा गर्न सफल भईन्। महिलातर्फ २४ धाविकाको सहभागिता रहेको थियो।

५ किलो मिटर दौड इभेण्टमा पुरुषतर्फ नेपालका लाक्पा योन्जन तामाङ प्रथम भए। उनले १ घण्टा  ३५ सेकेण्डमा पूरा गरेका थिए। रेस सेदी, ग्यारजाती, मेथलाङ हुँदै सेदीमै आएर टुंगिएको थियो। दोस्रो स्थानमा नेपालकै दिकेश गुरुङ रहे। उनले १ घण्टा ३७ सेकण्डमा पूरा गरे। अमेरिकाका धावक स्टेभ वेल्सले १ घण्टा २६ मिनेट १३ सेकेण्डको समय लगाउँदै तेस्रो स्थानमा आईपुगे। दौडमा पुरुष तर्फ ११ जनाको सहभागिता रहेको थियो।

महिलातर्फको सोही इभेण्टमा क्यानडाकी इमा ह्यामिल्टन क्लार्कले १ घण्टा २८ मिनेट २७ सेकेण्डमा पूरा गर्दै प्रथम भईन्। नेपालकी विमला आले दोस्रो स्थानमा रहने क्रममा १ घण्टा ३७ मिनेट ३१ सेकेण्डको समय लगाईन्। तेस्रो स्थानमा अमेरिकाकी डोरी एङ्गुयनले १ घण्टा ४० मिनेट २७ सेकेण्डमा पूरा गरिन्। महिलातर्फ १४ धाविकाको सहभागिता रहेको थियो।

हिमालयन ट्रेल रनिङ प्रालिले आयोजनामा पोखरामा दोस्रो पटक ट्रेल रेस आयोजना गरिएको थियो। रेसले पोखराको स्पोर्टस टुरिज्मलाई प्रवर्द्धन गर्ने विश्वास छ। प्रालिका व्यवस्थापक दिपक भट्टका अनुसार तीनै इभेण्टमा स्वदेशी र विदेशी महिला तथा पुरुष गरी १७१ धावकको सहभागिता रहेको थियो। पोल्याण्ड, कोरिया, फ्रान्स, डेनमार्क, स्वीट्जरल्याण्ड, नेदरल्याण्ड, अमेरिका, जापान, बेलयात लगायतका देशका धावकहरु सहभागिता रहेको उनले बताए।

दौडमा ४२ किलोमिटरमा सहभागिता धावकहरु १७५० मिटरको उचाईमा पुगेर ओर्लिएका थिए। २१ किलोमिटर दौडिने धावक भने १२८५ मिटरको उचाईसम्म पुगेका थिए। अन्नपूर्ण, धौलागिरी हिमालको मनोरम दृश्यको अवलोकन गर्दै नेपाली जनजीवन प्रत्यक्ष अनुभव गराउने उद्देश्यले पुरानो बाटो तर अहिले हिँड्न छोडिएको गोरेटोबाटलाई अन्तर्राष्ट्रियस्तरको फिस्टेल ट्रेल रेस कार्यक्रम आयोजना गरेर प्रवर्द्धन गर्न खोजिएको उनको भनाई थियो। छोटो पदयात्रा मार्गको पहिचान गर्ने उद्देश्यसहित पोखरा ट्रेल रेस सिरिज हुँदै आएको छ।

प्रकाशित: १८ मंसिर २०७८ ११:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App