coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

रक्षापंक्ति सुधार्ने राल्फको प्रतिबद्धता

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक राल्फ राग्निकले क्लबको कमजोर रक्षापंक्तिलाई सुधार गर्दै सन्तुलित टोली बनाउने लक्ष्य रहेको बताएका छन्।

६३ वर्षे राल्फले अन्तरिम प्रशिक्षकको जिम्मेवारी पाएपछि पहिलो पत्रकार सम्मेलनमा आफ्नो लक्ष्य कमजोर रक्षापंक्तिलाई सुधार गर्नु रहेको उल्लेख गरेका हुन्। युनाइटेडले ओले गनर सोल्सजायरलाई बर्खास्त गरेपछि जर्मन प्रशिक्षक राल्फलाई यस सिजनसम्मका लागि अन्तरिम प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो। उनकै प्रशिक्षणमा युनाइटेडले प्रिमियर लिगमा शुक्रबार आर्सनलमाथि ३–२ को जित निकाल्यो।

अंकतालिकाको पुछारको टोली वाटफोर्डसँग ४–१ को लज्जापूर्ण हार बेहोरेपछि सोल्सजायर बर्खास्तीमा परेका हुन्।

गत अक्टोबरमा पनि युनाइटेड चिर परिचित प्रतिद्वन्द्वी लिभरपुलसँग ५–० ले स्तब्ध बनेको थियो। लगातारको हारसँगै युनाइटेड यस सिजनको प्रिमियर लिगमा कमजोर बनेपछि सोल्सजायरले जिम्मेवारी गुमाउनुपर्‍यो।

‘हामी करिब साढे ६ महिना सँगै हुन्छौं। यसबीच लिगका तीन तिहाइ खेल मैले खेलाउने सम्झौता भएको छ। म्यानचेस्टर युनाइटेडजस्तो क्लबले यस किसिमको जिम्मेवारीका लागि प्रस्ताव गर्दा कोही पनि अस्वीकार गर्न चाहँदैन।

किनकि युनाइटेड विश्वकै ठूलो क्लब हो। यहाँका खेलाडीसँग काम गर्न निकै उत्साहित थिएँ,’राल्फले भने,‘यहाँ युवा, क्षमतावान् र अनुभवी खेलाडी छन्, यस किसिमका खेलाडी पाउनु निकै भाग्यको कुरा हो। मेरो मुख्य लक्ष्य नै यो टोली निकै सन्तुलित बनाउनु हो।’ उनले खेलमा जित निकाले पनि दुई गोल बेहार्नु रक्षापंक्तिमा समस्या रहेको औंल्याएँ।

‘आज हामीले जित निकाल्दा तीन अंक प्राप्त गरे पनि दुई गोल बेहो¥यौं। हामीले एक खेलमा औसत दुई गोल बेहोरेका छौं, जुन निकै धेरै हो,’ राल्फले भने, ‘म टोलीलाई जतिसक्दो सन्तुलित र नियन्त्रित गर्न चाहन्छु। हिजोका खेल हामीले चाहेको जस्तो होइन।

 म क्षमतावान् खेलाडीको सदुपयोग गर्दै राम्रो टोली बनाउन चाहन्छु।’ यस सिजन समाप्तिपछि राल्फ ओल्ड ट्राफोर्ड क्लब युनाइटेडको कन्सल्टेन्टको भूमिकामा रहने सम्झौता भएको उल्लेख छ।

यद्यपि, उनी नै युनाइटेडका पूर्णकालीन प्रशिक्षक हुन सक्ने पनि सम्भावना रहेको आकलन गरिएको छ। ‘यदि मैले राम्रो काम गरेँ र स्थापित टोली बनाउन सफल भएँ भने त्यो जिम्मेवारी पाउन पनि सक्छु। तथापि, यी सबै काल्पनिक कुरा हुन् र यसबारे म कुरा गर्न पनि चाहन्नँ,’राल्फले भनेका छन्।  

बिहीबारको जितसँगै युनाइटेडका पूर्वमिडफिल्डर समेत रहेका कार्यवाहक प्रशिक्षक मिकाइल क्यारिकले क्लब छाड्ने निर्णय गरेका थिए। राल्फले भने आफूले मिकाइलसँग कुरा गर्दै उनलाई मनाउने प्रयास गरेका बताए। ‘मैले मिकाइलसँग एक घण्टाभन्दा बढी समय कुरा गरेको थिएँ।

उनलाई मनाउने प्रयास पनि गरेँ। तर, उनले छाड्न चाहे र म उनको निर्णय पनि बुझ्न सक्छु।’ मिकाइलले क्लब छाड्दा युनाइटेड शीर्ष तीनका लागि अझै पनि १० अंकले पछि छ।

राल्फले पोर्चुगिच स्टार रोनाल्डोका लागि भूमिका सही नभएको धारणा पनि राखेका छन्। तथापि, उनले बिहीबार रोनाल्डोको दुई गोल पनि प्रत्यक्ष हेरेका थिए। त्यो गोलसँगै रोनाल्डोले क्लब र अन्तर्राष्ट्रिय फुटबल गरी करियरको आठ सय गोल पूरा गरे। ‘जब तिमीसँग राम्रा खेलाडी छन् भने त्यसलाई सही ठाउँमा प्रयोग गर्न चाहन्छौ।

३६ वर्षको उमेरमा पनि उनीजतिको फिट खेलाडी मैले कतै पनि देखेको छैन। तर, टोली रोनाल्डोका लागि मात्र केन्द्रित हुनु हुँदैन। यहाँ समग्र टोलीलाई नै सुधार गर्नुपर्ने सबाल छ,’ रोनाल्डोको भूमिकाबारे राल्फले प्रस्ट्याउने प्रयास गरे।

प्रकाशित: १८ मंसिर २०७८ ०४:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App