coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पर्यटन क्षेत्रमा ओमिक्रोन ‘थ्रेट’

पर्यटन क्षेत्र फेरि बन्द गर्नुपर्ने अवस्था आउन सक्छः व्यवसायी

पर्यटकीय क्षेत्र पोखराको लेकसाइड। कोरोनाको नयाँ भाइरस ओमिक्रोनको त्रासमा अहिले पर्यटन क्षेत्र छ। तस्बिरः उमेश पुन/नागरिक

कोरोना भाइरस संक्रमण सुरु भएपछिको सबैभन्दा बढी विदेशी पाहुना आगमनको महिना बन्यो यो नोभेम्बर। नोभेम्बरमा मात्र २६ हजार १ सय ३५ जना विदेशी पाहुना हवाईजहाजबाट नेपाल भित्रिए। २०२० को नोभेम्बरको आगमन संख्या १ हजार ९ सय ५६ मात्र थियो। कोरोना भाइरस संक्रमण सुरु हुनु अघि सन् २०१९ को नोभेम्बरको आगमन १ लाख ३० हजार ३ सय २ थियो।

नोभेम्बरपछि गत अक्टोवरको आगमन उच्च थियो । गत अक्टोवरको आगमन २३ हजार २ सय ८४ थियो। त्यसबाहेक गत अप्रिलमा २२ हजार ४ सय ५० जना विदेशी नेपाल भित्रिएका थिए। पर्यटन बोर्डको यो तथ्यांकले नेपालमा पर्यटकीय सिजनमा विदेशी पर्यटकको आगमनमा सुधार देखिएको थियो। तर कोरोना संक्रमणले पुन: नयाँ स्वरुप लिन थालेको भन्दै आगामी दिनमा विदेशी पाहुना आगमन प्रभावित हुन सक्ने भन्दै व्यवसायीले चिन्ता जनाएका छन्।

पछिल्लो समय संक्रमण कमजोर हुँदै जाँदा विदेशी पर्यटकको आगमन बढ्न थालेको र त्यसैमा आन्तरिक पर्यटकको आउजाउको भरमा व्यवसाय थेगिँदा व्यवसायी आशावादी दिए। तेश्रो मुलुकका विदेशी पनि भित्रिन थाल्दा पर्यटन व्यवसायीले सुधारको संकेत देखेका थिए। तर, पछिल्लो समय विभिन्न मुलुकमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको र त्यसको संक्रमण तीव्र बनेको भन्दै पर्यटनमा असर पार्न सक्ने व्यवसायीको चिन्ता छ। कतिपय मुलुकले आउजाउ नै असर पर्नेगरि हवाई उडान रोक्न थालेपछि त्यसको मार पर्यटन क्षेत्रमा पर्ने चिन्ता व्यवसायीको छ।

पोखराको पाँचतारे होटल पोखरा ग्राण्डका वरिष्ठ बिक्री प्रबन्धक कमल शेरचनका अनुसार आन्तरिक र भारतीय पाहुनाको भरमा अहिलेको पर्यटन क्षेत्र थेगिएको छ। फाट्टफुट्ट विदेशी पाहुना पनि अहिले आउन थाल्दा व्यवसायी पर्यटन क्षेत्रले गति लिनेमा आशा व्यक्त गरेका थिए। तर, कोरोनाको नयाँ स्वरुपले पुनः त्रास निम्त्याएको शेरचनले बताए।

‘आन्तरिक र भारतीय पाहुनाको भरमा अहिलेसम्म हामी धानिएका हौ। तर, अब ओमिक्रोन भित्रिने त्रास छ। त्यसले पाहुनाको आउजाउमा असर पार्ने देखिएको छ। त्यसले गर्दा पर्यटन क्षेत्रमा निराशा उत्पन्न गरेको छ,’ शेरचनले भने, ‘पर्यटन व्यवसाय तंग्रिने प्रयास गर्दैगर्दा पुनः अवरोध सिर्जना हुने सम्भावना बढ्यो। पर्यटन क्षेत्रका लागि ओमिक्रोनको त्रास दुखद।’  

उनका अनुसार पछिल्लो समय पोखरामा भारतीय पाहुना पर्याप्त आउन थालेका थिए। तर, ओमिक्रोनको त्रास नेपालमा भन्दा बढी भारतमा रहेको र भारतबाट पाहुना आउन नपाउँदा तत्काल असर पर्ने उनले बताए। पर्यटकको आगमन बढिरहँदा नयाँ भाइरसको त्रास पनि थपिएको उनले बताए। ‘भारतीय पाहुना मात्रै पनि आउन पाएनन भने त्यसको मार पर्यटनमा परिहाल्छ। संक्रमण नेपालमा देखिनासाथ आन्तरिक पाहुनाको आउजाउ पनि रोकिनेछ,’ उनले भने।

फिस्टेल लजका महाप्रबन्धक रोशन खवास पनि ओमिक्रोनको त्रासले पर्यटन क्षेत्रमा असर पर्ने सम्भावना रहेको बताउँछन्। कोरोना संक्रमण केही कमजोर हुँदा अहिले पर्यटक आगमनमा सुधार भएको अवस्थामा पुनः नयाँ भाइरसको त्रासले पर्यटन व्यवसायलाई त्रसित बनाएको खवासले बताए। ‘कोरोना संक्रमण कमजोर हुँदै जाँदा अहिले पर्यटनमा सकारात्मक अवस्था देखिएको थियाे। भारतीय पाहुनाको ठूलो समूह नै आउन थालेको छ। तर, ओमिक्रोनले पर्यटनमा पुनः थ्रेट बढाएको छ,’ खवासले भने, ‘आन्तरिक पाहुनाको भरमा अहिलेसम्म धानिएका छौं। केहीगरि नयाँ भाइरस भित्रियो भने पर्यटन व्यवसायलाई ठूलो मार पर्नेछ। हामीसँग अरु उपाय केही हुने छैन।’

उनका अनुसार तेश्रो मुलुकका विदेशी पर्यटकको आगमनमा सहज हुँदा एक वर्ष अघि नै बुकिङ आउथ्यो। तर, अहिले अग्रिम बुकिङको त्यो समय झन्डै दुईसातामा झरेको छ। खवासले आगामी महिनामा तेश्रो मुलुकका विदेशीको सानो आकारको बुकिङ भएपनि ओमिक्रोनले त्यो आगमन पनि प्रभावित हुन सक्ने बताए। ‘पछिल्लो समय पर्यटनमा निकै नै सुधार आएको हो। नोभेम्बरको अकुपेन्सी ४० प्रतिशत हाराहारीमा उक्लेको थियो। त्यो आकारले बिस्तारै गति पनि लिएको थियो,’ उनले भने, ‘तर, अब त्यो आगमन अब प्रभावित हुने देखिएको छ। संक्रमणले हिँड्डुल असहज बनाएको अवस्थामा पर्यटन क्षेत्रमा मार पर्नेछ।’

पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने पनि पर्यटन क्षेत्र पुनः त्रसित हुने अवस्था देखिएको बताउँछन्। विदेशी पर्यटकका लागि ‘अन अराइभल भिसा’को व्यवस्था हुँदा आगमन बढिरहेकोमा अब पुनः अप्ठेरो पर्ने सम्भावना रहेको निर्देशक लामिछानेले बताए। झन्डै लयमा फर्किन थालेको पर्यटन क्षेत्र पुनः त्रसित अवस्थामा रहनुपरेको उनले बताए। छमेकी मुलुक भारतमा पनि नयाँ भाइरस देखिएपछि पर्यटन क्षेत्र बढी त्रसित भएको लामिछानेले बताए। ‘घुमघामको तयारीमा रहेका पाहुनाले अहिले ट्राभल रोकेका छन्। पर्ख र हेरको अवस्थामा पर्यटन क्षेत्र रहेको छ,’ उनले भने।  

उनका अनुसार पर्यटक आगमनको वृद्धिदर झन्डै कोरोना अघिकै आकारमा देखिन थालेको थियो। कोरोना सुरु हुनु अघिका वर्षमा अक्टोबरको तुलनामा १३ प्रतिशत बढेर नोभेम्बरमा पाहुना आएका थिए। अहिलेको वृद्धिदर पनि झन्डै त्यही आकारमा छ,’ उनले भने, ‘यसले पर्यटन क्षेत्र लयमा फर्किन थालेको संकेत गर्छ। तर, संक्रमणले गति लियो भने अबको दिन चुनौतीपूर्ण हुने देखिन्छ।’ जसोतसो उकासिन थालेको पर्यटन क्षेत्र पुनः पहिलेकै आकारमा झर्ने चिन्ता पलाएको लामिछानेले बताए।

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष गोपिबहादुर भट्टराई पनि पर्यटन क्षेत्र थप त्रसितको अवस्थामा रहेको बताउँछन्। छिमेकी मुलुक भारतमा केही संक्रमित फेला परेपछि त्यसको त्रास नेपालमा हुनु स्वभाविक रहेको भट्टराईको भनाई छ। ‘पर्यटन क्षेत्र ब्यूतिन मात्र खोजेको थियो। फेरि त्रास छाएको छ। थप जोखिमपूर्ण अवस्था देखाएको छ,’ भट्टराइले भने, ‘पहिला पर्यटन क्षेत्र खोलौं भनेर भनियो, अब फेरि बन्द गरौं भन्ने अवस्था आउने देखिएको छ।’

जोखिम बढेपछि आन्तरिक पाहुना पनि हिँड्डुल गर्न चाहँदैनन् र पर्यटन फेरि थला पर्ने अवस्था देखिएको उनले बताए।  

प्रकाशित: १६ मंसिर २०७८ १०:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App