बुढासुब्बा गोल्डकप भन्दा पुरानो धरानको चर्चित फुटबल प्रतियोगिता गोधुली रनिङ कपको २२ औं संस्करण आगामी पुषमा हुने भएको छ।
आयोजक गोधुली क्लबको पदाधिकारी, सल्लाकार र संस्थापकहरुको मंगलबार संयुक्त बैठक बसेर पुष २२ गतेदेखि माघ ८ गतेसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो। क्लबका उपाध्यक्ष सतिस केसीका अनुसार प्रतियोगिता धरान १६ स्थित रंगशालामा आयोजना गर्ने निर्णय भएको छ। गोधुली रनिङ कप धरानको वडास्तरीय प्रतियोगिता हो। धरानको वडा कार्यालयहरुले फुटबल टिम तयार गरेर यो प्रतियोगितामा सहभागिता गराउने गरेको छ।
धरानको २० वटै वडा कार्यालयहरुलाई सहभागिताको लागि पत्राचार गरिने उपाध्यक्ष केसीले जानकारी दिए। उनका अनुसार गत संस्करणमा २० वटै वडा कार्यालयहरुको टिमले सहभागिता जनाएको थियो। यो वर्ष पनि २२ वटै वडाबाट सहभागिता हुने अपेक्षा लिएको उनले बताए।
प्रतियोगिताको पुरस्कार राशी वृद्धि गर्ने सम्भावना भएपनि निर्णय गर्न बाँकी रहेको क्लबले जनाएको छ। गत वर्ष २१ औं संस्करणको विजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैया पाएको थिो। प्रतियोगिता नजिकिए पछि क्लबले पुरस्कार राशी वृद्धि गर्नेबारे निर्णय लिने उपाध्यक्ष केसीले बताए।
प्रकाशित: १५ मंसिर २०७८ ०९:४२ बुधबार