७ वैशाख २०८१ शुक्रबार
खेल

राखेप सदस्यसचिवमा घिसिङ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवमा टंकलाल घिसिङ सोमबार नियुक्त भएका छन्। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई सदस्यसचिव बनाउने निर्णय गरेको हो। 

युवा तथा खेलकुद मन्त्रालयले घिसिङसहित अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम सिफारिस गरे पनि मन्त्रिपरिषद् बैठकले घिसिङलाई सदस्यसचिव बनाउने निर्णय गर्‍यो। राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार सदस्यसचिव सिफारिस समितिले एक महिलासहित तीन जनाको नाम मन्त्रालयमामार्फतमन्त्रिपरिषद्मा प्रस्ताव गर्नुपर्ने प्रावधान छ। सोहीअनुसार कुल १८ जनाको निवेदनमध्ये सिफारिस समितिले घिसिङसहित तीन जनाको नाम आइतबार नै तय गरेको थियो।

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले मन्त्रालयका सहसचिव कमलप्रसाद पोखरेलको संयोजकत्वमा कमला ज्ञवाली र हरिबहादुर श्रेष्ठ सम्मिलित सदस्यसचिव छनोट समिति गठन गरेका थिए। सोही समितिले अन्तर्वार्ता र कार्ययोजनाको प्रस्तुतिलाई आधार मानेर तीन जनाको नाम सिफारिस गरेको हो।

नवनियुक्त सदस्यसचिव घिसिङ नेपाल रग्बी संघका अध्यक्ष हुन्। तर, उनले आइतबार नै सो पदबाट राजीनामा दिइसकेका छन्। उनी एसिया रग्बी महासंघमा कार्यकारिणी सदस्यसमेत छन्। युद्धकालीन समयदेखि नै माओवादीमा आबद्ध घिसिङ अहिले पार्टीको बाग्मती प्रदेश कमिटीका सदस्यसमेत हुन्।  

हितबहादुर तामाङ खेलकुदमन्त्री रहँदा घिसिङ उनका प्रमुख स्वकीय सचिव थिए। नेपालमा रग्बीको विकासमा उल्लेखनीय योगदान पुर्‍याएकाले उनी एसिया रग्बीको विभिन्न जिम्मेवारीमा पनि छन्। राजनीति र खेलकुदमा राम्रो पकड रहेकाले पनि उनलाई सुरुआतदेखि नै दाबेदारका रूपमा हेरिएको थियो। 

खेलक्षेत्रबारे जानकार र अनुभवी रहेकाले मन्त्रालयले पनि घिसिङलाई सदस्यसचिव रोजेको बुझ्न सकिन्छ। उनकै नेतृत्वमा नेपाल एसिया रग्बीको पूर्ण सदस्यता प्राप्त गर्दै विश्व रग्बीको पूर्ण सदस्यताका लागि पनि सिफारिस भएको छ। करिब आठ वर्षदेखि उनी नेपाली रग्बीको नेतृत्व गर्दै आइरहेका छन्।

उनकै पालामा नेपालले ओलम्पिक क्वालिफायरलगायत कयौं अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेको छ भने युथ डेभलभमेन्टका कार्यक्रम पनि भइरहेका छन्। सरकारले कात्तिक १ गते तत्कालीन राखेप सदस्यसचिव रमेशकुमार सिलवाललाई पदमुक्त गर्ने निर्णय गरेको थियो।

त्यसयता सो पद रिक्त छ। यसैबीच नवौं राष्ट्रिय खेलकुदको आयोजना र एसियाडको तयारी गर्नुपर्ने भएकाले पनि मन्त्रालयले सदस्यसचिव नियुक्ति प्रक्रियालाई तीव्रता साथ अगाडि बढाएको थियो। 

घिसिङले मंगलबार नै शपथ लिने कार्यक्रम रहेको छ। यता, सरकारको निर्णयविरुद्ध रमेशकुमार सिलवालले भने सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। गत हप्ता मात्र आठ जना बोर्ड सदस्य पनि नियुक्त भइसकेका छन्।

प्रकाशित: १४ मंसिर २०७८ ०३:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App