८ वैशाख २०८१ शनिबार
खेल

मच्छिन्द्र र आर्मीले अंक बाँडे

सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि दाबेदार मानिएको साबिक विजेता मच्छिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

सोमबार दोस्रो चरणको अन्तिम खेलमा आमनेसामने भएका आर्मी र मच्छिन्द्रले केही अवसर गुमाउँदा तीन अंक जोड्दै लिग उपाधि दाबेदारका रूपमा अघि बढ्ने अवसरसमेत गुमाएका छन्। २०७६ को लिगको अन्तिम खेलमा मच्छिन्द्र र आर्मी भिडेका थिए,जहाँ मच्छिन्द्रले आर्मीलाई स्तब्ध पार्दै पहिलो पटक लिग उपाधि जितेको थियो। लिग उपाधि रक्षाको अभियानमा रहेको मच्छिन्द्रले पहिलो खेलमा न्युरोड टिम(एनआरटी) लाई २–१ ले हराउँदै सुखद थालनी गरेको थियो।

तर स्टार खेलाडीले भरिएको मच्छिन्द्रले आर्मीविरुद्ध भने सम्झनलायक एउटा पनि मुभ बनाउन सकेन। मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले आर्मीविरुद्ध ३ अंककै लागि खेले पनि टोलीले स्वाभाविक प्रदर्शन गर्न चुक्दा १ अंकका चित्त बुझाउनुपरेको बताए।

‘आर्मीविरुद्ध खेल्न हामीलाई मात्र होइन, सबै टोलीलाई कठिन हुन्छ,’ प्रवेशले भने, उनीहरू सेट टिम छन्। निरन्तर अभ्यासमा पनि छन्। शारीरिक रूपमा पनि उनीहरू हामीभन्दा धेरै फिट छन्। आज निकै महत्वपूर्ण खेल थियो।

आर्मीविरुद्ध तीन अंक जोड्न सकेको भए उपाधि रक्षायात्रा केही सहज हुने थियो। प्रवेशले टोलीमा स्टार खेलाडीको बाहुल्य रहे पनि प्रोपर सेन्टर फरवार्ड नहुँदा टोलीलाई त्यसको असर परेको समेत बताए।

‘सेन्टर स्ट्राइकरको भूमिकामा रहेका रेजिन सुब्बा चोटका कारण करिब एक महिना मैदानबाहिर रहनेछन्,’प्रवेशले भने, ‘विमल घर्तीमगर पनि पूर्ण रूपमा फिट छैनन्। नुर्लान पनि पूर्ण रूपमा फिट छैनन्। त्यसको असर टोलीको प्रदर्शनमा प्रत्यक्ष रूपमा परेको देखिन्छ।

अभिषेक रिजालले पनि प्रशिक्षण दौरान राम्रो प्रदर्शन गरेका थिए तर दुवै खेलमा चल्न सकिरहेका छैनन्। उनमा मनोबलको कमी छ।’ दुई खेलबाट मच्छिन्द्रको ४ अंक छ। समान खेलमा ६ अंक जोडेको मनाङ मस्र्याङ्दी दोस्रो चरणको समाप्तिमा शीर्ष स्थानमा छ। आर्मीको भने लगातार दुई बराबरीपछि २ अंक छ।

आर्मी पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १–१ को बराबरीमा रोकिएको थियो। आर्मीका प्रशिक्षक नवीन न्यौपानेले टोली प्रशिक्षणदेखि नै फिनिसिङमा केन्द्रित रहे पनि दुवै खेलमा टोली त्यसैमा चुकेको बताए। ‘पहिलो खेलमा बराबरीमा रोकिएपछि आज हामी मच्छिन्द्रविरुद्ध ३ अंककै लागि मैदान उत्रिएका थियौं,’ नवीनले भने, तर दोस्रो खेलमा पनि त्यही समस्या दोहोरियो।

हामीले टोलीमा नवयुग श्रेष्ठको कमी महसुस गरिरहेका छांै। उनी चोटका कारण यस लिगमा मैदानमा देखिने छैनन्। त्यो टोलीका लागि ठूलो घाटा हो ।’ लिगअन्तर्गत सोमबार भएको पहिलो खेलमा बिग्रेड ब्वाइज क्लब ( बिबिसी) र एनआरटीले पनि गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए।

लिगका तेस्रो चरणका खेल शुक्रबारबाट सुरु हुँदै छन्। अखिल नेपाल फुटबल संघ ( एन्फा) ले सोमबार नै तेस्रो र चौथो चरणका खेलतालिका सार्वजनिक गरेको छ। तेस्रो र चौथो चरणका खेल पनि दशरथ रंगशालामा हुनेछन्।

प्रकाशित: १४ मंसिर २०७८ ०३:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App