७ वैशाख २०८१ शुक्रबार
खेल

सन्तोषको शतक

ओपनर सन्तोष कार्कीको शतकप्रेरित प्रदेश २ ले आइतबार बागमती प्रदेशलाई ६ विकेटले हराउँदै यु–१९ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश सम्भावना जीवित राखेको छ।

सात प्रदेशको सहभागिता रहेको प्रतियोगिताको शीर्ष दुई टोली मंसिर १९ मा हुने फाइनलमा प्रवेश गर्नेछन्। तेस्रो स्थानको प्रदेश २ ले ३ खेलमा ४ अंक जोडेको छ। समान ६ अंक जोडेको प्रदेश १ शीर्ष स्थानमा छ भने चार खेलमा ६ अंक बटुलेको लुम्बिनी प्रदेश दोस्रो स्थानमा छ।

आइतबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सम्पन्न खेलमा बाग्मतीले प्रस्तुत गरेको २ सय ५४ रनको लक्ष्य प्रदेश २ ले ४१ ओभरमा मात्र ४ विकेट गुमाउँदै पूरा गरेको थियो।

प्रदेश २ का सन्तोषले १ सय १५ बल खेल्दै १४ चौका र ३ छक्काको मद्दतमा १ सय ११ रन बनाउँदा कप्तान विकेक यादवले ७३ बलको सामना गर्दै ६ चौका र ७ छक्काको मद्दतमा अविजित ८६ रन बनाए।

९३–३ को स्थितिमा ब्याटिङका लागि आएका विवेकसँग ओपनर सन्तोषले चौथो विकेटका लागि १ सय ४४ रनको महत्वपूर्ण साझेदारीका साथ टोलीलाई सहज जिततर्फ डोर्‍याएका थिए। त्यस्तै प्रदेश २ का रोहन विकले २६ रन जोडे। उनले ३९ बलमा ६ चौका प्रहार गरे। बाग्मतीका तिलक भण्डारीले २ तथा प्रतीश जिसी र प्रशान्त महतले समान १ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बाग्मतीले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै १२ सय ५३ रनको योगफल खडा गरेको थियो। बाग्मतीका लागि स्वप्निल अधिकारीले ८५ र ओपनर विपिन कार्कीले ५९ रन बनाए। स्वप्निलले ८३ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दा विपिनले ८३ बलमा ६ चौका र १ छक्का प्रहार गरे।

प्रदेश २ का पुराज ढुङ्गेलले ३ विकेट लिए। आइतबार नै मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली प्रदेशमाथि सुदूरपश्चिमले १० विकेटको रबाफिलो जित हात पारेको थियो। कर्णालीले प्रस्तुत गरेको ६७ रनको लक्ष्य सुदूरपश्चिमले मात्र १२.१ ओभरमा बिनाविकेट क्षति पूरा गरेको थियो। 

सुदूरपश्चिमका लागि ओपनर खडक बोहोराले ४२ बलमा ५ चौका र २ छक्काको मद्दतमा अविजित ६१ रन जोड्दा अर्का ओपनर नरेश भट्टले १६ रन बनाए। यसअघि टस हारेर ब्याटिङका लागि आएको कर्णाली प्रदेश १६.५ ओभरमा मात्र ६६ रनमा सीमित भएको थियो।

प्रकाशित: १३ मंसिर २०७८ ०२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App